२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

गोदाममै थन्किए कैदीबन्दीले बुनेका मुढा

माधव ढुंगाना

भैरहवा — रुपन्देहीको कोटहीमाइ गाउँपालिका–६ हर्दीका ३० वर्षीय शर्माकुमार चमार केही वर्षदेखि भैरहवास्थित कारागार (जेल)मा बन्दी जीवन बिताइरहेका छन् । निम्न आर्थिक अवस्थाको उनको घरमा सानी छोरी, श्रीमती र बिरामी आमा छन् । जेलमा हुनुभन्दा पहिला उनले मजदुरी गरेर परिवारको गुजारा चलाउने गर्थे ।  

गोदाममै थन्किए कैदीबन्दीले बुनेका मुढा

जेलमा उनले सरकारी स्तरबाट पाउने भनेको सिदा बापत दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाँ नगद हो । यसबाट उनले बिहान साँझको खाना, नास्ता, दाल, तरकारी, सावुन, कपडा, टुथपेष्ट, चियालगायतका दैनिक उपभोग्य बस्तुको आवश्यकता पुरा गर्न नै अपुग हुन्छ । घर खर्चका लागि पठाउन पुग्ने त कुरै भएन ।

३ कक्षामा पढ्ने छोरीको किताब, कापी, स्कुल पोशाक र आमाका लागि उच्च रक्तचापको नियमित औषधि र करेन्ट लागेर खुट्टामा समस्या भएपछि नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि लाग्ने खर्च जुटाउनु पर्ने बाध्यता जेलभित्रै भए पनि उनीमाथि नै छ ।

‘घरपरिवारको खर्च जुटाउनकालागि मैले जेलभित्रै रातदिन मेहनत गरेर मुढा बुन्ने गर्छु र त्यसबाट आउने आम्दानी घर पठाउने गर्छु,’ उनले भने, ‘जेलभित्र कमाइ गर्न नसक्दा साथीभाइसँग सापट खोजेर काम चलाउने गरेको छु ।’ मुढा बुनेर मासिक ९ हजारसम्म कमाउने र ६ हजार रुपैयाँ घर पठाउने गरेको उनले सुनाए ।

अर्का बन्दी सैनामैना–१० सालझण्डीका ४० वर्षीय राजकुमार बिक पनि घरपरिवारको गुजारा चलाउन जेलभित्रै रातदिन मुढा बुन्ने गर्छन् । यसबाट हुने आम्दानीमध्ये घर खर्चका लागि उनले पनि मासिक ५ हजार रुपैयाँसम्म पठाइदिने गर्छन् ।

भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा रहेका अन्य ८८ जना कैदीबन्दीको अवस्था चमार र बिकको जस्तै हो । उनीहरु आफू कारागारभित्र भए पनि परिवारको खर्च चलाउन र सहयोग गर्नका लागि रातदिन कारागार भित्र मुढा बुन्ने गर्छन् । मुढा बुन्ने र फर्निचर बनाउनेबाहेक अन्य सीपमूलक रोजगारीको माध्यम कारागार भित्र छैन ।

केही महिनायता भने उनीहरुले उत्पादन गरेको मुढा बिक्री नभएर गोदाममा थन्केको छ । कारागारमा बनेको मुढाको मुल्य अन्यत्र भन्दा धेरै सस्तो भए पनि बजारीकरणको समस्या छ । व्यापारीले आफू अनुकुलको बेलामामात्र खरिद गर्ने गर्छन् । चार महिनादेखि मुढाको बिक्री रोकिएको छ ।

‘जेलभित्र उत्पादन गरिएका मुढा चार महिनादेखि बिक्री नहुदा करिब १२ लाख रुपैयाँ मूल्य बराबरका मुढा गोदाममा थन्किएको छ,’ कारागारका चौकीदार बन्दी रमेश चौधरीले भने, ‘हाम्रो उत्पादित सामानको बजारीकरणको व्यवस्थापन कसले गरिदिने ? समस्या भएको छ । हामी कारागार परिसर बाहिर निस्किन पाइदैन । सरकारी स्तरबाट कुनै पहलकदमी छैन ।’

उनका अनुसार कारागारभित्र उत्पादित मुढा पहिला बुटवल, भैरहवाका व्यापारीले खरिर्द गर्थे । चीनबाट मुढाको ठूलो माग आएपछि केही महगों मूल्यमा त्यतिबेलाका चौकीदार, नाइके बन्दीले खासा पठाउन थाले । आफूले खरिद गरिरहेको सामान नपाएपछि स्थानीय व्यापारीले अन्यत्र वैकल्पिक व्यवस्था गरे । एक्कासी खासामा नेपाली मुढाको माग बन्द भयो । निर्यात कम्पनीले खरिद गर्न छाडे ।

सीप जानेका बन्दीलाई कारागारका नाइकेबन्दी, चौकीदार बन्दी र सहनाइके बन्दीले आफ्नो लगानीमा बाहिरबाट कच्चा पदार्थ उपलब्ध गराइ मुढा बुन्न लगाउँछन् । उत्पादित मुढालाई उनीहरुले नै स्थानीय व्यापारीसँग सम्पर्क गरेर बिक्री गर्ने गर्छन् । कारागारमा यसरी घरेलु उद्योग संचालन हुँदा कारागारभित्रका बन्दीले अतिरिक्त कमाइको अवसर मिल्ने गर्छ ।

जसबाट बन्दीहरुलाई आफ्नो र घर खर्च संचालनमा महत्वपूर्ण आर्थिक सहयोग हुने गरेको छ । कारागारभित्र अतिरिक्त कमाइको अवसरले बन्दीहरुमा नैरास्यतामा कमी आउनुको साथै जेलमुक्त भएपछि पनि दक्ष श्रमिकको रुपमा तयार हुने गर्छन् ।

जिल्ला कारागार रुपन्देहीका प्रमुख जगतबहादुर बस्नेतले कारागार भित्र उत्पादित मुढालाई यतिबेला बजारीकरणको समस्या भएको र यसले गर्दा बन्दीको अतिरिक्त कमाइमा असर परेको बताए । बजारीकरणमा कार्यालयको प्रत्यक्ष भूमिका नहुने र सहजिकरण मात्र गर्न सकिने भनाइ उनको छ । बस्नेतका अनुसार कारागारभित्र दैनिक १ सय भन्दा धेरै मुढा उत्पादन हुने गर्छ । ३ सय ५० रुपैयाँदेखि ९ सयसम्ममा बिक्री हुने यही मुढा बाहिर बजारमा ८ सयदेखिमाथि पर्छ ।

प्रकाशित : वैशाख २३, २०८१ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?