२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९
फिल्म समीक्षा

जटिल सम्बन्धको कथा - 'लक्जम्वर्ग लक्जम्वर्ग'

रीना मोक्तान

काठमाडौँ — गुड्दै गरेको कार्गो ट्रेनबाट फुत्तफुत्त बालकहरु फाल हान्दैछन् । ब्याग हुर्‍याउँदै ट्रेनबाट हामफालिरहेका उनीहरु स्कुल बंक गरेका विद्यार्थी हुन् । दुई जुम्ल्याहा दाजुभाइ पनि साथीहरुसँगै फाल हान्ने कोसिसमा देखिन्छन्, ट्रेनको पछाडिको ह्यान्डल समाएर सही समय पर्खँदैछन् । रातो रङको जर्सी पहिरेका कोला हुन् भने नीलो रङको जर्सीमा छेउतिर उभिएका छन्, वाश्या । सन् १९९८ तिरको युक्रेनको सहर लुब्नी पुर्‍याउने यो दृश्यसँगै पृष्ठभूमिमा कोलाको स्वरमा भ्वाइसओभर सुनिन्छ, 'मान्छेहरु भन्छन्-जुन छोरा आमाजस्तै देखिन्छ उ जन्मँदै खुशी हुन्छ । जुम्ल्याहा भए पनि वाश्या आमाजस्तै देखिन्छ, म बुवाजस्तै' !

जटिल सम्बन्धको कथा - 'लक्जम्वर्ग लक्जम्वर्ग'

अन्तोनियो लुकिचद्वारा निर्देशित फिल्म 'लक्जम्वर्ग लक्जम्वर्ग'को यो सुरुको दृश्यमै कोलाले वाश्या र आफूबीचको भिन्नता छुट्याइदिन्छन् । र, बुवाप्रतिको आफ्नो लगाव, आकर्षण बोलिदिन्छन् । कोला बुवालाई हिरो मान्छन् । यही दृश्यसँगै युक्रेनको यो फिल्मले २० वर्ष पछाडिको जवान कोला र वाश्याको जीवन देखाउँछ । वाश्या बिहे गरेर एक सन्तानको बुवा बनिसके र युक्रेनको प्रहरी भइसके ! यता आमासँगै बस्दै आएका कोलाले भने ग्याङ्स्टार बुवाको पथ पच्छ्याउने छनक देखाइसके । यात्री ओसार्ने बसका चालक कोला भित्रभित्रै ड्रग्सको व्यापारमा संलग्न भइसक्छन् । २० वर्षअघि परिवार छोडेर बेपत्ता भएका बुवा लक्जम्वर्गको अस्पतालमा जीवन र मृत्युको दोसाँझमा रहेको जानकारी पाउनसाथ कोला र वाश्याको जीवनमा आरोह-अवरोह आउँछ ।

१ सय ६ मिनेट लामो यो फिल्म बुवा र छोराको सम्बन्धमाथि केन्द्रित कथा होइन । हो, फिल्ममा कोलाले बुवाप्रति गरेको प्रेम देखाइएको छ । उनी तस्बिरमा बुवाको आकृति खोजी बस्छन् । बुवा लक्जम्वर्गमा रहेको थाहा पाउनसाथ पासपोर्ट बनाउन संघर्ष गर्छन् । फिल्ममा अर्का छोरा वाश्याले उनै बुवासँग गरेको घृणा र मनमा पालेको तुष पनि देखाइएको छ । फिल्मको क्लाइमेक्स दृश्यमा बुवाप्रतिको उनको भावनालाई, क्यासेटमा भेटिएको सुकेको पातमार्फत सरलरुपमा देखाइएको छ । वाश्याले त्यो पातलाई हातले निमोठेर फालिदिन्छन् ।

खासमा यो फिल्मले फरक स्वभावमा हुर्किएका दुई दाजुभाइको सम्बन्ध देखाउँछ । निर्देशक लुकिचले कोलाको कथाबाट फिल्मलाई अगाडि बढाएका छन् । डार्क कमेडी मिसिएको 'लक्जम्वर्ग लक्जम्वर्ग'ले दर्शक हँसाउँदै दाजुभाइको जटिल सम्बन्धलाई मनछुने कथामा पस्केका छन् । फिल्ममा कमिक दृश्य प्रशस्तै छन् । अर्कै पात्रलाई बुवा सम्झँदै आँशु चुहाइसकेपछि कोलाले भन्छ, 'मलाई थाहा थियो, केही त गलत छ भन्ने । त्यसैले म खुलेर रुन पनि सकिनँ'। फोटो खिच्दा कद नमिल्दा होस् या स्केटिङ गर्दाका दृश्य, फिल्मले अधिकांश दृश्यमा हँसाउने हरप्रयास गरेको छ । मोटो शरीरका पात्र स्वीमिङ पुलमा डुब्दा पानीको तह बढ्दै गएको दृश्य पनि हाँसो उत्पन्न गराउने किसिमकै छ । फिल्ममा यी दुई जुम्ल्याहा दाजुभाइबीचको प्रेमलाई निर्देशकले यति सुन्दर ढंगले फिल्ममा देखाएका छन् कि वियोगान्त यो कथाले मन लामो समयसम्म दुखाइरहन्छ ।

फिल्मको एउटा दृश्यमा एकअर्कासँग माफी माग्ने (फर्गिभनेस सन्डे) पारिवारिक जमघटबीच कोलाले वाश्याप्रतिको स्नेह पोख्छन्, 'तिमीलाई म कति प्रेम गर्छु, कहिल्यै भनिनँ । आइ लभ यु' । वाश्याले कोलाप्रति दर्शाएको प्रेमलाई भने सशक्त ढंगमा फिल्ममा व्यक्त गरिएको छ, त्यसमा निर्देशक लुकिचको बलियो कथ्यशैली झल्किन्छ ।

अभिभावकले सन्तानप्रति गर्नुपर्ने जिम्मेवारीमाथि पनि फिल्मले व्यंग्य गर्छ । अर्को दृश्यमा कोलाले भन्छ, 'सन्तानप्रति अभिभावक जिम्मेवार हुनुपर्छ भन्ने गर्छन् । तर सन्तान अभिभावकप्रति जिम्मेवार हुनुपर्छ कि पर्दैन ?' फिल्मले घरको मेरुदण्ड बलियो नहुँदाको असर कोलाको जीवनमार्फत देखाउँछ । कोला आमालाई तथानाम गाली गर्न पछाडि पर्दैन, आफूभन्दा ठूलालाई आदरसमेत गर्दैनन् । कोलाको ढाँडमा समस्या छ, त्यसैले उनी निरन्तर थेरापी गइरहन्छन् । कोलाको यही समस्यामार्फत घरको मेरुदण्ड बलियो नहुँदाको असरमाथि फिल्मले व्यंग्यात्मक रुपमा प्रहार गर्छ ।

सिगमन्ड फ्रायडको मनोविश्लेषणवाद सिद्धान्तमार्फत फिल्मको मुख्य चरित्रलाई हेर्ने हो भने उनीहरुको मनोविज्ञान र व्यवहारको फरकपन देखिन्छ । वाश्या इमान्दार छ, उनका लागि पैसा सबैथोक होइन । वाश्या सुशील छ, परिवारप्रतिको जिम्मेवारी काँधमा बोकेको छ । उनलाई समाजको मूल्य/मान्यता थाहा छ । त्यसैले त्यहीअनुरुप निर्णय लिन्छ । ट्रेनबाट कतिबेला उफ्रने भन्ने चेतना वाश्यामा छ । साथै, ट्रेनमा अड्किएको कोलालाई जोगाउन के गर्नुपर्छ ? वाश्याले जानेको छ । त्यसैले आफू ट्रेनबाट हाम फाल्नासाथ दौडँदै बुवासँग सहयोग माग्न पुगेको सुरुआतको दृश्यले नै यो प्रस्ट हुन्छ । तर, बुवालाई हेर्दै हुर्किएको कोला वाश्याभन्दा निकै फरक स्वभावको छ । कोला झनक्क रिसाइहाल्छन्, प्रतिक्रिया दिइहाल्छन् । कोलामा पैसाको मोह छ । कोला आफ्नो आवश्यकतामा मरिमेट्छ, आमाको कुरा नसुनी पासपोर्ट बनाउन लागिपर्छ । आफूले चलाउँदै आएको बसले वृद्धा महिला लड्दा उल्टै उनीमाथि नै खनिन्छन् ।

रातो र नीलो पहिरणले पनि दुई दाजुभाइबीचको यो मनोविज्ञान प्रकट गरिदिएको छ । फिल्मको सुरुदेखि अन्तिमसम्म रातो र नीलो रङलाई कलात्मक ढंगले प्रयोग गरिएको छ । अक्सर, कोला रातो रंगको ज्याकेटमा देखिन्छन् । रातो रङले बुवाप्रतिको उनले गर्ने प्रेम भावनामात्रै होइन उभित्रको आवश्यकता, आक्रोश र क्रूरता देखाउँछ । वाश्याले लगाउने नीलो रङले भने उनको बौद्धिकता, स्थिरता, शान्त स्वभाव देखाउँछ । ससुराले सम्पत्तिमाथि प्रश्न गर्दा वाश्या भन्छ, 'आखिरमा पैसा नै सबैथोक पनि त होइन' । उनीभित्रको बौद्धिकता यो दृश्यले बोलिदिन्छ । वाश्या ठूल्ठूला लाग्ने समस्यालाई पनि शान्त भएर सामना गर्छन् ।

युरोपेली समाज नेपाली दृष्टिकोणबाट हेर्दा व्यक्तिवादी लाग्ला । तर, त्यही समाजभित्रको एउटा परिवारमार्फत सम्बन्धहरुको जटिल भावना यो फिल्मले पस्कन्छ । आखिर छोराले बुवाप्रति गर्ने माया, आमाले सन्तानका लागि लिने निर्णय अनि दुई दाजुभाइबीचको प्रेम भावना त सबै समाजमा एउटै हुन्छ । साथै, एउटै परिवारमा जन्मिएका तर फरक स्वभावमा हुर्किएका पात्रहरुबीचको विविधता र त्यसभित्रको सौन्दर्य देखाउँदै यो फिल्मले प्रश्न गर्छ, 'हामी कसलाई हिरो मानेर पच्छ्याइरहेका छौं ?' कोलाले बुवालाई हिरो मानेर पच्छ्याउँदा कस्तो नतिजामा पुग्छ ? फिल्मले गजब्बसँग देखाउँछ ।

युद्धमा होमिरहेका युक्रेनका बुवाहरु अनि उनीहरुका परिवार यो फिल्ममा भेटिन सक्छन् । तर, मूलत: यो फिल्मले परिवारको महत्त्व, अभिभावकले सन्तानप्रति गर्नुपर्ने जिम्मेवारीलाई नै मुख्य विषय बनाएको छ । यो फिल्म नेपाली समाजसँग पनि मिल्दो देखिन्छ । कमाउनका लागि विदेशिएका पुरुष र उनीहरुको उपस्थितिमा हुर्कँदै गरेको पुस्ताको मनोविज्ञान फिल्ममा देखिन्छ । साथै, सन्तान हुर्काउनेजस्तो महत्त्वपूर्ण भूमिकामा खटिएका आमाहरुको जिम्मेवारी, प्रेम र लगनशिलता बोल्छ ।

सन् २०२३ मा युक्रेनमा प्रदर्शन भइ हालै ‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’मा देखाइएको यो फिल्मको सबैभन्दा सशक्त पाटो संगीत हो । कथा वाचनमा पार्श्व संगीतले महत्त्वपूर्ण भूमिका खेलेको छ । फिल्मको सुरुआतको दृश्य नै हेरौं । जब कोला ट्रेनमै अड्किन्छन् तब, वाश्याले बुवालाई कोलाबारे बताइदिन्छन् । त्यसपछि ग्याङ्स्टार बुवा कोलालाई जोगाउन गाडीहरुको लस्करसहित ट्रेन पछ्यान थाल्छ । त्यसपछि गायक बोनी एमको गीत पृष्ठभूमिमा गुञ्जन्छ,'ड्याडी, ड्याडी कूल' !

फिल्मको अर्को सशक्त पाटो कलाकारको अभिनय हो । अमिल नसिरोभले कोलाको आक्रोश, पात्रभित्रको दुविधा र आवश्यकतालाई अभिनयमार्फत पस्किदिएका छन् । उक्त चरित्रभित्रको जोखिम स्वभावलाई पनि अमिलले विश्वसनीय रुपमा पस्केका छन् । त्यस्तै, रमिल नसिरोभले वाश्याभित्रको शान्त स्वभाव, उक्त पात्रको स्थिरता र बौद्धिकतालाई पर्दामा जीवन्त बाँचिदिएका छन् ।

प्रकाशित : वैशाख २८, २०८१ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?