भ्रष्टाचारी फाइल र सहकारी मामिला
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै भ्रष्टाचारीको फाइल खोल्छु भनेर गरेको प्रतिबद्धता कता हरायो ? हिजो खुलेको भ्रष्टाचारीको फाइलसमेत आज बन्द छ । उनी गृहमन्त्री भएपछि को–को भ्रष्टाचारी समातिए, ककसलाई कारबाही भयो भन्ने प्रश्न यत्रतन्त्र उठ्न थालेको छ ।
बोलेर होइन, गरेर देखाउनुपर्यो मन्त्रीज्यू । सरकार बाहिर बस्दा एउटा कुरा अनि सरकारमा गएपछि अर्को कुरा गरेर जनताको विश्वासमाथि धोका कहिलेसम्म दिने ?बाटामा मकै बेचेर, बदाम बेचेर दुईचार पैसा जम्मा गरेका निमुखा जनताको पैसा खाने सहकारी मालिकलाई कारबाही गर्न केले रोक्यो ?
सहकारीमा पैसा जम्मा गरेको प्रमाण छ । सहकारीका मालिक को–को हुन्, सरकारलाई थाहा छ । अब कारबाही गर्नचाहिँ केले रोक्यो ? सहकारी नियमनका लागि राष्ट्रिय सहकारी बोर्ड थियो, त्यस बोर्डको काम के रहेछ ? अहिले छानबिन समितिको चर्चा चलिरहेको छ ।
राज्यले छानबिन समिति कतिवटा कहिलेसम्म बनाउने ? छानबिन समिति बनाउने अनि कारबाही कसैलाई नगर्ने भए छानबिन समितिको अर्थचाहिँ के ?
– पुरुषोत्तम घिमिरे, काठमाडौं