केही नेताको अवसानोन्मुख यात्रा

पाठक पत्र

राजनीति क्षेत्रका कुनै बेलाका सक्रिय राजनीतिक खेलाडीहरू यतिबेला लगभग मौन अवस्थामा छन् । कुनै बेला उनीहरूकै योजनामा पार्टीगत मात्र होइन, देशको कार्यपालिकामा नै ठूलो हलचल ल्याउने गर्थ्यो ।

त्यस्ता पात्रहरूमध्ये कोहीले अहिले तत्कालीन अवस्थामा आफू सक्रिय रहेको दल त्यागिसके भने कोही सोही पार्टीमा भएर पनि भूमिकाविहीन छन् ।
पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ, एउटा उद्देश्य प्राप्त गरिसकेपछि अर्को चरणमा प्रवेश गर्नुपर्छ भन्ने आफ्नो नीतिमा पार्टी अध्यक्ष प्रचण्ड सहमत हुन नसकेपछि २०७२ असोज ९ मा तत्कालीन माओवादी पार्टीबाट अलग भएका बाबुराम भट्टराई अहिलेसम्म आफ्नो लक्ष्यमा पुग्न सकेका छैनन् । माओवादी पार्टी परित्यागपछि विभिन्न प्रयोग गरेका भट्टराई अहिले एकादेशको पात्र जस्ता बनेका छन् । पार्टी एकता गर्ने गरी २०७९ को संघीय निर्वाचनमा माओवादीकै चुनाव चिह्नबाट पार्टीलाई निर्वाचनमा सामेल गराएका भट्टराई निर्वाचनपछि प्रचण्डले वास्ता नगर्दा राजनीतिको बिलखबन्दमा परेको देखिन्छ ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको प्यानलमा रहेर केपी ओलीविरुद्ध उभिँदै आएका नेता भीम रावल २०७८ मंसिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र एक्लै भइसकेका थिए । विधिविधानको कुरा उठाएर निर्वाचन प्रक्रियामार्फत पार्टीमा नेतृत्व चयन हुनुपर्छ भन्ने सिद्धान्तमा टेकेर ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि रावलको पनि राजनीतिक भविष्य लगभग सकिएको थियो । केही दिनअघि उनले अब एमाले छाड्नेतर्फ संकेत गरेका छन् तर अबको यात्राबारे केही खोलेका छैनन् । अब उनले आफ्नै नेतृत्वमा नयाँ दल खोले भने स्थापित हुन पक्कै पनि समय लाग्ने नै छ । कुनै पार्टीमा मिले भने एकपटक निर्वाचनसम्म लड्न सक्ने देखिन्छ ।

रावलभन्दा पनि अग्रज र माथिल्लो तहका एमाले नेता हुन् वामदेव गौतम । रावल र गौतम एमालेमा रहँदा पटकपटक मन्त्री र पार्टीका विभिन्न पदमा रहे । महाकाली सन्धिमा विवाद बढेपछि पार्टीको लगभग आधा शक्ति लिएर माले पार्टी गठन गरेका गौतमले २०५६ सालमा भएको निर्वाचनमा नील खाए र पुनः एमालेमै फर्किए । त्यसपछि पनि उनले लगातार जस्तै पार्टी र सरकारमा रोजेको पदमा हालीमुहाली गरिरहे । नेकपा गठनपछि उनले कहिले ओली र कहिले प्रचण्ड–नेपाल पक्षमा ओहोरदोहोर गरिरहे । नेकपा विभाजनपछि भने ओली र प्रचण्ड–माधव कुनै पक्षमा पनि नलागी गौतम अलग रहे । अहिले उनी पनि राजनीतिको किनारमा पुगेका छन् ।

मधेशकेन्द्रित राजनीतिमा छुट्टै पहिचान बनाएका नेता हुन् राजेन्द्र महतो । कुनै बेला सद्भावना पार्टीको नेतृत्व गरेका महतोको संसद् र संविधानसभामा प्रतिनिधित्व होस् या नहोस् सरकारमा भने बाह्रैमास प्रतिनिधित्व भइरहन्थ्यो । पछिल्लो समय मधेशकेन्द्रित विभिन्न पार्टी जुट्ने र फुट्ने क्रममा लोकतान्त्रिक समाजवादी पार्टीको वरिष्ठ नेताका रूपमा रहँदै आएका महतोले गएको फागुन १४ मा महन्त ठाकुरको नेतृत्वमा रहेको उक्त पार्टी छाडे । यतिबेला उनी पनि दलविहीन छन् । उनी पनि अब कुनै पार्टीमा आबद्ध हुन्छन् या नयाँ दल जन्माउने बाटामा लाग्छन्, त्यो प्रतीक्षाको विषय हो । कुनै बेला कांग्रेसमै रहेका, बीचमा आफ्नै नेतृत्वमा विभिन्न दल गठन गरेर राजनीति र सत्तामा बारम्बार उपस्थिति जनाइरहने अर्का नेता हुन् विजयकुमार गच्छदार । भ्रष्टाचारको मुद्दाले थलिएपछि उनी पनि राजनीतिबाट पलायन जस्तै छन् ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : वैशाख १६, २०८१ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?