२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

उपक्षेत्रीयकै संरचनाका भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

संरचना अभावमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम अन्योलमा

दाङ — बजेट अभावले आवश्यक संरचना बनाउन नसक्दा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका योजना अन्योलमा परेका छन् । स्थापनाका सुरुआती वर्ष विवादैविवादमा फसेको प्रतिष्ठानले अहिले उपचारमा गुणात्मक सुधार गर्नुका साथै शैक्षिक कार्यक्रमसमेत सुरु गरेको छ । तर आवश्यक संरचना निर्माणका लागि बजेट नहुँदा योजना अन्योलमा परेका छन् ।

उपक्षेत्रीयकै संरचनाका भरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

प्रतिष्ठान स्थापना भएको ६ वर्ष बितिसक्दा पनि तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालकै संरचनामा भर पर्नुपरेको छ । प्रतिष्ठानमा अहिले बिएस्सी नर्सिङ, बिएस्एम र एमडिएमएसका कक्षाहरु सञ्चालन भइरहेका छन् । दुई वर्षदेखि स्नातक तहका कक्षा सञ्चालन भइरहेका छन् भने यसै वर्षदेखि अर्थोपेडिक १, गाइनो १ र एमडिजिपी २ गरी ४ जनाले एमडीएमएस तहको अध्ययन गरिरहेका छन् ।

अर्को वर्ष एमबिबिएस र एमएस्सी नर्सिङका कक्षा सुरु गर्ने तयारी भइरहेको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए । जसका लागि शिक्षक छनौटको प्रक्रिया चलिरहेको र कक्षाकोठालगायतका संरचना तयार भइसकेको उनले जानकारी दिए ।

प्रतिष्ठानमा हाल ४० विशेषज्ञ, १ सय ७५ नर्स र ५० जना प्यारामेडिक्स कार्यरत छन् । अर्को वर्षदेखि २० जना बढी एमबिबिएस अध्यापन गर्ने चिकित्सक थपिन्छन् । चिकित्सकको संख्या थपिएसँगै बिरामीको संख्या पनि थपिँदै गएको छ । राप्ती क्षेत्रका बिरामी यसअघि सबैखालका विशेषज्ञ सेवा लिन बुटवल, नेपालगन्ज र भारत जान्थे । अहिले प्रतिष्ठानमा दैनिक सरदर ६ सय बिरामीले सेवा लिइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए । अहिले प्रतिष्ठानमा ३ सय बेडको क्षमता छ । बिरामीको चाप बढेसँगै बेड संख्या तत्काल थप्न आवश्यक रहेको उनले बताए ।

प्रतिष्ठानले आर्थिक वर्ष २०७९/०८० मा ४ सय बेड अस्पतालका लागि ४ अर्ब ५७ करोड लागतको गुरुयोजना तयार पारी स्वास्थ्य मन्त्रालय र योजना आयोगमा पेस गरेको थियो । योजना आयोगले स्रोतको सुनिश्चितता र बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयमा पठाएको थियो तर अहिलेसम्म पनि बजेट सुनिश्चित हुन सकेको छैन । जसका कारण प्रतिष्ठानका योजना अन्योलमा परेका छन् । सरकारको ‘एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने नीतिअनुसार यो लुम्बिनीको एकमात्र प्रतिष्ठान हो । कान्छो प्रतिष्ठान भएका कारण यसका संरचना निर्माणमा लगानी हुन सकेको छैन ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालकै संरचनामा प्रतिष्ठानका शैक्षिक कार्यक्रम र स्वास्थ्य सेवा चलिरहेका छन् । अहिले प्रतिष्ठानमा अत्याधुनिक प्रयोगशाला, सिटिस्क्यान, एमआरआई, भिडियो एक्स-रे, युरोलोजी सेवा, वृद्धवृद्धाको सेवा, आईसीयू, एनआइसीयूलगायतको व्यवस्था छ । डेढ वर्षदेखि ३४ शय्याको सुविधासम्पन्न इमरजेन्सी विभाग सञ्चालन गरी अत्याधुनिक १७ वटा मनिटर र अक्सिजन पनि राखिएको छ ।

प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षणसमेत भइरहेको छ । प्रतिष्ठानमा पछिल्लो एक वर्ष १ हजार ५ सय ९९ जना बिरामीको क्यान्सर परीक्षण गरिएको छ । मासुको सानो भाग निकालेर क्यान्सर भए/नभएको पत्ता लगाउन हिष्टो प्याथोलोजी गर्ने गरिन्छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ अनुसार स्थापना भएको हो । २०१६ सालमा महेन्द्र हेल्थ सेन्टरका रुपमा स्थापित भएको स्वास्थ्य संस्था अहिले प्रतिष्ठानमा परिणत भएको हो । २०२१ मा १५ बेडको महेन्द्र अस्पताल, २०५० मा २५ बेडको अस्पताल र २०६४ मा ५० बेडको अस्पतालमा स्तरोन्नति भएको थियो ।

२०६५ चैत १२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएको थियो । २०७१ मा १ सय बेडको अस्पताल हुँदै २०७४ मा प्रतिष्ठानमा रुपान्तरण भएको हो तर पनि संरचना भने थप हुन सकेका छैनन् ।

प्रकाशित : वैशाख २६, २०८१ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?