कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

माधव अर्याल

पाल्पा — रिब्दीकोट गाउँपालिकाको खस्यौली, ठिमुरे, कुसुमखोला लगायतका स्थानका जंगलमा लागेको भीषण डढेलो बस्ती नजिक आएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । यस क्षेत्रमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । 

डढेलो नियन्त्रण गर्न नसक्दा जोखिममा बस्ती

रिब्दीकोट गाउँपालिका–३, खस्यौलीको हिरापोखरा सल्लाको जंगलमा लागेको डढेलो बस्ती नजिक आएपछि यहाँका १० घर जोखिममा परेको वडाध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए । ‘तत्काल तानसेनबाट दमकल मगाएर जोखिममा परेका घरहरु जोगाउन सकियो,’ उनले भने, ‘हावाहुरीले गर्दा स्थानीयले नियन्त्रणमा लिन सक्ने अवस्थै भएन ।’ यहाँ सल्ला, बाँस, खरबारी भएकाले डढेलो नियन्त्रण गर्न नसकिएको हो ।

डढेलो अनियन्त्रित लागेर बस्ती नजिक आएपछि रिब्दीकोट गाउँपालिकाका कर्मचारीसमेत जोगाउन पुगेका थिए । हातमा स्याउला, पानीका ग्यालेन, गाग्री लिएर घरहरु जोगाउन परेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । स्थानीयको प्रयास असफल भएपछि तानसेनदेखि दमकल मगाउन परेको उनले बताए ।

‘जसरी पनि बस्तीलाई जोगाउने प्रयास गरिएको छ,’ उनले भने, ‘हावाहुरीले अनियन्त्रित भएपछि सबैलाई त्रासमय बनायो ।’ सुरक्षाकर्मीलाई थप मद्दतका लागि जानकारी दिइएको तर सहयोग प्राप्त नभएको स्थानीयले बताए । डढेलो बस्ती नजिक आएपछि छिमेकीहरुसमेत थप मद्दतका लागि पुगेको रिब्दीकोटकी कार्यपालिका सदस्य रञ्जना आचार्यले बताइन् ।

रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ६ घोर्लिखर्क लगायतका स्थानमा तीन दिनदेखि भीषण डढेलो लागेको छ । यहाँका ६ घर र गोठ डढेलोबाट जोखिममा रहेको स्थानीयले बताए । डढेलोले गर्दा घोर्लिखर्कको सडकमासमेत हिड्न मुश्किल परेको गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले बताए । घोर्लिखर्कमा दमकलसमेत लैजान समस्या छ । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा मिलेर जंगलको डढेलोबाट बस्ती जोगाउन सक्रिय भएका छन् ।

जिल्लाको रम्भा गाउँपालिकाको अगाहाखोला क्षेत्रमा तीन दिनयता लागेको डढेलो नियन्त्रणमा आएको छैन । डिभिजन वन कार्यालयका अनुसार अहिलेसम्म ९५ स्थानमा लागेको डढेलोले २ हजार ३ सय ६८ हेक्टर क्षेत्रफल जंगल सखाप भएको छ । जिल्लाको तिनाउ, रैनादेवी छहरा, माथागढी, निस्दी, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकामा डढेलो लागिरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिए ।

पछिल्लो साता सहलकोट, सिलुवा, झडेवा, सिद्देश्वर, सोमादी, दोभान लगायतका स्थानमा १४ घर तथा गोठ जलेर नष्ट भएको छ । २० वटाभन्दा बढी पशु चौपायाको मृत्यु भएको छ । खेतबारीका झाडी जलाउँदा, वन्यजन्तुको आक्रमण रोक्न, चुरोट, बिाडी खाएका ठूटा जंगलमा फ्यााक्दा, आगोको जथाभाबी प्रयोग गर्दा डढेलो बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जंगलमा लागेको डढेलोले वन क्षेत्रमा बहुमुल्य जडीबुटी र जंगली जनावर मरेका छन् । आगो लगाउने ब्यक्तिको पहिचान गरेर कारबाही नगरेसम्म वन क्षेत्रमा आगो लगाउनेक्रम नरोकिने तानसेन ५ कैलाशनगरकी कला दाहालले बताइन् । ‘नागरिकलाई डढेलोको विषयमा सचेत बनाउन जरुरी छ,’ उनले भनिन् । जंगलमा लुकिछिपी गलत प्रवृत्तिका मानिसले आगो लगाउँदा डढेलोको जोखिम बढेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए ।

उनका अनुसार सुख्खा मौसमले गर्दा पनि थप समस्या भएको हो । अर्कोतर्फ गलत प्रवृत्ति भएका मानिसले जंगल क्षेत्रमा आगो लगाउँदा सयौ बोटविरुवा मर्ने, वन्यजन्तु र मानवीय क्षति हुने र वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने गरकोे उनले बताए ।

प्रकाशित : वैशाख १७, २०८१ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?