२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

सुनिता बराल

महोत्तरी — राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत महोत्तरीमा ७ लाख १६ हजार २ सय ६४ जनालाई औषधि खुवाइने भएको छ । अन्य प्रभावित प्रदेश र जिल्लासँगै वैशाख १६ गतेबाट अभियान थालनी गरिने पत्रकार अन्तरक्रियामा स्वास्थ्य कार्यालय महोत्तरीकी कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् । 

महोत्तरीमा ७ लाखभन्दा बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा र स्वास्थसम्बन्धी संघ संस्थाबाट तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले घर नजिकैको केन्द्र तथा घरदैलोमै पुगेर औषधि खुवाउने तयारी भइरहेको गुप्ताले बताइन् ।

राष्ट्रिय अभियानअन्तर्गत प्रत्येक वर्ष हात्तीपाइले निवारणका लागि औषधि सेवन गराइँदै आएको भए पनि महोत्तरीमा रोग फैलने क्रममै देखिएको छ । गत वर्ष औषधि सेवन गराएपछि रक्त नमुना सर्वेक्षणमा जिल्लामा हात्तीपाइले बढ्दो समस्याको रुपमा पहिचान भएको स्वास्थ कार्यालयका सरुवा रोग फोकल पर्सन हरिनन्दन महतोले बताए ।

मटिहानी नगरपालिकाका ६ सय व्यक्तिमा रगत परीक्षण गर्दा २१ जनामा हात्तीपाइले देखिएपछि यसपटक थप प्रभावकरी तबरले जिल्लामा कोही नछुट्ने गरी औषधि सेवन गराउने तयारी रहेको महतोले बताए ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपांगता बनाउने सरुवा रोग हो । धेरैजसो संक्रमण लक्षण बिनाको हुने भएकाले समुदायमा सहजै अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना भएकाले यसबाट सचेत रहन स्वास्थ्यकर्मीले सबैमा अनुरोध गरेका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीबाहेक सबैले यो औषधि सेवन गर्न सक्ने भएकाले आफैं सचेत भएर औषधि सेवन अभियानमा सामेल हुन स्वास्थ्य कार्यालय प्रमुख गुप्ताले सबैलाई आग्रहसमेत गरिन् ।

प्रकाशित : वैशाख ११, २०८१ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?