२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

सर्लाही — वैदेशिक रोजगारीमै रहेका बेला सर्लाही मानपुरका २८ वर्षीय अरबिन्द साहको मृत्यु भएपछि परिवार दुई सातादेखि शव कुरेर बसेको छ । गत १२ गते सउदी अरबस्थित एक कम्पनीमा काम गर्ने क्रममा उनको दुर्घटना परी मृत्यु भएको खबर आएपछि परिवार गहिरो शोकमा डुबेका छन् ।

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

घरको एक्लो छोराको मृत्युको खबरले बुवाको आँशु थामिएको छैन भने श्रीमती भावविह्वल छिन् । दुई अवोध छोरीले भने केही भेउ पाउन सकेकी छैनन् ।

बसबरिया गाउँपालिका–१ मानपुरका साह तीन वर्ष अघि साउदी पुगेका थिए । सन् २०२१ मा सउदीस्थित अएद दहिम अल हमाउत एण्ड पार्टनरर्स ट्रेनिङ कम्पनीमा कामदारका रुपमा गएका साह २०२३ मा फर्किने सम्झौता थियो । तर कम्पनीले फर्किने समयमा भिजा नदिएका कारण उनी घर फिर्न सकेका थिएनन् । सम्झौता अवधि गुजारिसकेका साहलाई कम्पनीले विदा र बिरामी परेका दिन पनि काम गर्न लगाउने गरेको उनका परिवारजनले बताएका छन् ।

तनाबका बीच काम गर्नुपर्दा र कम्पनीको लापारवाहीले छोराको ज्यान गएको उनका बुवा भिखारी साहले बताए । घरको एक्लो छोराको मृत्यु भएपछि बुहारी र दुई नातिना कसरी हुर्काउने भन्ने भिखारीको चिन्ता छ । ‘म उमेरले ६० कटिसके, घरको जिम्मेवारी छोराको काँधमा थियो, त्यही जिम्मेवारी बुझेर छोरा विदेश गयो, कम्पनीको लापारवाहीका कारण छोराको दुर्घटनामा मृत्यु भयो,’ उनले भने, ‘बुढेसकालमा ठूलो दुःखको सामना गर्नुपरेको छ ।’

घरको साहारा नै गुमेका कारण दुई छोरीको पालनपोषण र बृद्घ बुवाको हेरचाह गर्न समस्या भएको उनकी पत्नी मिना कुमारीको दुःखेसो छ । ‘घरको आर्थिक अवस्था उकास्नका लागि बैदेशिक रोजगारीमा गएको श्रीमानको शव कुरिरहेका छौं,’ मृतक साहकी पत्नी मिनाले भनिन्, ‘दुई छोरीको पालनपोषण र बृद्घ बाको हेरचाह कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ, मैले पति गुमाए, मेरा दुई छोरीले बा गुमाए र बृद्घ बाले एक्ला छोरा गुमाउनुभयो, परिवारमा सबैभन्दा ठूलो बज्रपात आइपरेको छ ।’

उनका अनुसार सम्पत्तिको नाममा साह परिवारसँग घरखेत गरी ५ कट्ठा जग्गा छ तर, ८ लाख भन्दा बढी कर्जा लागेपछि उनी बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता आइलागेको थियो । पीडित परिवारले शव झिकाउनका लागि बैदेशिक रोजगार बोर्ड तथा न्याय र क्षतिपुर्तीका लागि साउदीस्थित नेपाली राजदुतावासमा समेत आग्रह गरेका छन् ।

प्रकाशित : वैशाख २६, २०८१ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?