कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालापानीमा चाहिएको कूटनीतिक अग्रसरता

सम्पादकीय

भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो सिमानाभित्र पर्ने गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि लामो समयदेखि नेपालीहरूको भावनामा ठूलो ठेस पुर्‍याइरहेको एउटा राष्ट्रिय घाउ फेरि बल्झेको छ । सकारात्मक पक्ष, यस मामिलालाई लिएर मुलुक जसरी एकजुट भएको छ, त्यसलाई राष्ट्रिय हितका पक्षमा प्रयोग गर्न सकेमा यो घाउलाई सदाका लागि निको पार्ने अवसर यसले दिलाएको छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यमार्फत सरकारले यो विषयमा कूटनीतिक पहल थालिसकेको छ । परराष्ट्र सचिवस्तरीय वार्ताको प्रयास भइरहेको छ । एकातिर, यो वार्ता माहोल तातेकै बेला जतिसक्दो छिटो गर्न आवश्यक छ भने अर्कोतिर, नेपालले सुगौली सन्धिअनुसार लिम्पियाधुरा नै कालीको उद्गम भएका प्रमाणहरू पनि पुग्दो जुटाउनुपर्छ । र, प्रक्रियागत वार्ताहरू त छँदैछन्, विषयको गम्भीरता र संवदेनशीलताअनुसार सार्थक परिणामका लागि राजनीतिक नेतृत्वबाटै यस विषयलाई सल्टाउन अग्रसरता लिइनुपर्छ ।


देशभित्र विरोध चर्कंदै गएपछि परराष्ट्र मन्त्रालयले वक्तव्य निकालेर कालापानी क्षेत्र नेपालकै भूमि भएको जनाइसकेको छ । उता भारतले पनि आफ्नो धारणा राखिसकेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ उल्लेख गर्दै ‘नेपालसँगको सीमामा कुनै फेरबदल नगरिएको’ दाबी गरेका छन् । यद्यपि, दुई देशबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धको भावनाअनुसार आपसी संवादबाट समाधान खोज्न भारत प्रतिबद्ध रहेको उनले बताएका छन् । वार्ताबाट विवाद सल्टाउन इच्छुक रहेको भारतीय कूटनीतिक वृत्तबाट आएको खबर सकारात्मक छ । तर, छ दशकदेखि भारतले एकतर्फी रूपमा नेपाली भूमि अतिक्रमण गरेको विषय प्रशासनिक तहबाट मात्र सायदै सल्टिन सक्ला । त्यसैले नेपालको प्रधानमन्त्रीस्तरबाटै भारतीय समकक्षीसित यसबारे संवादको पहल गर्न आवश्यक छ ।


भारतसित वार्ता गरी कालापानी क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्न नेपालमा अहिले सबै हिसाबले अनुकूल परिस्थिति छ । बलियो जनसमर्थनमा बनेको सरकार मात्र छैन, राष्ट्रिय हित तथा सीमा रक्षाका लागि मुलुकका सबै राजनीतिक शक्तिबीच अभूतपूर्व एकता पनि देखिएको छ । सडक र सार्वजनिक वृत्तबाट पनि राष्ट्रियताका पक्षमा सरकारमाथि पर्याप्त दबाब छ । भारतीय नाकाबन्दीताका नेपाली नेतृत्व जसरी उभिएको थियो र त्यसप्रति जस्तो जनसमर्थन थियो, अहिले पनि माहोल र अवसर त्यस्तै छ । यस्तो अवस्थामा वार्ताको टेबलमा बस्दा स्वाभाविक रूपमै नेपाली पक्षको आत्मबल बलियो बन्न सक्ने स्थिति छ । तर आत्मस्वाभिमान र आत्मबलले मात्र वार्ताको नतिजा आफ्नो पक्षमा आउँदैन । त्यसका लागि नेपालले अतिक्रमित भूमि नेपालको भएको बलियो तथ्यप्रमाण जुटाउनैपर्छ । र, संकलित सबुदहरूलाई वार्ताको टेबलमा दह्रोसँग प्रस्तुत गर्न सक्नुपर्छ । यतिबेला मुलुकभित्र संगृहीत सम्पूर्ण शक्तिको प्रभाव नेपालले वार्ता कौशलमा देखाउन सक्नुपर्छ, जुन अहिलेको सबभन्दा ठूलो चुनौती हो ।


नेपालले आफ्नो ‘पोजिसन’ जति बलियो बनाउँछ, त्यति नै वार्ता उपलब्धिमूलक बन्न सक्छ । ब्रिटिस भारतकै पालामा भएको नक्साका आधारमा छलफल गरी सीमा निर्धारण गर्न नेपालले भारतलाई मनाउन सक्नुपर्छ । नेपाल र ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिले काली नदीलाई दुई देशको सिमाना मानेको छ । त्यसैअनुसार १ फेब्रुअरी १८२७ मा प्रकाशित ‘गढवाल कुमाउ’ नक्सामा लिम्पियाधुराबाट उद्गम भएको नदीलाई ‘काली नदी’ भनिएको छ । यो लगायतका काली नदीको उद्गम लिम्पियाधुरा अंकित गरिएका अरू नक्साहरूसमेत संकलन गरेर, विगतमा नेपालले भोगचलन गरेका तथ्यहरू जुटाएर काठमाडौंले दिल्लीसित आफ्ना अकाट्य प्रमाण पेस गर्न सक्नुपर्छ । औपचारिक रूपमा विभिन्न संयन्त्रमार्फत छलफल हुने भए पनि निष्कर्षमा पुग्ने र परिणाम आउने वार्ताका लागि मुख्य अग्रसरता प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्छ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसित प्रत्यक्ष संवाद थालेर समस्या समाधानको प्रक्रिया आरम्भ गराउनुपर्छ । नेपाल–भारतबीच सीमा समस्या समाधान गर्ने यो उचित अवसरको सदुपयोग गर्नबाट प्रधानमन्त्री चुक्नु हुँदैन ।


प्रकाशित : कार्तिक २७, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?