२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

इलाम उपनिर्वाचनको नतिजा ‘मिसन ८४' का लागि सुध्रने मौका : उपसभापति वाग्ले

'आफू दोषी पाइएमा कानुन अनुसार सजाय भोग्न तयार रहेको कुरा सभापतिले बताइसक्नु भएको छ तर संसद्मा बोल्नै नदिने कांग्रेसको अडान प्रतिशोधपूर्ण र असहिष्णु छ'

लन्डन — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आफ्नो पार्टीले इलाम उपनिर्वाचन नतिजाको समीक्षा गरेर अगाडि बढ्ने बताएका छन् । इलाम- २ मा गत बैशाख १५ गते भएको उप निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु चौथो स्थानमा रहेका थिए । 

इलाम उपनिर्वाचनको नतिजा ‘मिसन ८४' का लागि सुध्रने मौका : उपसभापति वाग्ले

बेलायत भ्रमणमा रहेका सांसद वाग्लेले इलाममा गत आमनिर्वाचनमा प्राप्त मतमा कम्तिमा दश गुणाले वृद्धि गर्ने लक्ष्य राखिएपनि ४ गुणाले मात्र बढेकोले सापेक्षिक रुपमा निराशाजनक मानिएको बताए । 'मिशन ०८४' का लागि इलामले उचित समयमा नै पार्टीलाई सुधार गर्नपर्ने ठाउँ देखाइदिएको उनको भनाइ छ ।

बुधबार सेन्ट्रल लन्डनमा राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै वाग्लेले सरकारमा बसेर राज्य संचालनको बृहत अनुभव लिन र जनताको पक्षमा काम गर्न आफूहरू सरकारमा गएको तर सोचेजस्तो काम गर्न नसकिए बाहिरिने नीति रहेको स्पष्ट पारे ।

वाग्लेले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले राम्रो काम गर्न प्रयासरत रहेको र १०० दिन पुरा भएपछि सरकारको पूर्ण समीक्षा गर्नुपर्ने तयारी रहेको जानकारी दिए ।

सांसद वाग्लेले अहिले सरकारको स्थायित्वमा प्रश्न उठेजस्तो देखिएपनि गठबन्धन भत्किहाल्ने विश्वसनीय राजनीतिक र सैद्धान्तिक आधार नरहेको बताए ।

पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाउँदैमा संसदीय छानबिन समिति बनाउने नजीरले पछि अरु दलका सबै नेतालाई पनि खेद्ने वाग्लेको भनाइ छ । 'आफू दोषी पाइएमा कानुन अनुसार सजाय भोग्न तयार रहेको कुरा सभापतिले बताइसक्नु भएको छ । तर संसद्मा बोल्नै नदिने कांग्रेसको अडान प्रतिशोधपूर्ण र असहिष्णु छ,' उनले भने ।

वाग्लेले नेपालमा राजनीति गर्न चुनाव खर्चिलो भएको र त्यसले गर्दा भ्रष्टाचार बढ्दै गएको भन्दै नीतिगत र संस्थागत सुधारसँगै भ्रस्टाचार विरुद्ध शून्य सहनशीलताको आचरण फैलाउन पार्टीले दबाब दिइरहने बताए ।

भ्रष्टाचारमा विशेष अदालतले प्रमाणित गरेको एकजना कांग्रेसका सांसदको निलम्बन फुकुवा गरिएको र उनी अब संसद्मा कानुन बनाउने हैसियतमा ल्याइने परिदृश्य चिन्ताजनक भएको वाग्लेको भनाइ छ ।

त्यस्तै, सांसद वाग्लेले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न आफ्नो पार्टीले पहल गर्ने पनि बताए । उनले आफू अहिले लण्डन र अक्सफोर्डको निजी प्राज्ञिक भ्रमणमा आएको र आउँदो जुलाई महिनामा फेरि बेलायतको औपचारिक भ्रमण गरेर इंगल्याण्ड र स्कटल्याण्डका धेरै शहरहरूमा खुला अन्तरक्रिया गर्ने योजना रहेको बताए ।

भेटघाटमा राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतका सह अध्यक्ष कोशलेश्वर ढकाल, महामन्त्री राजु कँडेल, प्रवक्ता विष्णु चालिसे, इष्ट मिडल्याण्ड सभापति कृष्ण लुइँटेल, साउथ इष्ट लन्डन सभापति राम थापा लगायत सहभागी थिए ।

प्रकाशित : वैशाख २७, २०८१ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?