आगोले दुर्छिममा ४ र लिकुवापोखरीमा १ घर नष्ट
खोटाङ — हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा डढेलोबाट सल्किएको आगोले चार जलेर नष्ट भएको छ । मयाङ्खुस्थित लालीगुराँस सामुदायिक वनमा मंगलबार दिउँसो लागेको डढेलोले सोराचुङका विनोद राई, चौकीराज राई र कृष्णबहादुर खत्रीको दुई वटा घर जलेर नष्ट भएको हो ।
विनोद राईको ढुंगा–माटोले बनेको फुसको छानो भएको एउटा घर र चौकीराजको ढुंगा–माटोले बनेको दुई तले घर र एउटा मतानसमेत जलेर नष्ट भएको छ । चौकीराजको मतानमा बाँधेर राखिएको एउटा पाडा घाइते हुनका साथै एउटा सुगुर डढेर मरेको छ ।
डढेलो नियन्त्रणका लागि हलेसीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीय जुटिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । आगलागीबाट विनोदको घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा गरी करिब ६ लाख बराबरको र चौकीराजको घर, मतान, अन्नपात, भाँडाकुँडा, चौपाया लगायत गरी करिब ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कृष्णबहादुर खत्रीको फुसको छाना भएको दुई तले दुई वटा घरमात्रै जलेको डीएसपी खड्काले बताए ।
त्यस्तै खोटेहाङ गाउँपालिका १ लिकुवापोखरीस्थित लिकुवापोखरी सामुदायिक वनमा लागेको डढेलो सल्किएर मंगलबारै स्थानीय टंकनाथ तिमिल्सिनाको घर र गोठ जलेर नष्ट भएको छ । घर, गोठ, लत्ताकपडा, १८ हजार रूपैयाँ नगद गरी सात लाख ८५ हजार बराबरको धनमाल क्षति भएको डीएसपी खड्काले बताए ।
प्रकाशित : वैशाख ११, २०८१ १८:३६