एकान्त आलाप
यो मन भन्छ—
अनिश्चितता बोकेको
एकबारको यो जिन्दगी बाँच्न
सहरको कुनै सुख चाहिँदैन,
चाहिँदैन कुनै विलासी ठाउँ
बरु, आफ्नै थातथलो–
जहाा तिम्रो न्यायो साथबाहेक
घामपानी छल्ने सानो ढुंगेघर होस्
बर्खामा घरको छानोबाट झर्ने बलोसी
पिँढीमा बसेर मस्तसँग हेर्न पाइयोस्
बलेनीमा सन्तुष्टिका बाछिटाहरु
गौथलीझैं नाचेको हेर्न पाइयोस् ।
सुर्केबारीमा फुल्दै गरेका
फर्सी र घिरौँला झालहरु हेर्दै
गोलभोडा र खुर्सानी टिपेर
मायाको चट्नी पिस्न पाइयोस्
र, मायाको मिठो चटनीसँग
जिन्दगीका गाँसहरु निल्न पाइयोस्
बस्, जिन्दगी सार्थक बन्छ
हो, मेरो मन यस्तै सोच्छ....!
मेरो मनमा—
असारका बटिला
तिहारमा पाक्ने छेको पारेर
हुर्किएका सुन्तलाले
एकछेको वसन्त पुनः बाँच्ने
अभिलाषा दिएर जान्छन्,
साउनको झरीमा
खेतहरुले गर्भधारण गरेजस्तो
अलौकिक अनुभूति हुन्छ
र, ती गर्भिणी खेत हेर्दै
हाम्रो वंशरुपी प्रेमको चिनो उमार्ने
तीव्र लालसा जागेर आउँछ
सत्य मायाको सीमा नाघेर जान्छ ।
यसरी नै मेरो परिकल्पनामा
सहरको सुख–सयल कतै तैरिँदैन
किनभने,
सहर त त्यो भीडको पहरा हो
जहााबाट जिन्दगीका सपनाहरु
दुर्घटनामा परिरहन्छन्
जहाँ भीडको बीच पनि मान्छेले
एक्लोपनको क्यान्सरसँग लड्नुपर्छ
जसको उपचार गर्नुभन्दा
त्यो भीडबाट भाग्नु नै बुद्धिमानी हो
त्यसैले मेरो मन
भीडबाट भागिरहेको छ ।
प्रकाशित : वैशाख ८, २०८१ ०९:४९