इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघ्यो
इलाम — इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ५ हजार ५ सय ९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
राम्रै मत ल्याउने आशा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी भने निकै पछि परेको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बू १ हजार ४ सय ४३ मत ल्याएका छन् ।
इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए जसमध्ये ६९हजार २ सय ८७ मत खसेको थियो । जसमध्ये २४ हजार ७ सय ३८ मत गणना गरिएको छ । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई सय ५८ ल्याएका छन् ।
अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा हृदयाघातले निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट खड्का दोहोर्याएर उठेका थिए । यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । गठबन्धनविहीन नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए ।
प्रकाशित : वैशाख १७, २०८१ १०:११