२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

नवलपरासीमा हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालनमा

काठमाडौँ — नवलपरासीको परासीस्थित हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालनमा आएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र हुन्डाई मोटर इन्डिया, लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

नवलपरासीमा हुन्डाईको एसेम्बलिङ प्लान्ट सञ्चालनमा

कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालस्थित आधिकारिक विक्रेताका रूपमा रहेको लक्ष्मी ग्रुपले शुक्रबारदेखि प्लान्ट सञ्चालनमा ल्याएको हो । ग्रुपले हुन्डाईको 'भेन्यु' मोडेलको कार सार्वजनिक गरेको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-६ मा १० बिघामा एसेम्ब्लिङ प्लान्ट बनाइएको छ ।

प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताए ।

'निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,' प्रधानमन्त्री दाहालले भने, 'देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।'

नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०८१ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?