मरणोपरान्त मार्खेज
सन् २०२४ मार्चमा प्रकाशित ‘अन्टिल अगस्ट’ लेखक गाब्रिएल गार्सिया मार्खेजको मरणोपरान्त उपन्यास हो । सन् १९८२ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका मार्खेजको सन् २००५ मा छापिएको ‘मेमोरिज अफ माई मेलनकोली होर्स’ उनकै जीवनकालमा प्रकाशित अन्तिम उपन्यास थियो ।
‘अन्टिल अगस्ट’ को पहिलो खण्ड मार्खेजले निकै वर्षपहिले साहित्यिक समारोहमा वाचन गरेर ‘न्युयोर्कर’ लगायत पत्रिकामा छपाइसकेका थिए । मार्खेजको निधनपश्चात् यो सानो उपन्यासीका छाप्ने कि नछाप्ने निर्णय गर्न उनको परिवारलाई सकस पर्यो । अन्तत: उनीहरूले छाप्ने निर्णय गरे । उपन्यासको आधिकारिकता वा वैधतामा विवाद नहोस् भनेर अनुवादक र परिवारका सदस्यले चनाखो भएर स्पष्टीकरण दिएका छन् । आधिकारिकताको आशंका छिचोल्न सहज होस् भनेर स्पेनिश पाण्डुलिपिका चार पेज अनि पाण्डुलिपिको गातासमेत उपन्यासको सुरु र अन्त्यमा छापिएको छ । नेपालमा सन् १९९० को दसकदेखि मार्खेजले टेक्स्ट बुकमा प्रवेश पाए, ‘द हेरिटेज अफ वर्ल्ड’ मार्फत । प्रवीणता प्रमाण पत्र तह अर्थात् प्लस टुमा अनिवार्य अंग्र्रेजी पाठका रूपमा उनको कालजयी उपन्यासको अंश अहिले पनि पढाइ हुन्छ । नारायण ढकालका मार्खेजबारेको टिप्पणी ‘शोकमग्न यात्री’ र ‘अन्तिम पात’ निबन्ध पढेकाले नबिर्सिसकेको हुनुपर्छ ।
मार्खेज पढेर त्यही अन्दाजमा लेख्न सक्ने कोटिका साहित्यिक हुन्, कुमार नगरकोटी । उनको पछिल्लो पुस्तक ‘जोगियाना’ मा मार्खेजबारे गजबको लेखनी छ, विशेष उनको ‘वेश्या’ हरूसँगको अनिन्ध आकर्षणबारे । उनले मार्खेज बितेको वर्ष आफ्नो बुवाको श्राद्ध गर्दा पूर्वजका रूपमा मार्खेजको पनि नाम बताएको उल्लेख गरेका छन् । नगरकोटी लेख्छन्– मेरा पूर्वजको सूचीमा मार्खेजको जस्तो नाम–थर भएको कोही नभएको भन्दै पुरेतले प्रतिप्रश्न गरे । म एउटा साहित्यिक, मलाई उनी औधी मन पर्छन्, साहित्यका मेरा पिताजी सरह । अनि उनी बितेर गएपछि मैले उनको पनि श्राद्ध गर्नुपरेन त ! २० औं शताब्दीमा उपन्यास लेखनमा कायम रहेको युरोपियन दबदबालाई मार्खेजले यसरी हल्लाइदिए कि त्यसपछि उपन्यास लेखनको शैली नै बदलियो । सलमान रुस्दीले उनलाई चार्ल्स डिकेन्स यता सर्वाधिक पढिएको र रुचाइएको उपन्यासकारको उपमा दिएका छन् । फिडेल क्यास्ट्रोसँग लेखकीय दोस्ती रहेका मार्खेजको साहित्य आफूले पढेको अमेरिकी राष्ट्रपतिहरू बाराक ओबामादेखि बिल क्लिन्टनसम्मले सार्वजनिक रूपमा बताएका छन् ।
‘वान हन्ड्रेड एअर्स अफ सोलिच्युड’ लाई म्याजिकल रियालिज्मको बाइबल मान्नेहरूको कमी छैन । संसारैभर फैलिएका बनिबनाउ पाठकको जमात उनले सिर्जने क्यारेबियन द्वीपका टापु र तलाउहरूको सुन्दर प्राकृतिक वर्णन, त्यही परिवेशमा मानवीय संवेदनालाई माया–घृणा–धोकाका अनेकन रसमा घोलेर पेस गर्ने उनको जादुई शैलीको फ्यान छन् ।
‘अन्टिल अगस्ट’ को अन्तिमतिरको खण्ड यही उपन्यासको सुरुवातजत्तिकै दमदार छैन । यसको मध्यसम्मको प्लटले पाठकलाई मन्त्रमुग्ध पारिसकेको हुन्छ । यो उपन्यासमा मार्खेजले पहिलो पटक महिला पात्रलाई नायिकाको स्थानमा राखेका छन् । उनका अरू उपन्यासमा यस्तो हक पुरुषहरूले मात्रै जमाउँथे । आफ्नी आमाको तिथिमा उनको चिहानमा फूल चढाउन प्रत्येक वर्ष अगस्ट महिनामा जानु यो उपन्यासको नायिकाको वार्षिक नियमित हुन्छ । आठ वर्षसम्म त्यस्तो कुनै घटना घट्दैन, तर यो उपन्यास सुरु भएको वर्ष भने विशेष घटना घट्छ । नवौं वर्षदेखि आमाको चिहान भएको टापु पुग्दा र त्यहाँका होटलहरूमा बास बस्दा प्रत्येक साल उनको अलग–अलग पुरुषसँग सम्पर्क स्थापित हुन्छ । हरेक साल नयाँ पुरुषसँग संसर्ग हुँदा उनको विवाहित जीवन–इतरको सम्बन्धका रहस्य र आयाम उद्घाटित हुँदै जान्छन् । त्यसकारण व्यावसायिक रूपमा धेरै घुमी हिँड्नुपर्ने उनको २७ वर्षदेखिको लोग्नेप्रति अविश्वास बढ्छ । उपन्यास यसरी अगाडि बढ्छ । ती दम्पतीका छोरा र छोरीको परस्परविरोधी व्यक्तित्व र रुचि पनि उपन्यासमा आएका छन् ।
उपन्यासको नायिकाको नाम अन्ना माग्दलेना वाच हो । माग्दलेना मार्खेजले बाल्यकालमा स्कुल जाँदा नित्य पार गर्नुपर्ने नदीको नाम हो । यो नदीको प्रसंग मार्खेजको उपन्यास ‘द जनरल इन हिज लेबरिन्थ’ मा आएको थियो । त्यस्तै ‘लभ इन द टाइम अफ कोलेरा’ का वृद्ध प्रेमीहरूको मिलन पनि त्यही नदी तटमा हुन्छ । यसले देखाउँछ पात्रको नाम चयनमा समेत उनी आफ्ना बाल्यकालीन स्मृतिदंशको बारम्बार उपयोग गरिरहेका हुन्छन् । यसरी उनी पाठकलाई आफ्ना पुराना उपन्यासका पात्र र परिवेशसँग जोड्छन् । सिद्धहस्त लेखकको पात्रले पनि नाम चयनदेखि उपन्यासको परिवेशमा सूक्ष्म, तर प्रभावकारी रूपमा कार्य गरिरहेका हुन्छन् भन्ने कुराको यो गजब उदाहरण हो ।
भर्खर–भर्खर इजरायलले राज्यको आकार ग्रहण गरेको समयको परिवेशमा लेखिएको बीपी कोइरालाको ‘हिटलर र यहुदी’ अपूर्ण उपन्यास मानिन्छ, तर त्यो पढ्नुको मज्जा आज इजरायल–प्यालेस्टाइन द्वन्द्वका बेला पनि उस्तै प्रभाव उत्तेजक छ । विश्व साहित्यमा रुचि राख्ने नेपाली पाठकका लागि मार्खेजले नौला क्यारिबियन टापुहरूमा बुनेको स्वतन्त्रता, पश्चाताप र प्रेमिल रहस्यहरूको तिलस्मी चित्रणको आनन्द लिने कार्यमा ‘अन्टिल अगस्ट’ ले निराश भने पार्दैन ।
फ्रान्ज काफ्काले आफ्ना अप्रकाशित रचना नष्ट गर्न गरेको आग्रह परिवारले मानेको भए ‘द ट्रायल’ जस्तो कृतिबाट विश्वसाहित्य विमुख हुनेरहेछ । ७७ वर्षको उमेरमा सन् २००४ मा मार्खेजले यो उपन्यासमाथि अन्तिम पुनर्लेखन गरेको देखिन्छ । र, त्यति नै बेला उनले छोराहरूलाई ‘यो पुस्तकले काम गर्दैन, यसलाई नष्ट गर्नुपर्छ’ भनेका थिए । अब उनको इच्छा विपरीतै सही, यो उपन्यास पाठकको हातमा संसारैभर पुगेको छ । बिस्तारै पाठकले ‘यो छापिनु उचित नै थियो’ भन्ने सावित गरेका छन् ।
‘अन्टिल अगस्ट’ प्रति पाठक जमातको अपनत्वले दिएको सन्देश के हो भने सिकारु कलाकारको पूर्ण कलाभन्दा सिद्धहस्त कलाकारको अपूर्ण कला नै ज्यादा प्रभावी हुन्छ । अब साहित्यका जोकोही पाठक मार्खेजको अन्तिम उपन्यास पढेर उनको अपूर्ण कलाको भरपूर आनन्द लिन सक्छन् ।
प्रकाशित : वैशाख २२, २०८१ ०८:२३