२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सुनाकोठीमा बालकुमारी जात्रा सुरु

काठमाडौँ — सुनाकोठीमा बालकुमारीको खट जात्रा सुरू भएको छ । जात्रा चैत शुक्ल त्रयोदशी अर्थात आइतबारदेखि मंगलबार (पूर्णिमा) सम्म मनाइने गरिन्छ । जात्राको पहिलो दिन स्थानीयबासी मिलेर ललितपुर महानगरपालिका–२७ स्थित भृगारेश्वर महादेव मन्दिरको पश्चिमपट्टि रहेको ‘योसी गाले’ मा नागराजाको प्रतिकको रूपमा ६४ हात अग्लो योसी (लिंगो) ठ्याइएको छ ।

सुनाकोठीमा बालकुमारी जात्रा सुरु

नेपाल भाषामा योसी गाले भन्नाले परम्परागत लिंगो गाड्ने ठाउँ बुझिन्छ । पहिलो दिनलाई स्थानीयबासीले ‘छ्योला बू’ भनी उत्सव मनाएका छन् । योसी उठाउनुअघि बालकुमारी गुठीका गुठियारले ‘योसी गाले’ मा विधिवत रूपमा पूजा गरेका थिए ।

ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले लंगो उठाउने र ढाल्ने क्रममा मानवीय क्षति नहोस् भनी क्षमापूजा गरिएको बताए ।

योसी ठडयाउँदा गुठीयारहरूले बालकुमारी मन्दिर प्राङ्गणगनमा बसेर इन्द्र बाजा बजाएर स्वागत गरेका थिए । योसीको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र कागतीले राखिएको छ । जात्राको अवसरमा भृगारेश्वर मन्दिर परिसर रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । स्थानीय इन्द्र बाजा खलक काशीलाल महर्जनका अनुसार जात्राको दोस्रो दिन सोमबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्ति मन्दिर बाहिर ल्याइ पूजा गरेर गरगहनाले सजाइन्छ । साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी जात्रा गरिन्छ । र बेलुका बालकुमारीको खटलाई पीठमा लैजान्छन् ।

अन्तिम दिन छ्यास टोलमा बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । जुन जात्राको मुख्य आकर्षणको रूपमा लिइन्छ । अन्तमा धौ बजी खेल टोलमा चारै वटा खटलाई आपसमा जुधाएर जात्रा गरिन्छ । र पूर्णिमाको दिन योसी ढालिन्छ । अन्तिम दिन योसीको टुप्पोमा राखिएको कागती प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ । कागती पाउन स्थानीयबीच ताछाड मछाड हुने गर्छ ।

प्रकाशित : वैशाख ९, २०८१ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?