१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

प्राधिकरणले पर्सा-बारा औद्योगिक करिडोरका २१२ उद्योगमा जडान गर्‍यो टिओडी मिटर 

शंकर आचार्य

पर्सा — विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पर्सा बारा औद्योगिक करिडोरका २ सय १२ उद्योगमा टिओडी (टाइम अफ डे) मिटर जडान गरेको छ । केन्द्र प्रमुख अवधेश कुमार दुबेका अनुसार, प्राधिकरणले ती उद्योगमा निःशुल्क मिटर जडान गरेको हो । 

‘प्रति मिटर करिब ७३ हजार रुपैयाँ लागत रहेको यो मिटर प्राधिकरणले निःशुल्क जडान गरेको हो,’ उनले भने, ‘प्राधिकरणले आफ्नो आवश्यकता देखेर मिटरको मूल्यभन्दा यसको उपयोगितालाई प्राथमिकतामा राखेर यो पहल गरेको हो ।’

यो मिटर जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै ती उद्योगले उपभोग गरी रहेको विद्युत्को परिमाण यकिन गर्न सकिने दुबेले बताए । ‘मिटर रिडिङ गर्न प्राधिकरणको जनशक्ति अब ती उद्योग परिसरमा पुग्नु पर्दैन,’ उनले भने, ‘प्राधिकरणले अनलाइन प्रणालीबाटै ती उद्योगले उपभोग गरी रहेको विद्युत्को गुणस्तर र परिमाण अनुगमन गर्नुका साथै कार्यालयबाटै अनलाइन बिल समेत जारी गरी रहेको छ ।’

यो मिटर प्रणाली जडान गरेपछि महिनाको अन्त्य भएको मध्यराति १२ बजे स्वचालित रुपमा सम्बन्धित उद्योगहरुको मिटर रिडिङ भई बिल जारी हुनेछ । ‘यसले एकातिर प्राधिकरणको जनशक्ति भार कम हुन गयो,’ दुबेले भने, ‘अर्कोतिर उपभोक्ताले महिनाको ठ्याक्कै अन्त्यमा आफूले उपभोग गरेको विद्युत्को वास्तविक परिमाण र त्यस आधारमा जारी भएको बिल पनि पाउने भए ।’

यसका साथै प्राधिकरणको लोड डिस्प्याच सेन्टरले केन्द्रबाटै टिओडी मिटर जडान गरिएका उद्योगहरुले खपत गरी रहेको विद्युत्को गुणस्तर र परिमाणबारे पनि जानकारी पाउने दुबे बताउँछन् । ‘काठमाडौंको कलंकीमा रहेको सेन्टरले त्यहाँबाटै विद्युत आपूर्ति र खपतबीचको तालमेल मिलाउने काम पनि सहजताकासाथ गर्न पाउने छ,’ उनले भने, ‘समग्रमा विद्युत्को माग र खपत अत्यधिक रहेको समयमा कुनै उद्योगले निर्धारित भन्दा बढी विद्युत् खपत गरी रहेको र त्यसले विद्युत प्रणालीमा असर गर्ने अवस्थाको यकिन गरेर सेन्टरले केन्द्रबाटै निर्देशन दिई सचेत समेत गर्न सक्ने छ ।’


प्रकाशित : वैशाख ११, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?