२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सामाजिक सञ्जालमा प्रेमजाल : युवतीलाई भारत पुर्‍याउने मानव तस्करको धन्दा

शंकर आचार्य

पर्सा — वीरगन्जका मोहम्मद इस्राफिल अन्सारीले बारा कलैया उपमहानगरपालिकाकी एक १४ वर्षीया बालिकासँग सामाजिक सन्जाल इन्स्ट्राग्रामबाट सम्पर्क स्थापित गरे । आफ्नो नाम मुन्ना बताएर निरन्तर सम्पर्क गरेर २६ वर्षीय अन्सारीले ती बालिकालाई फकाउन सफल भए ।

सामाजिक सञ्जालमा प्रेमजाल : युवतीलाई भारत पुर्‍याउने मानव तस्करको धन्दा

त्यसपछि ती बालिका अन्सारीसँग घर छोडेर भाग्न सहमत भइन् । अन्सारीले बालिकालाई भारत उत्तराखण्डको भीमतालमा लगेर अन्तरजातीय/अन्तरधार्मिक विवाह पनि गरे । एक महिनापछि अन्सारीले बालिकाका अभिभावकलाई फोन गरेर छोरीलाई बिर्सन र अब कहिल्यै फर्किने छैनन् भनेर धम्की समेत दिए ।

हारगुहार गरेर थाकेपछि अन्ततः बालिकाका अभिभावकले नेपाल भारत सीमा रक्सौलमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) मानव तस्करी रोधी इकाइमा छोरीको उद्धार गरी दिन निवेदन दिए । इकाई प्रमुख इन्सपेक्टर मनोज शर्मा नेतृत्वको टोलीले २०२३ डिसेम्बर ११ मा उत्तराखण्ड पुगेर बालिकाको उद्धार गर्नुका साथै अन्सारीलाई नियन्त्रणमा लियो ।

२०२४ मार्च ८ मा एसएसबीले ती नाबालिकालाई उनको अभिभावकको जिम्मा लगायो । बयानका क्रममा बालिकाले अन्सारीले आफूलाई पटक पटक भारतको केरला जान दबाब दिएको र एक महिनापछि लग्ने तयारी समेत पूरा गरिसकेको बताइन् ।

एससबीका इन्सपेक्टर शर्मा नेतृत्वकै टोलीले मार्च ३ मा नेपाल भारत सीमा मैत्री पुल नजिकबाट पर्सा रतनपुर घोराई घर बताउने २८ वर्षीय मोहम्मद इम्तियाज मियाँलाई पनि १५ वर्षीया एक नेपाली बालिकासहित नियन्त्रणमा लियो । उनले पनि ती बालिकालाई प्रेमजालमा पारेर विवाह गर्न भन्दै भारत तर्फ लग्दै थिए ।

अप्रिल १२ का दिन नेपाल भारत सीमामा भारत प्रवेश गरेका पर्सा जगरनाथपुर गाउँपालिका पाँडेपुरका २७ वर्षीय मोहम्मद मञ्जुर आलम खानलाई एसएसबीले १७ वर्षीया नेपाली बालिकासहित नियन्त्रणमा लियो । सुरुमा दुबैले आफूहरु पति–पत्नी रहेको बताएका थिए ।

पछि लामो सोधपुछ पछि आफूहरु काठमाडौंबाट विवाह गर्न भनी भारत जान लागेको दुबैले बताएका थिए । खानले आफूले पहिलो पत्नीसँग सम्बन्ध बिच्छेद गरिसकेको र दोस्री पत्नीसँग सम्बन्ध बिच्छेदको क्रममा रहेको बताए । हालकी बालिकासँग भने उनले तेस्रो विवाह गर्ने तयारी गरिरहेको बताएका थिए ।

इन्सपेक्टर शर्मा यसरी नेपाली बालिकालाई सामाजिक सन्जालबाट प्रेमजालको पासोमा फसाएर भारत लगेर विवाह गर्ने उद्देश्यले भारत ल्याउने क्रम बढ्दो रहेको बताउँछन् ।

‘वीरगन्जमै बसपार्कदेखि नेपाल भारत सीमासम्म मानव बेचबिखनबिरुद्ध सक्रिय ४ वटा संस्थाको निगरानी केन्द्र तथा नेपाल र सशस्त्र प्रहरी समेतको आँखा छलेर उनीहरु आश्चर्यजनक रुपमा बालिकाहरुलाई भारतसम्म ल्याउन सफल हुन्छन्,’ उनले भने, ‘यी त पक्राउ परेकाहरु तथा नाबालिकाको हकमा सार्वजनिक भएका घटनाहरु मात्र हुन्, खुल्ला सीमाना र भीडभाडको फाइदा उठाएर अबोध नेपाली नाबालिकाहरुलाई भारतको कुना कुना सम्म पुर्‍याइएका थुप्रै घटना हुन सक्छन् ।’

उनले रक्सौलमा मानव तस्करी रोधी इकाइले सन् २०२१ को जुलाई महिनादेखि कार्यालय स्थापना गरी काम सुरु गरेयता मात्र बेचबिखनको जोखिममा रहेका तथा मायाजालमा परेर विवाह समेत गरी सकेका ३ सय १६ नेपाली बालिकालाई भारतीय भूमिबाट उद्धार गरेको बताए ।

‘हामीले नाबालिकाको हकमा मात्र काम गर्ने गरेका छौं, बालिग भए उनीहरुको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्दैनौं, सम्झाई बुझाई नेपाल फर्कन आग्रह सम्म मात्र गर्छौं,’ उनले भने, ‘यति संख्यामा नेपाली नाबालिकालाई भारतीय भूमिमा ल्याउने मध्ये १ सय ८ नेपाली पीडकहरुलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको तथा कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएका छौं ।’

बेचबिखनको जोखिममा परेका बन्धक भएर बसेका बालिकामध्ये अधिकांश सामाजिक सन्जाल तथा टेलिफोनबाट अज्ञात पुरुषहरुको मायाजालमा फसेकाहरु रहेको शर्मा बताउँछन् । ‘मोबाइल र सामाजिक सन्जालको माध्यमबाट नचिनेका नजानेका पुरुषहरुको मायाजालमा पर्ने नेपाली नाबालिकाको संख्या डरलाग्दो रुपमा बढ्दो छ,’ उनले भने, ‘सन् २०२३ मा मात्र २५ नाबालिका र १५ बालिग नेपाली चेली यसरी मायाजालमा फसेर भारतमा जोखिमपूर्ण रुपमा आएको घटना हामीले फेला पारेका छौं ।’

यस्ता बालिका अधिकांश १३ देखि १८ बर्ष उमेर समूहका हुने र उनीहरु बिशेष गरी नेपालको पहाडी तथा हिमाली जिल्लाका हुने गरेको शर्मा बताउँछन् । नेपाली बालिकालाई भारतको दुरदराजका राज्य तथा सहरहहरु सम्म लग्ने प्रयास भएको हुन्छ । कतिपयलाई केरलासम्म पुर्‍याएर त्यहाबाट खाडी मुलुकसम्म लग्ने तयारी भइरहेको पीडित तथा पीडकहरुको बयानबाट समेत खुल्ने गरेको शर्मा बताउँछन् ।

माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख गोमा पौडेल सिमामा निगरानीका मामिलामा माइती नेपाल तथा अन्य संस्थाहरुले आफ्नो सक्दो प्रयास गरीनै रहको बताउँछिन् । ‘सिमामा निगरानीमा हाम्रो उच्च प्रयास जारी छ, दैनिक जसो बेचबिखनको जोखिममा रहेका चेलीको उद्धार पनि भइरहेकै छ,’ उनले भनिन्, ‘तर खुल्ला सिमाना र पीडित तथा पीडक दुबै चलाखी र असहयोगले पनि कतिपय चेली तथा बेचबिखनकर्ता भारतीय भूमिमा प्रवेश गर्न सफल हुन्छन् ।’

पौडेल पनि पछिल्लो केही बर्षयता सामाजिक सन्जाल र मोबाइलको माध्यमबाट नेपाली चेली अज्ञात पुरुषको प्रेमजालमा फसेर भारत जाने क्रम बढेको स्विकारिन् । ‘हामीले उद्धार गरेका अधिकांश चेली यसरी प्रेमजालमा फसेर भारत छिर्न लागेका हुन्छन्,’ उनले भनिन्, ‘यो पक्कै पनि चिन्ताको बिषय हो ।’

प्रकाशित : वैशाख २३, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?