कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आँसुका ‘दास्तान’ हरू

 एक विन्दुमा पुगेपछि गहिरो कुलतमा फसेकाहरू पनि त्यसबाट मुक्ति चाहन्छन्, तर परिवार–समाजको गम्भीर सहयोगबिना तिनको मुक्ति असम्भव छ 
रवीन्द्र केसी

रोशनीको घर नेपालको सीमावर्ती सहरमा थियो । परिवार सम्पन्नै थियो । बुबा इन्जिनियर, आफ्नै निर्माण कम्पनी थियो । उनी एक मात्रै सन्तान थिइन्, सबैको आँखाकी नानी । महँगो स्कुलमा बायोलोजी पढ्दै थिइन् । डाक्टर बन्ने सपना थियो, क्यान्सर स्पेसलिस्ट बन्न चाहन्थिन् । बाआमा खुसी नै थिए । बाल्यकाल लाडप्यारमै बित्यो । किशोरवय पनि सुखदै गयो । 

आँसुका ‘दास्तान’ हरू

यौवनमा गुलाबी रङ भरिँदै गयो । सयपत्रीजस्तो फुल्दै गइन् । त्यो सुन्दर रूपको आभामा सम्मोहित नहुने कोही थिएन । १२ कक्षा पढ्दै थिइन्, जिन्दगीमा गम्भीर मोड आयो । अर्कै फ्याकल्टीको केटो राजुको प्रेममा परिन् । छोटै समयमा उनीहरू एकअर्काका सपना भए । पुग्ने गन्तव्य र फैलने क्षितिज भए । एकअर्काबिनाको जिन्दगी कल्पनै गर्न नसक्ने स्थितिमा पुगे ।

सहरमा लागूऔषधको कहर थियो । दुवैका मनमा किशोर जिज्ञासा थिए । उनीहरू त्यही कहरमा परे– गाँजा, चरेस हुँदै ब्राउन सुगरको कुलतसम्म पुगे । रोशनीसँग पैसा थियो भने राजुसँग साथी, संगत र सम्पर्क । एक वर्षसम्म ‘सामान’

(लागूऔषध) जुटाउने समस्या भएन । संकट तब भयो, जब राजु ब्राउन सुगरसहित पक्राउ पर्‍यो । त्यसपछि रोशनीसँग कुनै उपाय भएन । लागूऔषधको आदतले दास बनाइसकेको थियो, त्यसैका लागि उनको संगत, व्यवहार र दैनिकी सबै बदलिँदै गयो ।

अध्ययनको बाहना गर्थिन्, कहिलेकाहीँ रातै पनि बाहिर बिताउँथिन् । छोरी बदलिएको देखेर बुबाको मनमा चिसो पस्दै गयो । केही दिनदेखि उनलाई पछ्याउन थालेका थिए । एकदिन धनगढीको जोखर ताल पुगे । अरू किशोर–किशोरीहरूसँगै छोरीलाई लट्ठिएको भेटे ।

छोरीको त्यो हालत अकल्पनीय थियो । उनको ओठतालु सुक्यो । रन्थनिँदै झाडीको ओझेल परेर बसे । निधारको पसिना पुछे । छोरीलाई घिच्याएर लैजाउँ कि नदेखेझैं गरेर हिँडौं, गहिरो दुविधामा परे । आफ्नै आँखाको पानीले भिज्दै गए । अन्तत: छोरीलाई त्यही हालमा छोडेर हिँडे ।

साँझपख छोरी थकित मुद्रामा घर आइन् । बुबा–आमाले उनलाई निकै सम्झाए । तर, भोलिपल्ट छोरीको कोठाको ढोका खुलेन । दुवै खङ्ग्रङ्ग हुँदै दौडिए । ढोकाबाहिर कागजको चिर्कटो फेला पर्‍यो । त्यो ‘सुसाइड नोट’ थियो । उनले लेखेकी थिइन्– ‘बाबा, जिन्दगी खरानी भइसकेको पत्तै भएन । अब त म ब्राउन सुगर नभई बाँच्नै सक्दिनँ ।....फेरि आफ्नै पेटमा कुन दुर्व्यसनी भ्रूण हुर्किंदै छ भन्ने पनि थाहा छैन । यति लाचार र चरित्रहीन भएर बाँच्न सकिन । यो जिन्दगी यहीं बिसाएँ बाबा । अर्को जन्म पाएँ भने म असल छोरी हुनेछु । अधुरा छोडेका सबै सपना पूरा गर्नेछु । सरी मामा, सरी पापा !’

यसरी एउटा कोपिला बीच वसन्तमै झर्‍यो । उसले अपहत्ते गरी । बाआमाको सपना खरानी भयो ।

...

कुशललाई पुनर्स्थापना केन्द्रबाट भर्खरै घर ल्याइएको थियो । आमाले दुःखजिलो गर्दै जोगाएर राखेको पैसा, फुकालेर राखेका गहना, बाबु जीवित हुँदा पाएका बहुमूल्य उपहार र घरका हाँडाभाँडा समेत उसले बेचेर खाइसकेको थियो । आफन्तहरूलाई पनि निकै सताएको थियो । तर, त्यस्तो बिग्रेको छोरो अहिले अर्कै भएर आएको थियो । आमाको खुसीको सीमा थिएन ।
अलि पछि उसले पोर्चुगल जान्छु भन्न थाल्यो । छोराले जिम्मेवारीबोध गर्न थालेको आभाषले उल्लासित भइन् उनी । जेठो छोरोको कुनै चिन्ता थिएन । ऊ नजिकैको कलेजमा लेक्चरर थियो । उसैको सञ्चयकोषबाट केही रकम निकाले, बाँकी रकम घडेरी बैंकमा राखेर मिलाए । एजेन्टलाई १५ लाख बुझाए र उसलाई पासपोर्ट बनाउन पठाए ।
अचानक एक दिन फेरि ऊ घर आएन । जे डर थियो, त्यही भयो । दोस्रो दिन साँझ फेरि ऊ झुल्दै आइपुग्यो । रोग, शोक र बुढेसकालले गलिसकेकी आमाको मन कर्कलोजस्तै फतक्क गल्यो । उनी बोल्नै सकिनन् । दाजुले सामान्य सोधपुछ गर्‍यो, यही क्रममा उसले विस्मित भावमा भन्यो –
‘सरी मामु । एकपटक लत बसिसकेपछि तलतल कहिल्यै नमेटिने रहेछ । म त सुध्रिन खोजेकै थिए, हरभरी यति धेरै दुर्व्यसनी छन् कि जो भेटे पनि ‘खाऊँ न खाऊँ’ भनेर जिद्दी गर्छन्, समाजबाट कति दिन भाग्न सक्थें र ममी ? मैले हारेँ, ब्राउन सुगरले जित्यो ।’
आमाका फेरि उस्तै दुःखका दिन सुरु भए । ऊ पैसाको लागि पहिलेजस्तै झगडा गर्न थाल्यो । दाजुको सामान्य जागिरले उसको दैनिक चार हजार–पैंतालिस सयको खर्च धान्न सकिने कुरा थिएन । दाजु–भाइको झगडा बढ्दै गयो । एक दिन बिहान सासू–बुहारी भान्सामा थिए । लिभिङ रूमबाट दाजुले चिच्याएको आवाज सुनियो । दुवै दौडेर गए । ऊ रगतको पोखरीमा डुबिसकेको थियो । नजिकै रगत लागेको दुईधारे छुरा थियो । दाजुको हेर्दा हेर्दै प्राण गयो । लगत्तै ऊ पनि पक्राउ पर्‍यो । अचेल ऊ जन्मकैदको सजाय भोगिरहेछ । बुहारी मध्य–जवानीमै विधवा भएकी छन् । आमा दुबै छोरा गुमाएर तिनै बुहारीको आश्रयमा लाचार बुढेसकाल झेलिरहेकी छन् ।

..........

छोराले प्लस टु पास गर्‍यो, तर जागिर पाएन । आफ्नै काम गर्छु भन्यो । उनले गरगहना र भएको एक कट्ठा जग्गा बन्धकी राखेर चार लाख रुपैयाँ दिइन् । छिमेकी देशको सिमाना नजिक दोधारा–चाँदनीमा

सानो एकतले घर थियो । उसले घर नजिकै अस्थायी टहरो बनायो । त्यसमा दुई सय कुखुराका चल्ला हाल्यो । पारि कुखुरा सस्तो भएको बेला उताबाट यता ल्याएर बेच्थ्यो, उता महँगो भएको बेला यताबाट उता लगेर । छोटै अवधिमा निकै तरक्की गर्‍यो । मोटरसाइकल किन्यो, जग्गा निखन्यो । हेर्दाहेर्दै ऊ सफल युवा उद्यमी भयो ।

भाग्यले जवानीमै विधवा बनाइदिएको थियो उनलाई । सन्तानको नाममा त्यही एउटा छोरो थियो । उसले सारा दु:खकष्ट भुलाएको थियो । त्यो गर्भे टुहुरोको रगरगी र चकचकी देखेर उनको भुइँमा खुट्टा थिएन । जिन्दगी सुखले चल्दै थियो । तर, एक दिन अचानक ऊ बेपत्ता भयो । सबैतिर खोजिन्, फेला परेन । तेस्रो दिन ऊ महाकाली नदीको पुलमुनि लट्ठ परेको अवस्थामा फेला पर्‍यो ।

छोराको हालत देखेर आमा क्षतविक्षत भइन् । आफन्तको सहयोगमा घर ल्याइन् । मैला कपडा खोल्न लगाइन् । खल्तीमा साना–साना ३–४ वटा पोकाहरू फेला परे । मनको शंका थप पुष्टि भयो । फुटेको सिसाजस्तै छाती चर्कियो । मुटुमा भक्कानो पार्दै छोरालाई हेरिन्– मस्त निद्रामा थियो । कुनामा बसेर धरधरी रोइन् । ऊ ब्युँझियो । प्यान्ट खोज्न थाल्यो । ‘मेरो सामान खोइ’ भनेर झगडा गर्न थाल्यो । निकै बेरसम्म उनी बोल्न सकिनन् । पछि रुँदै–रुँदै सम्झाइन् । तर, उसले कुनै प्रतिक्रिया जनाएन, ‘सुत्छु’ भनेर कोठातिर गयो ।

भोलिपल्ट बिहान उज्यालो नहुँदै ऊ कोठामा आयो । र्‍याल–सिंगान लिएर थरथर काँप्दै भन्न थाल्यो– ‘मामु रातभरि झिमिक्क निदाएको छैन । हथौडाले हानेजस्तै गरी हड्डी दुखेको छ । सासै रोकिएला जस्तै भएको छ, म मर्छु मामु । प्लिज मेरो सामान दिनुस् । यत्रो पीडा खपेर म बाँच्न सक्दिनँ ।’

आमालाई करेन्ट लागेझैं भयो । ती पोकाहरू

झ्यालमा राखेकी थिइन्, उसले हत्तपत्त समायो । उनकै अगाडि नोटले बेरर सर्को लियो । उनले रोक्न सकिनन्, हरेको हेर्‍यै भइन् । त्यसपछि ऊ सारसौंदो भएर बाहिर निस्क्यो । तर, फेरि फर्केर आएन ।

मातृत्व जति चोखो, निष्कपट र लाचार के हुँदो रहेछ र ? उनी फेरि छोराकै खोजीमा भौंतारिन थालिन् । मनमा गहिरो निराशा थियो, छातीमा असीम पीडा । तैपनि छोरालाई सुधारौंला भन्ने आशा मरिसकेको थिएन । खोजी जारी नै थियो । केही दिनपछि सिमानापारिको जंगलमा उसको लास भेटियो । १८ वर्षमै उसले सदाका लागि छोडेर गयो ।

छोरो मरेकै दिनदेखि उनी ‘पागल’ भइन् । अचेल ती वृद्धा आमा नाङ्गैबुङ्गै उफ्रिँदै हिँड्छिन् । उनलाई डर छैन, लाज छैन, घिन छैन, केवल छोरोकै चिन्ता छ । उनी जता मन लाग्यो, उतै हिँड्छिन् । कहिले डाँको छोडेर रुन्छिन्, कहिले गीत गाउँछिन् । आफ्नो परवाह छैन, मृतक छोराको माया अपार छ ।

...

माथि उल्लिखित दृष्टान्त हाम्रै समाजका प्रतिनिधिमूलक मर्मस्पर्शी यथार्थ हुन् । कलिला किशोर–किशोरीका अवसानका कथा हुन् । बाबुआमा र आफन्तका कहिल्यै नसुक्ने आँसुका ‘दास्तान’ हरू हुन् । कथाहरू अझै छन् र ती अझै कारुणिक छन् ।

हाम्रो सीमावर्ती मध्यतराईका हिरासतहरूमा सालाखाला ६० प्रतिशत थुनुवा लागूऔषधसँग सम्बन्धित हुन्छन् । ठूलो संख्यामा सेवनकर्ताहरू हुने गर्छन् । ती अधिकांश किशोर हुन्छन् । कुपोषणले ग्रस्त हुन्छन् । रोगप्रतिरोधी क्षमता पनि ज्यादै कम हुन्छ । हिरासतमै ‘सिकेनस’ का गम्भीर लक्षण देखापर्छन् । कसै–कसैलाई दैनिक ३–४ पटकसम्म पनि अस्पताल लैजानुपर्छ । तैपनि बचाउन सकिँदैन । अकाल मृत्युवरण गर्छन् ।

दु:खको कुरा अब यो केही सीमावर्ती क्षेत्र, निश्चित सहरमा मात्रै सीमित छैन । हुम्ला र डोल्पा जस्ता विकट भूगोल र दूरदराजका गाउँसम्म पनि पुगिसकेको छ ।

कैयौं युवा यसको लपेटमा परिसकेका छन् । तर, के यसका लागि तिनै किशोर–किशोरी मात्रै जिम्मेवार छन् ? कि हामी पनि कतै चुकेका छौं ? अब गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ ।

समाजमा जर्जर विपन्नता छ । परिस्थितिहरू कठिन छन् । बाध्यताहरू जटिल छन् । कहिले जीवन निर्वाहको संघर्षपूर्ण व्यस्तता, कहिले छोराछोरीप्रतिको अतिविश्वास र हेलचेक््रयाइँले हामीले उनीहरूलाई समय दिन सकेका छैनौं । बच्चाहरूको स्कुल–कलेज,

साथी–संगति, दिनचर्या र जीवनशैलीबारे खासै जानकारी राख्दैनौं । जब उनीहरू कुलतमा फसिसकेका हुन्छन्, त्यसपछि थाहा पाउँछौं र नराम्रोसँग पछुताउँछौं । यसरी हेर्दा गल्ती घरैदेखि सुरु हुन्छ । पछि त्यो दुर्व्यसन महामारी जस्तै फैलिन्छ ।

आजभोलि गाँजामाथिको प्रतिबन्ध खुल्ला गर्नुपर्ने कुरा चल्न थालेका छन् । तर, यो कुरा गर्दैगर्दा यसैको जरियाबाट गुमेका कैयौं जीवन, उजाडिएका घर र परिवारजनका छातीका गहिरा घाउलाई नजरअन्दाज गर्न मिल्दैन । किनभने दुर्व्यसन सामान्यतया चुरोट, गाँजाबाटै सुरु हुन्छ । क्रमश: चरेस, ट्याब्लेट हुँदै इन्जेक्सन, हेरोइन र महँगा लागूऔषधसम्म पुग्छ । जहाँ यो आगो सल्केको हुन्छ, त्यहाँ कैयौं जिन्दगीलाई जिउँदै खरानी बनाएको हुन्छ । क्षति अपूरणीय हुन्छ । चोट अकल्पनीय हुन्छ ।

लागूऔषध नियन्त्रणको विषय सधैं सरकारहरूको प्राथमिकतामा पर्दै आएका छन् । सचेतना अभियान–महाअभियानहरू पनि चल्दै आएका छन् । आपूर्ति तथा माग नियन्त्रण र कानुन कार्यान्वयनको अवस्था पनि राम्रै छ । तर, समस्या किन यति विकराल हुँदै गइरहेको छ ? कतै यसप्रतिको हाम्रा बुझाइ, प्रतिकार्य र कानुनहरू नै समयसापेक्ष नभएका त होइनन् ? अब ढिलो नगरी समीक्षा गर्नु आवश्यक छ । त्यहीअनुसार राज्यका स्रोत, साधन र संयन्त्र परिचालन गर्नुपर्छ ।

अध्ययनले के देखाउँछ भने– समयको एउटा बिन्दुमा पुगेपछि गहिरो कुलतमा फसेकाहरू पनि यसबाट मुक्त हुन चाहन्छन् । तर, उनीहरूले मात्रै चाहेर सम्भव हुँदैन । यसका लागि परिवारको सहयोग चाहिन्छ । ‘क्रोनिक’ हरूलाई पुन:स्थापना केन्द्रमै राखेरै उपचार गर्नुपर्छ, मानसिक रूपले सबल बनाउनुपर्छ । गुमेको आत्मविश्वास फेरि जगाउनुपर्छ । तर, हाम्रो आम चेतना त्यति गहिरो छैन । हामी दुर्व्यसनीलाई ‘नखा’ मात्रै भन्छौं, तर नखाई ऊ बाँच्न सक्छ कि सक्दैन ? बुझ्दैनौं, केवल गाली गर्छौं । हाम्रै व्यवहारले उनीहरू घरबाट टाढिँदै जान्छन् । कोही अपराधी बन्छन्, कोही जेलभित्रै सड्छन् । कत्ति घाँटीमा पासो लगाएर मर्छन्, कति खोलाका पुल, कल्भर्ट, बगरमा गुमनाम मृत्युवरण गर्छन् ।

यो महामारीसँग लड्नुपर्ने अरू पनि थुप्रै क्षेत्र छन् । तर, यहाँ मैले पुन:स्थापनाबारे जोड दिएको छु । हाम्रो देशमा पुन:स्थापना केन्द्र खासै छैनन् । नेपाल प्रहरीको सक्रियतामा काठमाडौं, सुनसरी र कैलालीमा सञ्चालित छन् । कतै निजीस्तरमा पनि खुलेका छन् । तर, पीडादायी कुरो के छ भने आम मानिसको आर्थिक हैसियत त्यति शुल्क तिर्न सक्नेसम्मको पनि छैन । त्यसैले उनीहरू मनमा गाँठो पार्छन् र सन्ततिलाई भगवान्को जिम्मा लगाइदिन्छन् । त्यसपछि ऊ मृत्युको बाटोमा बरालिँदै जान्छ । कुनै एकलास ठाउँमा पुगेर एकदिन बेवारिसे मृत्यु मर्छ । कैयौ किशोर–किशोरी यस्तै दु:खद् नियति बेहोरिरहेका छन् ।

हाम्रासामु यी अकाल मृत्यु रोक्नुपर्ने गम्भीर चुनौती छ । यसका अनेक आयाम छन् । गर्नुपर्ने काम धेरै हुन सक्छन् । तर, एउटा आधारभूत काम भने तत्काल गर्नुपर्ने हुन्छ । सबै प्रदेश र जिल्ला–जिल्लामा नि:शुल्क सरकारी पुन:स्थापना केन्द्रहरू खोल्नुपर्छ, भुइँमान्छेले पनि सहज सेवा पाउनुपर्छ । यति मात्रै भयो भने पनि बाटो बिराएका कयौं किशोर–किशोरी गुमनाम मर्ने छैनन् । अनि चरम निराशा बोकेर कुलतको अँध्यारोमा बाँचिरहेकाहरू पनि अकाल मृत्युको बाटोमा भौंतारिनुपर्ने छैन । उनीहरूलाई जीवनको उज्यालोतर्फ डोर्‍याउन सकिन्छ ।

(केसी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय घनगढीमा कार्यरत छन्)

प्रकाशित : वैशाख २२, २०८१ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?