बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने 

बझाङ — प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेदेखि मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बझाङ उपनिर्वाचन : साइपालको मतपेटिका ल्याइयो, १२ बजेदेखि गणना हुने 

आइतबार बिहान सात बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट दुई खेपमा मतपेटिका ओसारिएको थियो ।

‘सबै मतदान केन्द्रको मतपेटिका आइपुगिसकेको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले भने, ‘सर्वदलीय बैठकलगत्तै गणना सुरु हुने गरी तयारी गरेका छौं ।’ २४ देखि ३० घण्टाभित्र नतिजा प्रकाशन गर्ने गरी मतगणना गर्न दुई समूह तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतको भवनमा मतगणना हुने छ । मतगणनास्थलको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्ला अदालत वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना नेपाल प्रहरीले गणनास्थलको सुरक्षा गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए । गणनास्थलको सुरक्षार्थ सशस्त्र प्रहरी पनि परिचालन गरिने उनले बताए ।

शनिबार भएको मतदानमा यहाँ ३० हजार ३२८ मत खसेको छ । कुल मतदाता ६१ हजार ७४८ रहेको यो निर्वाचन क्षेत्रमा ४९.१२ प्रतिशत मत खसेको थियो । यो निर्वाचनमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित : वैशाख १६, २०८१ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?