२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो ।

नेपालीको औसत आयु ७१.३ वर्ष

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ ।

यसैगरी, नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ । तथ्यांक कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलव २५ जनसङ्ख्या वृद्धिदर रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालमा एकल परिवार ६० दशमलव एक प्रतिशत र संयुक्त परिवार ३९ दशमलव नौ प्रतिशत रहेको छ । बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बाग्मतीमा ५४ रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले आज यहाँ विषयगत प्रतिवेदनसहितको दुई पुस्तक सार्वजनिक गर्दै चार सयभन्दा बढी जनसाङ्ख्यिक सूचक समेटेर तयार गरिएको पुस्तक नीतिनिर्माता, अनुसन्धानकर्ता, पत्रकारलगायत आमपाठकलाई उपयोगी हुने विश्वास व्यक्त गरे । तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को विस्तृत विवरण सार्वजनिक गर्नेक्रममा आगामी आठ महिनाभित्र १६ वटा विषयगत प्रतिवेदन तयार गरी बाहिर ल्याउन लागेको जानकारी दिए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । हरेक १० वर्षमा जनगणना गर्ने व्यवस्था भएबमोजिम यसअघि २०६८ सालमा लिएकोे जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।

प्रकाशित : वैशाख २३, २०८१ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?