१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

माडीखोलामा मृत भेटिएका युवाको पहिचान खुल्यो

काशीराम डाँगी

रोल्पा — रोल्पा नगरपालिका–२, ६ र ७ वडाको सीमानामा पर्ने माडीखोला पुलको छेउमा शनिबार विहान मृत अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । प्रहरीका अनुसार उक्त शव रोल्पा नगरपालिका–४ का १८ वर्षीय भुवन कँवरको हो ।

स्थानीयका अनुसार माडी खोला पक्की पुलमुनि बग्ने पानीको बीच भागको ढुंगामा उत्तानो परेको अवस्थामा शनिवार विहान ७ बजेतिर उनको शव देखिएको थियो । घटनास्थल पुगेर अनुसन्धान गरेपछि उक्त शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।

घटनास्थलमा शव फेला परेको जानकारी वडा नं ७ का वडा अध्यक्ष लालबहादुर घर्तीमगरले प्रहरीलाई सूचना पहिलोपटक दिएका थिए । शनिबार दिनभर घटनास्थलमै पुगेर अनुसन्धान गरेको प्रहरीले घटना शंकास्पद ठानेर ५ जना युवालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक गुप्ताका अनुसार उनीहरुलाई रोल्पा अदालतमा उपस्थित गराई घटनाबारे थप अनुसन्धान भइरहेको छ । आफन्तसँगको समन्वय र सहमतिमा शव आइतबार आफन्तलाई हस्तान्तरण गरिएको छ भने रोल्पा अस्पतालमा आइतबार नै शवको पोष्टमार्टम गरिएको हो । पोष्टमार्टमको रिपोर्ट ३ दिनपछि आउने र घटनाबारे थप अनुसन्धान गरेर निष्कर्षमा पुग्न सक्ने प्रहरीको धारणा छ ।

प्रहरी अनुसन्धान अनुसार मृतक युवाले स्थानीय बजारमा मोटरसाइकलमा काम गर्दै आएका थिए । उनीसहित केही युवाहरुको समूह शुक्रबार राति सदरमुकामदेखि करिब ८ किलोमिटर पश्चिममा पर्ने उक्त पुलमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार स्थानीयबाट प्राप्त सूचना र उनीहरुले प्रयोग गरेको मोबाइलको समेत अनुसन्धान गर्दा ती युवाको समूह शुक्रबार राति १०/११ बजेसम्म लिबाङमै भएको पाइएको पत्ता लागेको छ । युवाहरु किन पुलसम्म पुगे र कसरी घटना भयो भन्नेबारेमा प्रहरीले गम्भीर अनुसन्धान थालेको हो । तर युवाको मृत्युको कारण हालसम्म पत्ता लागेको छैन ।

प्रकाशित : वैशाख २३, २०८१ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?