२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सडक ढलानमा भ्रष्टाचार : जलेश्वरका मेयर साहसहित ११ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सडक ढलानमा भ्रष्टाचार : जलेश्वरका मेयर साहसहित ११ जना विरुद्ध मुद्दा दायर

जलेश्वर नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चालित योजनामा वास्तविक भए गरेको कामभन्दा बढी कार्य गरेको भनी नक्कली विवरण खडा गरेर भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले नगर प्रमुख सोनारविरुद्ध रु पाँच लाख ८४ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, आयोगले जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धीरेन्द्र झाविरुद्ध पनि समान बिगो माग दाबी गरेको छ ।

नगरपालिकाका वरिष्ठ इञ्जिनियर पवनकुमार झा, इञ्जिनियर राकेशकुमार चौधरी र सवइञ्जिनियर दिपेशकुमार साहविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ ।

आयोगले नगरपालिकाका उपप्रमुख रौशन खातुन, सदस्य सोगरा खातुन, जलेश्वर नगरपालिका–१ का वडाध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध पनि समान बिगो बराबरको माग दाबी गरिएको छ । आयोगले कसुरअनुसार, कारबाहीको माग दाबी गर्दै बिहीबार मुद्दा दर्ता गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रकाशित : वैशाख २७, २०८१ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?