गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
पोखरा — गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सभामुख कृष्णप्रसाद धितालले ३० मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
आइतबार अपराह्न बसेको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गर्दै अधिकारीले सरकारले सिद्वान्त र प्राथमिकता, नीति कार्यक्रम र बजेट ल्याउने समय भएकाले सबैलाई विश्वासको मतका लागि अनुरोध गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बजेट बनाउने बेला जहिल्यै सरकार परिवर्तन हुनु गलत रहेको बताए । 'सरकार गठनमै रूमलिँदा बजेट, कार्यक्रम कसरी राम्रा हुन्छन्,' उनले भने ।
सरकार गठनविरूद्ध अदालतमा परेको रिट खारेज हुनु गलत रहेको बताउँदै उनले कुनै न कुनै बेला सो निर्णय अदालत सच्याउन बाध्य हुने बताएका छन् । 'सर्वोच्चले सच्याउँछ । सच्याउनै पर्छ । यदि सच्चिएन भने न्याय मर्छ । न्याय बचाउन पनि अदाफत बाध्य हुन्छ,' उनले भने ।
कांग्रेसलाई नजरअन्दाज गरेर अगाडि बढे साढे ३ वर्ष संसद् चल्न नदिन उनले चेतावनी दिएका थिए । सभामुखलाई दलीय नभई तटस्थ बस्न उनको अनुरोध थियो ।
माओवादी संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले स्थायित्वको लागि सबैले विश्वासको मत दिनुपर्ने बताए ।