कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ : रास्वपा

'निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको चुनावी मतपरिणाम सार्वजनिक भएपछि रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएका हुन् । 

इलाममा बजेको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ : रास्वपा

महामन्त्री ढकालले भनेका छन्, 'पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।'

नतिजा पार्टीको अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको सदैव सम्मान गर्ने रास्वपाले जनाएको छ । साथै महामन्त्री ढकालले नेकपा एमालेका विजयी उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिँदै जनअपेक्षाअनुरुप कार्यसम्पादन हुनेछ भन्ने कामना गरेका छन् ।

इलाम-२ मा सुहाङले २७ हजार ७ सय ७२ मत ल्याई विजयी हुँदा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरे । लिम्बूले धरौटीसमेत जोगाउन सकेनन् । रास्वपाले इलाम निर्वाचनलाई प्रतिष्ठाको विषय मात्र बनाएको थियो । मिसन-०८४ घण्टी इलामबाटै बज्ने गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलगायतका केन्द्रीय नेताहरूले उद्घोष गरेका थिए । इलाम-२ मा कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत ल्याउँदा पहिचानपक्षधर डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।


प्रकाशित : वैशाख १८, २०८१ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?