बर्दियामा दुई जना फरार अभियुक्त पक्राउ
बर्दिया — लागूऔषध र चेक अनादर मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला अदालतबाट ०८० साल मंसिर २७ र ०८० बैशाख १४ गतेको फैसलाले फरार भएका लागूऔषध र चेक अनादर मुद्दामा सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फरार २ जना अभियोगीलाई एकै दिनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका –२ जमुनीकी मन्जु रानालाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुलसीराम अर्यालले बताए ।
उनीमाथि लागूऔषध ब्राउन सुगर मुद्दामा ०८० साल मंसिर २७ गते जिल्ला अदालतले ७ महिना २० दिन कैद र पीडित राहत कोषमा ४ सय जम्मा हुने गरी फैसला गरेको उनले जनाए ।
यसै गरी चेक अनादर मुद्दामा जिल्ला अदालतले ०८० बैशाख १४ मा १ हजार रुपैयाँ जरिवाना हुने गरी फैसला भएकी गुलरिया नगरपालिका–५ कि ४५ वर्षिया मिना बनियाँलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राना र बनियालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाएको डिएसपी अर्यालले जनाए ।
प्रकाशित : वैशाख १७, २०८१ १७:३३