२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डढेलो निभाउन स्याउलाको भर

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका–५ स्थित काफलगेडी सामुदायिक वनमा गत आइतबार डढेलो लाग्दा एक सय हेक्टर वनमा क्षति पुर्‍यायो भने छेउको बस्तीमा पाँच घरगोठ जलेर नष्ट भए । डढेलोले नजिकको बस्ती जोखिममा पर्दा न गाउँमा पर्याप्त पानीको श्रोत थियो न त दमकल नै ।

डढेलो निभाउन स्याउलाको भर

आगो निभाउन उपकरण र पानी दुवै नभएपछि सुरक्षाकर्मी र स्थानीयले हरियो स्याउलाको भरमा डढेलो नियन्त्रणमा लिए । यस्तै वैशाख पहिलो दोस्रो साता दार्मा गाउँपालिकाको पर्यटकीयस्थल मालिका लेकको वनमा डढेलो लाग्यो । आगोले त्यहाँ मन्दिरलगायत अन्य संरचना र नेपाल टेलिकमको टावर जोखिममा पर्‍यो । स्थानीय, जनप्रतिनिधि तथा सुरक्षाकर्मीले स्याउलाकै भरमा झन्डै चार घन्टा लगाएर डढेलो नियन्त्रणमा लिएका थिए ।

जिल्लामा दैनिकजसो ७/८ वटा सामुदायिक वनमा डढेलो लागिरहेको छ । डढेलोका कारण दैनिक दुई/तीन वटा घरगोठ जलिरहेका छन् भने केही चौपाया समेत मरेका छन् । दैनिकजसो वनमा डढेलो लाग्दा स्थानीय, सामुदायिक वनका उपभोक्ता, सुरक्षाकर्मीहरु निभाउन हरियो स्याउलाकै भर पर्दै आएका छन् ।

सम्बन्धित निकायले अहिलेसम्म बारुणयन्त्र (दमकल) किन्न तथा अग्नी नियन्त्रण गर्ने औजार, उपकरण उपलब्ध गराउन नसक्दा स्थानीय र सुरक्षाकर्मीे डढेलो निभाउन स्याउलाकै भर पर्दै आएका हुन् । स्याउलाको भरमा आगो निभाउने प्रयास गर्दा कतिपयको ज्यान समेत जोखिममा परेको छ । जसका कारण जिल्लाभरी यो बर्षको चैतदेखि अहिलेसम्म झन्डै करिब २४ जना घाइते भएका छन् ।

वैशाख २० गते शारदा नगरपालिका–५ रानीकोटस्थित बस्ती नजिकैको सामुदायिक वनमा लागेको डढेलोले झन्डै १५ हेक्टर वन, एक घर क्षति भएको र सुरक्षाकर्मीले ल्याएको आगो निभाउने सामग्री पर्याप्त नभएका कारण बस्तीका सबैले स्याउलाकै भरमा आगो निभाएको स्थानीय थलबहादुर बिष्टले बताए । कपुरकोट गाउँपालिका–१ गर्पास्थित स्यालेडाँडा सामुदायिक वनमा लागेको डढेलो स्याउलाको भरमा निभाउँदा १५ जना घाइते भएका स्थानीय दलबहादुर रानाले बताए ।

हावाहुरी चलिरहेकाले आगोको लप्कोका कारण कसैको हात, कसैको खुट्टा कसैको अनुहारमा हल्का पोलिएको उनले बताए । सुरक्षाकर्मीसँग आगो निभाउने सामग्री पर्याप्त नभएको र भएका साधनले डढेलो निभाउन सम्भव नभएकाले स्याउलाको भर पर्दै आएको जिल्ला प्रहरी सल्यानका प्रमुख डीएसपी नविन कार्कीले बताए ।

स्याउलाको भरमा डढेलो निभाउँदा ६/७ जना सुरक्षाकर्मी समेत घाइते भएको र अहिले सामान्य उपचारपछि ठिक भएका उनले बताए । ‘डढेलो नियन्त्रणमा दमकल भए सजिलै निभाउन सकिन्छ । दमकल किन्नको लागि जिल्ला समन्वय समिति र स्थानीय तहलाई पहल गरेका छौं, तर कसैले किन्नेमा चासो देखाएका छैनन्,’ उनले भने ।

जिल्लाभर विगतदेखि डढेलोको उच्च जोखिममा रहेको र यसपाली पनि डढेलोका कारण ६० भन्दा बढी घरगोठ जलेर नष्ट मात्र नभई लाखौको क्षति भैसकेकाले दमकल किन्न अति आवश्यक देखिएको उनको भनाई छ । जिल्लाका १० स्थानीय तह मध्ये कसैले पनि दमकल खरिद गरेका छैनन् । जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावलले दमकल खरिदबारे स्थानीय तह प्रमुखहरुसँग पटक–पटक आग्रह गरे पनि कसैले चासो नदिएको बताए ।


सामुदायिक वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले सल्यान डढेलोको उच्च जोखिममा भएको थाहा हुँदाहुँदै स्थानीयको लापरबाहीका कारण डढेलो लाग्ने गरेको र डढेलो लगाउनेलाई सम्बन्धित निकायले कारबाही गर्न नसक्दा समस्या बढ्दै गएको बताए । वनजन्य बस्तु बिक्रि गरेर त्यसबाट जम्मा भएको रकम वन संरक्षणमा लगाउँदै आए पनि डढेलो नियन्त्रणका लागि भने सामुदायिक वन उपभोक्ता समितिले खासै चासो नदेखाएको उनले बताए ।

चैतयता जिल्लाका १ सय ७० सामुदायिक वनमा डढेलो लाग्दा १२ हजार हेक्टर वनमा क्षति पुगेको र जसका कारण २७ हजार साना बिरुवा मात्र नभई जडिबुटी जलेर नष्ट भएका डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले बताए । डढेलोका कारण वन्यजन्तुलगायत वनमा ढलापडा अवस्थामा रहेका रुख, सल्लाको खोटो समेत जलेर नष्ट भएको उनले जनकारी गराए ।

‘जिल्लाका अधिकांश क्षेत्रमा सडक पुगिसकेकाले वनमा लागेको डढेलो नियन्त्रणमा लिने उत्तम साधन दमकल भन्दा अरु हुँदैन । ‘कार्यालयसँगै बजेट नभएकाले न दमकल किन्न सकिएको छ नत अन्य औजार नै,’ उनले भने ‘वनको संरक्षण गर्ने जिम्मेवारी पाएका सामुदायिक वनले वनजन्य बस्तु बिक्रिबाट भएको आम्दानीको २५ प्रतिशत रकम वन संरक्षण तथा डढेलो नियन्त्रणका लागि औजार किन्न छुटयाउनु पर्ने हो ।

सामुदायिक वनले अहिलेसम्म वन संरक्षण तथा डढेलो नियन्त्रणका लागि बजेट छुटयाउन नसक्दा समस्या भएको छ ।’ जिल्लामा ४ सय बढी सामुदाायिक वन छन् । उनीहरुले छुटयाएको २५ प्रतिशत बजेटले आगो नियन्त्रणका सामग्री मात्र नभई सजिलै दमकल किन्न सक्ने उनको दाबी छ ।

प्रकाशित : वैशाख २६, २०८१ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?