२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

सोलार ग्रिड बिग्रिएपछि १० दिनदेखि सुस्तावासी बिजुलीबाट बञ्चित

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ को सुस्ता गाउँका बासिन्दा १० दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । राष्ट्रिय प्रसारणको लाइन नपुगेको सुस्तामा २०७७ सालमा सोलार मिनी ग्रिड प्रविधिमार्फत बिजुली बत्ती विस्तार गरिएको थियो ।

सोलार ग्रिड बिग्रिएपछि १० दिनदेखि सुस्तावासी बिजुलीबाट बञ्चित

तर, तीन वर्षमा नै सोलार ग्रिड बिग्रिएपछि सुस्ताका बासिन्दा बिजुली बत्तीबाट बञ्चित हुनुपरेको हो । गर्मीको समयमा सोलार ग्रिड बिग्रँदा टुकी र लालटिनको भरमा बस्नु परेको स्थानीयको गुनासो छ ।

नारायणी नदीको कारण विद्युत् प्रसारणको लाइनमा जोडिन नसकेको सुस्तामा सोलार ग्रिडमार्फत् विद्युत् विस्तार गरिएको थियो । सोलारमा प्राविधिक समस्या आएको र मर्मतका लागि टोली आउँदै गरेकाले केही दिनमै समस्या समाधान हुने सौर्य मिनी ग्रिड निर्माण समितिका अध्यक्ष रवीन्द्र जैसवालले बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विभिन्न सहयोगी निकायबाट सुस्ताका २ सय ६५ घरधुरीका लागि ४ करोड ८० लाख रुपैयाँको लागतमा तीन वर्ष अगाडि परियोजना सम्पन्न भएको थियो । स्थानीयले तत्काल ग्रिडको मर्मत गरेर बिजुलीको प्रवाह गर्न माग गरेका छन् ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले परियोजना स्थानीय तहलाई हस्तान्तरण नगरेको र मर्मतका लागि आवश्यक रकम विनियोजन नभएकाले मर्मतका लागि समस्या भएको बताए ।

प्रकाशित : वैशाख ८, २०८१ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?