कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चार सय भोल्टको लाइनमा ३३ हजार भोल्ट प्रवाह हुँदा विद्युतीय दुर्घटना, ६० घरमा क्षति

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका-६ घारको ओडारे, भुवानीथान, लामोगरा, भुन्याय, इदारा र विरौटो टोलमा वितरित विद्युत लाइनमा आइतवार उच्च गतिको विधुत प्रवाह हुँदा एक घरपसलमा आगलागी हुनुको साथै ६० घरमा क्षति पुगेको छ । 

चार सय भोल्टको लाइनमा ३३ हजार भोल्ट प्रवाह हुँदा विद्युतीय दुर्घटना, ६० घरमा क्षति

विद्युत प्राधिकरणले मापदण्ड विपरीत ठूलोपाखा–ओढारे–आलसम्म ३३ केभिए (३३ हजार भोल्ट प्रवाह) भएको हाईटेन्सन लाइनको ३ वटा पोलमा ११ केभी (४ सय भोल्ट) करेन्ट प्रवाह हुने वितरण लाइनको तार टाँगेको थियो । उच्च गर्मीले हाईटेन्सनको लाइनमा पग्लिएर झार्लिएको ३३ हजार भोल्टको विद्युत तार सोही पोलमा टाँगेको ४ सय भोल्टको वितरण लाइनको माथिल्लो तारमा जोडिएपछि उच्च गतिको विद्युत उपभोक्ताको घर–घरमा प्रवाह भएको हो ।

‘एक्कासी विद्युतको लाइनमा 'हुनुनुनु' गर्दै आवाज आयो । उत्तिखेरै घरको मिटर बक्समा पट्याक्क पड्क्यो र आगोको झिल्का निक्लिएको थियो । मेरो घरमा फ्युज जल्यो अरु क्षति भएन अन्य छिमेकीको घरमा धेरै क्षति भएको छ,' अन्नपूर्ण गाउँपालिका-६ लामोगराका लिलबहादुर खड्काले भने, ‘यो ट्रान्सफर्मरमा पनि कुनै खराबी हुन सक्छ । यसअघि पनि पटक-पटक हाईभोल्टेज विद्युत आउने र घरका फ्जु जल्ने, बल्व जल्ने भैरहन्थ्यो । हामीले यस अघि नै विद्युत लाइनमा समस्या आईरहेको भनी विद्युतका कर्मचारीलाई पटक पटक भनेका पनि थियौं ।’

उच्च गतिको विद्युत प्रवाह भएपछि ६० जना उपभोक्ताको घरका मिटरबक्स पड्कने, विद्युत लाइनमा जोडिएका ५ वटा कुटानी पिसानी मिल, घरमा जोडिएका टेलिभिजन, कम्प्युटर, फ्रिज समेतका उपकरण जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार उच्च विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिका- ६ घार भुन्याएका जितबहादुर (राम) बरुवालको आरसिसी घरमा एमसिपी फ्युज तथा पसलमा रहेको फ्रिज एकसाथ पड्केर आगो लाग्दा घरको दुई वटा कोठा, ५ लाख बरावरको खाद्यान्न समेत किनारा पसलका सामाग्री, फ्रिज र पसलमा रहेको नगदसहित ७ लाबढीको क्षति भएको छ ।

त्यस्तै विद्युत सर्ट हुँदा भन्थानस्थित डिलबहादुर बरुवाल, ओडारेस्थित शिवप्रसाद वरुवाल, इदारस्थित नानीमैयाँ वरुवाल, खिम्जा सु.बहुतबहादुर बरुवाल, पैहृीखेत बमबहादुर बरुवाल समेत ६ जनाको घरमा रहेका कुटानी पिसानी मिल जलेका छन् । त्यसैगरी हाईभोल्टेजसहित विद्युत आएर घरको मिटरबक्स र एमसिवीमा आगो लागेको देखेपछि मुख्य स्वीच अफ गर्न खोज्दा कम्तिमा ५ जनालाई करेन्ट लागेको थियो । उनीहरुको स्थानीय श्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि घर फर्केका थिए ।

‘उच्च गतिको विद्युत प्रवाह भएपछि विद्युतीय दुर्घटना भएको स्थानमा कर्मचारी पठाएका छौं । प्रहरी मार्फत क्षतिको विवरण पनि संकलन भइरहेको छ,’ नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले भने, ‘प्राविधिक अध्ययनपछि के के सुधार गर्नु पर्ने रहेछ, तुरुन्त फेर्छौ । अहिले कम्तिमा २ वटा विद्युतको पोल फेर्न विद्युत बन्द गरी ट्रान्सफर्मर समेत परीक्षण गर्दैछौं ।’

प्रकाशित : वैशाख १७, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?