कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

निर्माण क्षेत्रमा उदाहरणीय महिला

राजनीतिक–प्रशासनिक क्षेत्रमा मात्र होइन, हरेक क्षेत्र र तहमा महिलाको सार्थक उपस्थिति निर्माण क्षेत्रमा जसरी नै बढाउँदै जानुपर्छ, तब न समतामूलक समाज चाँडै निर्माण हुन सक्छ ।
सम्पादकीय

निर्माण क्षेत्रका महिला भन्नासाथ हामी प्रायः बढी शारीरिक परिश्रममा काम गर्ने तर थोरै ज्याला पाउने ज्यामी सम्झन्छौं । अधिकांश निर्माण क्षेत्रमा त्यस्तै पनि देखिन्छ । सीपमूलक काममा प्रायः पुरुष देखिन्छन् । काम समान भए पनि महिलालाई थोरै ज्याला दिने प्रवृत्ति पनि छ । तर पछिल्लो समय यस्तो बुझाइ र अभ्यासमा परिवर्तन भइरहेको छ ।

निर्माण क्षेत्रमा उदाहरणीय महिला

सीपयुक्त मानिने मिस्त्रीको काममै महिलाको संख्या बढ्दो छ । कतिपय महिलाले मिस्त्रीहरूको ‘हेड’ नै बनेर अरूलाई अगुवाइ गरिरहेका छन् । कोही त ज्यामी, मिस्त्री हुँदै निर्माणको ठेक्कासमेत आफैं लिएर अरू रोजगारी दिने अवस्थामा पनि पुगेका छन् । निरन्तरको लगन र हिम्मतबाट फड्को मारिरहेका उनीहरू अरू संघर्षरत महिलाका लागि प्रेरणाका स्रोत हुन् ।

रूपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक पथकी फूलमाया विक यस्तै उदाहरणीय महिला हुन् । उनी आठ वर्षअघिसम्म निर्माण क्षेत्रमा दिनगन्तीमा काम गर्ने सामान्य श्रमिक थिइन् । बालुवा चाल्ने, इँटा बोक्ने जस्ता बढी शारीरिक परिश्रम पर्ने काम गर्थिन् । तर उनी त्यसमै मात्र सीमित भइनन् । काम सिक्दै गइन् । मिस्त्री बनिन् । त्यसपछि मिस्त्रीहरूको पनि अगुवा ‘हेड’ भइन् । पछिल्लो समय त उनको परिचय ठेकेदार पनि बनेको छ । ठेकेदार बन्नु भनेको रोजगारदाता हुनु पनि हो । फूलमायाले ठेक्का लिएर रूपन्देहीमा दुई सयभन्दा बढी घर बनाइसकेकी छन् । महिलालाई काममा प्राथमिकता दिन र सामान्य कामदारबाट मिस्त्री बनाउन उनले गरिरहेको प्रयास पनि सराहनीय छ ।

हेटौंडा–१९, बस्तीपुरकी गौरी सिन्तान ज्यालामा मजदुरबाट संघर्ष गर्दै मिस्त्री, त्यसपछि हेड मिस्त्री भइन् । पछिल्लो समय आफैं ठेक्का लिएर घर बनाउँछिन् । वीरेन्द्रनगरकी खगिसरा विक सुर्खेत जिल्लाकै एक्ली महिला हेड मिस्त्री हुन् । उनी औपचारिक तालिम लिएर चार वर्षअघि हेड मिस्त्री बनेकी हुन् । सुरुवातीताका दक्षतामा शंका गर्नेहरूलाई प्रमाणपत्र नै देखाउनुपर्ने अवस्था थियो । बिस्तारै कामबाटै उनले विश्वास जित्दै गइन् । उनले हेड मिस्त्री भएर ९० वटा जति घर बनाइसकेकी छन् । उनीहरूजस्तै सामान्य श्रमिकबाट संघर्ष गरेर मिस्त्री, हेड मिस्त्री बनेका, आफैं ठेक्का लिने दक्षता भएका महिला अरू पनि छन् तर संख्या न्यून छ । उनीहरूले मिहिनेत र लगन भए सीपमूलक काममा महिला पनि उत्तिकै सक्षम हुन सक्छन् भन्ने सन्देश प्रवाह गरिरहेका छन् । यसले सामान्य ज्यालादारीमा काम गरिरहेका महिलालाई सीप सिक्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न आत्मबल दिएको छ ।

सामान्यतया कमजोर आर्थिक अवस्थाले च्याप्दै लाँदा रोजगारीको अरू विकल्प नभेटेपछि महिलाले निर्माण क्षेत्रमा ज्यालादारी थालेका हुन्छन् । सामान्य ज्यालादारीबाट मिस्त्री, हेड मिस्त्री जस्ता सीपमूलक काममा स्तरोन्नति हुँदा आम्दानी पनि धेरै हुन्छ । बढी शारीरिक काममा मात्र सीमित हुँदा उमेर ढल्कँदै गएपछि ज्यालामजदुरी गर्न गाह्रो पर्छ । सीप सिकेर मिस्त्री नबनेको भए तिलोत्तमाकी ५५ वर्षीया कमला कार्की अहिले कामविहीन भइसकेकी हुन्थिन् ।

ज्यालादारीमा सामान्य श्रमिकका रूपमा काम थाल्दा उनले दिनमा ४० रुपैयाँ पाउँथिन् । अहिले मिस्त्रीका रूपमा उनको पारिश्रमिक न्यूनतम आठ सय रुपैयाँ छ । अरू महिला मिस्त्रीले दिनमा १२–१३ सय रुपैयाँसम्म आम्दानी गर्छन् । यसबाट उनीहरूको घरखर्च चलेकै छ, छोराछोरीलाई राम्ररी पढाउन सकेका छन्, घरजग्गासमेत जोडेका छन् । सामान्य ज्यालामजदुरीबाट यो सब सम्भव हुँदैनथ्यो । त्यसमाथि धेरैतिर महिला र पुरुषको ज्यालामा असमानता कायमै छ यद्यपि संविधान र कानुनले समान कामको समान पारिश्रमिक हुनुपर्ने भनेका छन् ।

निर्माण क्षेत्रमा संलग्न महिलाको प्रगति जे जति भइरहेको छ, त्यो उनीहरूको आफ्नै बलबुतामा सम्भव भएको हो । त्यसमा राज्यले पनि साथ दिन सक्ने हो उनीहरूलाई अझ अघि बढ्न सहज हुन्छ । दक्षता अभिवृद्धिका लागि सम्बन्धित महिलालाई बेलाबेला तालिम दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ । कार्यक्षेत्रलाई सुरक्षित र मर्यादित बनाइदिन सक्नुपर्छ । समान कामको समान ज्याला पाउने सुनिश्चित गराइदिनुपर्छ । राजनीतिक–प्रशासनिक क्षेत्रमा मात्र होइन, हरेक क्षेत्र र तहमा महिलाको सार्थक उपस्थिति निर्माण क्षेत्रमा जसरी नै बढाउँदै जानुपर्छ, तब न समतामूलक समाज चाँडै निर्माण हुन सक्छ ।

प्रकाशित : वैशाख २३, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?