२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आईसीपी सञ्चालनले व्यवसायी उत्साहित

नेपालबाट दुई वटा ट्रकमा प्लाइउड पठाएर ८८ बिघामा फैलिएको आईसीपी जाँचचौकीको शुभारम्भ 
रुपा गहतराज

नेपालगन्ज — ६ वर्षको निर्माण कार्यपछि नेपालगन्जमा सञ्चालनमा आएको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) ले व्यवसायी उत्साहित भएका छन् । नेपाल–भारतबीच सम्झौता भएको १८ वर्षपछि आईसीपी सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

आईसीपी सञ्चालनले व्यवसायी उत्साहित

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार ८८ बिघामा फैलिएको आईसीपीको नेपालबाट दुई वटा ट्रकमा प्लाइउड पठाएर जाँचचौकीको शुभारम्भ गरे । आईसीपी सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने मन्त्री भण्डारीले बताए । ‘एकीकृत जाँचचौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजस्वमा वृद्धि हुनेछ,’ उनले भने, ‘आईसीपीको प्रयोगले व्यापारमा हुने असन्तुलनलाई पनि नियन्त्रण गर्नेछ ।’

नेपाल र भारतको आयात र निकासी एकद्वार प्रणालीबाट हुने भएकाले व्यापारमा सहजता आउने भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले बताए । यहाँ आयाततर्फ दुई सय र निर्याततर्फ ७५ वटा ट्रकका लागि पार्किङ क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टाइन, भन्सार, सुरक्षा, अपरेटर कम्पनी, बैंकलगायत संरचनाका लागि भवन बनेको नेपालगन्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जनाए ।

एकीकृत भन्सार जाँचचौकीको औपचारिक रूपमा सञ्चालनमा आएपछि दुई देशबीचको व्यापारमा सहजीकरण हुने उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंक धामीले बताए । ‘व्यवसायीलाई सामान ल्याउँदा १० ठाउँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सहज अनि समयको बचत पनि भएको छ,’ उनले भने, ‘व्यापारीलाई फाइदा त छँदै छ । यात्रु र उपभोक्तालाई समेत यसले सहजता प्रदान गर्नेछ । नाकामा हुने भीडभाड यसले कम गर्नेछ ।’

नेपालगन्जमा एकीकृत जाँचचौकी सञ्चालनले दुई देशबीचको व्यापार सहजीकरणमा सहयोग पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जनाए । ‘राजस्व बढाउन र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन यो एउटा कोसेढुंगा हो । यसका लागि नेपाल र भारत सरकार दुवैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यसले निजी क्ष्ोत्रका लागि उत्साह थपेको छ । ढुवानी क्षेत्रमा सुविधा, अवैध ढंगले हुने भन्सारको प्रयोगलाई निस्तेज पार्नेछ ।’

अब व्यवस्थापन पक्षलाई मजबुत बनाउन जरुरी छ । व्यापारजन्य वस्तु आईसीपीबाट मात्र भित्र्याउनुपर्छ । ‘जमुनाह नाका यात्रुका लागि मात्र प्रयोग गर्न दिनुपर्छ,’ उनले भने । आईसीपी नेपाल–भारत दुवैतर्फ निर्माण भएको छ । नेपालतर्फ जग्गा नेपाल सरकाले छुट्याए पनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो । आईसीपीको लागत २०० करोड भारु छ ।

प्रकाशित : वैशाख २५, २०८१ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?