२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बुवाको पदचापमा सुहाङ

इलाम — ‘अघिल्लो वर्ष म बुबाको जितमा खुसी साट्न सँगै थिएँ । मेरो जितमा आज बुवासँगै भइदिएको भए,’ इलाम–२ प्रतिनिधिसभा सदस्य निर्वाचन जितेपछि सुहाङ नेम्वाङले भावुक हुँदै भने ।

बुवाको पदचापमा सुहाङ

२०७९ को निर्वाचनमा उम्मेदवारी मनोनयनदेखि विजयीसभासम्म सुवास नेम्वाङसँगै थिए, छोरा सुहाङ । बुवालाई जिताउन दिनरात खटे । निर्वाचन क्षेत्रमा पर्ने ४२ वटै वडा घुमे । बुवासँग गाउँ घुमेको अनुभव यतिबेला उनलाई काम लाग्यो । भन्छन्, ‘गाउँगाउँ पुग्दा सबैले माया दर्साउनु भयो, जसले मलाई जित्न सजिलो भयो ।’ खासमा इलाम २ एमालेको ‘लालकिल्ला’ थियो । सुवासले २०५६ देखि निरन्तर जित्दै आएका थिए । सुवासले बलियो बनाइदिएका कारण सुहाङले सहजै जिते । २०५१ मा कुलबहादुर गुरुङयता कांग्रेसले सधैं पराजय भोगिरहेको क्षेत्रमा सुवासको विरासतलाई सुहाङले जोगाएनन् मात्रै, अझै बलियो पनि बनाए ।

२०७९ मा एमालेले २६ हजार ५ सय ६२ समानुपातिक मत पाएको थियो । यसपटक सुहाङले २७ हजार ७ सय ७२ मत पाए । ‘यो जितमा माओवादी, विप्लव समूह र परिवार दलको पनि हिस्सा छ,’ सुहाङले कान्तिपुरसँग भने, ‘जितको मुख्य श्रेय इलामका तमाम मतदाता र सिंगो पार्टी पंक्तिलाई जान्छ ।’ गत भदौ २७ मा पूर्वसभामुख तथा पूर्वसंविधानसभा अध्यक्ष नेम्वाङको अकल्पनीय निधनपछिको उपनिर्वाचनमा नेम्वाङका कान्छा पुत्र ३३ वर्षीय सुहाङलाई उम्मेदवार बन्ने मौका मिल्यो । ‘विशेष परिस्थितिमा आएको मौका थियो,’ उनले भने, ‘अब जितपछि चुनौती पनि थपिएको छ ।’

खासमा सुहाङको पृष्ठभूमि राजनीतिक नै हो । सँगसँगै कानुन व्यवसायी पेसामा भने उनी तेस्रो पुस्ता । हजुरबा पूर्वन्यायाधीश नै थिए । बुवा वरिष्ठ अधिवक्ता र उनी अधिवक्ता । ‘बुबासँग मेरो राजनीति, कानुनका विषयमा बाक्लै छलफल बहस हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘उहाँले मलाई राजनीतिमै आइज भनेर दबाब त दिनु भएन तर मेरो विचार सुन्दा उहाँ म राजनीतिमा आउँछु भन्ने कुरामा ढुक्क हुनुहुन्थ्यो ।’

गत भदौ २७ मा जब सुवास नेम्बाङको निधन भयो, उनी निजी कामले अस्ट्रेलियामा थिए । खबर पाउने बित्तिकै उनी एक्लै अस्ट्रेलियाबाट स्वदेश फर्किए । त्यही बेलादेखि बुवाको विरासतलाई पछ्याउने अठोट उनले गरे । ‘सम्भावित अकल्पनीय सूचना दिएर मलाई बोलाइयो,’ उनले भने, ‘अस्ट्रेलिया–काठमाडौंको १२ घण्टाको हवाई यात्रा १२ वर्षको झैं महसुस भयो ।’

सुवास र सुहाङको पेसा एउटै थियो । दुवै कानुन व्यवसायी । नाताले बाबु–छोरा भए पनि उनीहरू साथीजस्ता थिए । सुहाङ र सुवासबीच राजनीतिक, कानुनी तथा अन्य सामाजिक विषयमा बाक्लै छलफल, बहस हुन्थ्यो । सहमति, विमतिहरू हुन्थे । कहिलेकाहीं त सुहाङ सोझै भन्थे, ‘तपाईंहरूले राजनीतिलाई बदनाम गर्नुभयो ।’ सुहाङको कुरा सुनेपछि सुवास हाँस्दै उही लयमा नम्र जवाफ फर्काउँथे, ‘राजनीति हामीले बिगार्‍यौं, अब तिमीजस्ता युवाले बिग्रिएको राजनीतिलाई सपार्नु पर्छ ।’

प्लस टूको अध्ययनपछि उनले कानुन पढ्न रुचि गरे । बुवा सुवासलाई पनि छोरा आफूजस्तै अधिवक्ता बनेर न्याय नपाएर जिउँदै मर्न विवश भुई मान्छेको पक्षमा वकालत गरोस् भन्ने थियो । पाँचवर्षे एलएलबी कोर्ष गर्ने योजनामा सुहाङ जुटे । तर, नेपालमा उनलाई ठीक लागेन । अन्ततः बुवासँगै सल्लाह गरेर सन् २००९ मा व्याच्लर अफ ल गर्न अस्ट्रेलिया उडे । तर, उनी अस्ट्रेलियामा धेरै बसेनन् । करिब अढाई वर्षपछि स्वदेश फर्किए । ‘बस्न थालेको २ वर्षपछि बुबाले बीए एलएलबीको नयाँ कोर्ष डबल डिग्रीवाला नेपालमै सुरु भयो, तुरुन्त आऊ भनेर बोलाएपछि म २०११ को अन्त्यतिर घर फर्किएँ,’ सुहाङले भने, ‘सन् २०१२ देखि २०१८ सम्म निरन्तर बीए, एलएलबी गरें, काठमाडौं स्कुल अफ लबाट ।’

पढाइ सिध्याएपछि उनी निजी ल फर्म खोलेर प्राक्टिस सुरु गर्दै आएका छन् । ‘लामो समय अष्ट्रेलियामा बसेर बुवा बितेपछि नेपाल आयो अनि राजनीति सुरु गर्‍यो भन्ने भ्रम आमनेपालीमा परेको रैछ,’ उनले प्रस्टोक्ति दिए, ‘म अस्ट्रेलियाबाट आएको धेरै भइसक्यो । नेपालमै वकालत गरेर बसिरहेको मान्छे हुँ म ।’ करिब अढाई वर्षे अष्ट्रेलिया बसाइले जीवनमा धेरै कुरा सिकाएको उनी बताउँछन् । उनका अनुसार विदेशजस्तो देखिन्छ, त्यस्तो बिल्कुल छैन । कमिलाजस्तो सस्तो जीवन जिउनु पर्छ । पढ्न भनेर अस्ट्रेलिया गएका उनलाई पढ्न ज्यादै कठिन भयो । ‘मैले भाँडा माझिनँ कि, कपडा पो बेचिनँ कि ? बाँच्नु थियो, त्यसका लागि जे काम पाइन्छ त्यही गर्नु पर्थ्यो,’ सुहाङले बिना हिच्किचाहट सुनाए, ‘अष्ट्रेलिया, युरोप, अमेरिकालगायत देशमा रहेका नेपाली युवाको पीडा दर्दनाक छ । अपवादका रूपमा कोही सुखमा पनि होलान् तर अधिकांश दुःखमै छन् । मिहिनेत न गरी बाँच्न सक्ने अवस्था हुन्न ।’

अष्ट्रेलियामा आफूले गरेको दुःखको कुरा बेलाबेला बुवालाई पनि सुनाउथे । कुरा सुनेर सुवास मरीमरी हाँस्थे रे ! ‘खुसी पनि हुनुहुन्थ्यो, आफैं गरिरहेका छौ, तिमीलाई यसले अनुभवी बनाउँछ भन्नुहुन्थ्यो,’ उनी थप्छन्, ‘खासमा मैले अष्ट्रेलिया बसाइका क्रममा ठूलो शिक्षा र अनुभव आर्जन गर्ने मौका पाएँ ।’ सन् २०१० तिर त एकपटक ‘अष्ट्रेलियामा भाँडा माँझ्दै नेम्वाङ–पुत्र’ भनेर समाचार पनि आएको उनले बताए । आफूले विदेशमा रहेका नेपालीको पीडा, अपेक्षा, आक्रोश सबै बुझेका कारणले अब स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने बताएका छन् । ‘युवाहरूलाई विदेशिनबाट रोक्ने मेरो मुख्य लक्ष्य र योजना रहनेछ,’ उनी भन्छन्, ‘युवालाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ जानुको विकल्प छैन ।’

निधन हुनुभन्दा करिब पाँच महिनाअघि सुवासले उनलाई भनेका थिए, ‘एकदिन मेरा साथीहरूले तिमीलाई राजनीतिमा ल्याउने छन् ।’ उनी यतिबेला बुवाको सपना पूरा गर्न लागेका छन् । बुवाकै क्षेत्रमा अत्यधिक मत पाएर जितेपछि झन् उनी अझै हौसिएका छन् । पहिला बावुकै कानुन व्यवसायी पेसा रोजेका उनको काँधमा राजनीतिक जिम्मेवारी पनि थपिएको छ । इलाम २ को नतिजाले अब उनलाई बुवाकै पदचाप पछ्याउने बाटो तय गरेको छ । ‘बुवाले सिकाएको निष्ठा र इमानको बाटोमा निरन्तर हिंड्नेछु,’ उनले भने, ‘अबको मेरो प्राथमिकता सुशासनतर्फ हुन्छ ।’

प्रकाशित : वैशाख १८, २०८१ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?