पाल्पाका दर्जन बढी स्थानमा भीषण डढेलो

माधव अर्याल

पाल्पा — जिल्लाका दर्जन बढी स्थानमा आइतबार भीषण डढेलो लागेको छ । तानसेन श्रीनगरडाँडाको उत्तरतर्फको जंगलमा तीन दिनदेखि डढेलो नियन्त्रण आउन नसकेको स्थानीयले बताए । गोर्खेकोटतर्फबाट लागेको डढेलो कैलाशनगर क्षेत्रसम्म आएको छ ।  

पाल्पाका दर्जन बढी स्थानमा भीषण डढेलो

तानसेन श्रीनगरको उत्तरतर्फको तल्लो श्रीनगर वन, उकालेपिपल वन लगायत श्रीनगर पर्यापर्यटन सामुदायिक वनमा भीषण डढेलो नियन्त्रणमा लिए पनि हावाहुरीले पुनः फैलिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

तानसेन नजिकै धरमपानी, बन्दीपोखरा लगायतका स्थानमा पनि तीन दिनयता डढेलो नियन्त्रणमा आउन सकेको छैन । रम्भा गाउँपालिकाको अगाहाखोला, रिब्दीकोटको जंगलमा पनि तीन दिनयता लागेको डढेलो नियन्त्रणमा आएको छैन । तिनाउका झुम्सा, दोभान, कोलडाँडा लगायतका स्थानमा पनि डढेलो नियन्त्रणमा नआएको डिभिजन वन कार्यालयले जनाएको छ ।

अहिलेसम्म ९५ स्थानमा लागेको डढेलोले २ हजार ३ सय ६८ हेक्टर क्षेत्रफल जंगल सखाप भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिए । जिल्लाकै तिनाउ, रैनादेवी छहरा, माथागढी, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकामा डढेलो लागिरहेको छ । जंगलमा लागेको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि पुनः लाग्ने गरेको को डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

पाल्पामा पछिल्लो साता १४ घर तथा गोठ जलेर नष्ट भएको छ २० वटाभन्दा बढी पशु चौपायाको मृत्यु भएको छ । निस्दीमा ६० मिटर खानेपानी पाइप जलेको छ । माथागढीको झडेवा र रैनादेवी छहराको सिद्देश्वरमा गरी दुई जना डढेलो निभाउने क्रममा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घर, गोठ, चौपाया जल्दा जिल्लामा लाखौको क्षति भएको छ ।

खेतबारीका झाडी जलाउँदा, वन्यजन्तुको आक्रमण रोक्न, चुरोट, बिँडी खाएका ठूटा जंगलमा फ्याँक्दा, आगोको जथाभाबी प्रयोग गर्दा डढेलो नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख १६, २०८१ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?