झुम्लाबाङमा फलाम उत्खनन गर्न लगानीकर्ता खोजिँदै

फलाम खानी उत्खननको तयारीले स्थानीय सरकार उत्साहित भए पनि यहाँका बासिन्दा भने बासस्थान गुमाउनुपर्ने पीरले अलमलमा 
महेश केसी

रुकुम पूर्व — भुमे गाउँपालिका–३ झुम्लाबाङमा फलाम खानी रहेको पुष्टि भएको छ । विभिन्न चरणमा गरेको अध्ययन–अनुसन्धानबाट यो देशकै सबैभन्दा ठूलो फलाम खानी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ । झुम्लाबाङमा धेरै वर्षपहिले तामाखानी रहेको विषयलाई आधार बनाई यसको अध्ययन गर्न गत वर्ष जेठमा विभागअन्तर्गतको खनिज प्रवर्द्धन तथा प्रशोधन केन्द्रका जियोलोजिस्ट सौनक भण्डारीको नेतृत्वमा दुई सदस्यीय टोली झम्लाबाङ पुगेर प्रारम्भिक रूपमा हेर्दा तामाभन्दा फलामको सम्भावना देखिएको थियो ।

झुम्लाबाङमा फलाम उत्खनन गर्न लगानीकर्ता खोजिँदै

‘यहाँ तामाभन्दा पनि फलाम रहेको पाइएपछि हामी गत असारमा दोस्रोपल्ट विभागका तत्कालीन उप–महानिर्देशकसहित तीन जनाको टोली आएर भेरिफिकेसनको काम गरेर फर्कियौं,’ उनले भने, ‘यसपछि गत असोजमा हामी फेरि आएर फलाम खानीबारे थप अध्ययनको कम गर्‍यौं । अनि गत मंसिर र पुसमा करिब दुई महिना लगाएर विस्तृत अध्ययनको कामसमेत सकिसकेका छौं ।’

पछिल्लो विस्तृत अध्ययनबाट झुम्लाबाङमा ठूलो परिणाममा फलाम रहेको पुष्टि गर्दै विभागले यहाँको फलामलाई उत्खननको प्रक्रियामा लैजाने तयारी गरिरहेको बताएको छ । ‘हामीले अहिलेसम्म टोपोलोजिकल सर्भे, भौगर्भिक नक्सांकन, च्यानल स्याम्पलिङ र वातावरणीय अध्ययनको काम सकेका छौं,’ विस्तृत अध्ययनबारे जियोलोजिस्ट भण्डारीले भने । च्यानल स्याम्पलिङबाट ११ सय वटा नमुना लिएर गएको र अहिले त्यसको परीक्षणको काम भइरहेको पनि उनको भनाइ छ । यहाँको फलामको अध्ययनका लागि लगिएका ११ सय नमुनाको परीक्षणको काम अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जनाए । ‘अहिलेसम्म उक्त नमुनाको परीक्षणबाट त्यहाँ रहेको ढुंगामा करिब ४५ प्रतिशत फलाम रहेको पाइएको छ,’ उनले भने, ‘अहिलेसम्मको अध्ययनबाट यो खानीमा मध्यम खाले फलाम छ भन्ने पुष्टि गर्न सकिन्छ ।’

फलामको परिणाम र गुणस्तरबारे लगभग स्पष्ट भइसकेको र अब उत्खनन प्रक्रियामा जाने विभागले बताएको छ । ‘हामी झुम्लाबाङको फलाम उत्खनन गर्न निजी क्षेत्रको लगानीका लागि टेन्डर आह्वान गर्दै छौं,’ सूचना अधिकारी बाँस्कोटाले भने । झुम्लाबाङको खानी फलाम उत्खननका लागि निजी क्षेत्रलाई दिने खानी तथा भूगर्भ विभागको भनाइ छ । यसका लागि आइतबार र सोमबार आयोजना हुने लगानी सम्मेलनलाई लक्ष्य गरेर टेन्डर खोल्ने तयारी गरिएको हो । जतिसक्दो धेरै लगानी प्रवर्द्धनको लक्ष्यसहित काठमाडौंमा आयोजना गरिने सम्मेलनमा ५५ देशका लगानीकर्ता आउँदै छन् । यहाँ आएका लगानीकर्तालाई फलाम खानीमा लगानीका लागि आकर्षित गर्न लगानी बोर्डमार्फत यो विषयलाई प्रस्तुत गर्न लागिएको सूचना अधिकारी बाँस्कोटाले जनाए ।

विभिन्न चरणको प्राविधिक जाँचपास र अध्ययनको काम सकिसकेको विभागले तीन चरणमा खानीको काम हुने बताएको छ । कुनै पनि स्थानमा खानी रहेको प्रमाणित भएपछि तीन चरणमा काम हुने जियोलोजिस्ट भण्डारी बताउँछन् । ‘पहिला रासायनिक र मेटालजिकल परीक्षण, दोस्रोमा प्रमाणित भण्डार र तेस्रोमा निष्कासन,’ उनले भने, ‘अहिले हामी रासायनिक परीक्षणको अन्तिम चरणमा छौं । यसपछि उक्त खानीमा के–कति फलाम छ, यकिन गरिन्छ । त्यसपछि फलाम निकाल्ने प्रक्रियामा प्रवेश गरिन्छ ।’

नेपालमा पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै आयात गरिनेमा फलाम रहेको विभागका सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । तर झुम्लाबाङको खानीबाट फलाम निकाले यसले स्वदेशी बजारमा धेरै ठूलो टेवा पुग्ने उनले जनाए । ‘आयातित फलाममा पर्ने मूल्यभन्दा स्वदेशी खानीबाट उत्खनन तथा प्रशोधन गरेर निकालेको फलामको मूल्य सस्तो भए मात्रै हामीलाई हितकर हुन्छ,’ उनले भने, ‘यसकारण लागत कति र बजार मूल्य कति हुने भन्ने विषयले पनि खानीहरूमा लगानी गर्ने कि नगर्ने भन्ने कुरा आउन छ । तर झुम्लाबाङको फलाम खानीमा धेरै ठूलो परिणाममा फलाम रहेकाले यसले हामीलाई फाइदा पुग्ने निश्चत छ ।’

फलाम खानी रहेको झम्लाबाङमा पहिले तामा खानी थियो । ६५ वर्षअघि आफूहरूले तामाको धाउ (तामा मिश्रित पत्थर) निकालेर आगोमा गलाई तामा बनाएर बेचेको ८८ वर्षीय कर्णबहादुर थापाले जनाए । यहाँको तामा किन्न वरिपरिका विभिन्न ठाउँबाट मान्छेहरू आउने गरेको उनको भनाइ छ । त्यो क्रम करिब ५ वर्ष जति मात्रै चलेको उनी बताउँछन् । ‘सुरुङ खोलेर धाउ निकालेर तामा बनाउँथ्यौं । अनि त्यसलाई ८ सय रुपैयाँ धार्नी (साढे दुई किलो) मा बेथ्यौं,’ उनले भने ।

अहिले जस्तो बिजुलीको सुविधा नभएको त्यो बेलामा निगालोका दाउराको मसाल बनाएर सुरुङभित्र छिरेर तामा निकालेको अर्की स्थानीय ७७ वर्षीया काली विकले बताइन् । ‘हामी केटाकेटी नै थियौं । बाहरूले निकाल्नुहुन्थ्यो । हामी चाहिँ उहाँहरूलाई सहयोग गथ्यौं,’ तामा मिश्रित ढुंगा (धाउ) को टुक्रा देखाउँदै उनले भनिन्, ‘केही वर्ष बेस्सरी तामा निकालेपछि तामा सकियो भनेर छाडे ।’ स्थानीय बुढापाकाहरूको भनाइलाई पुष्टि गर्ने खालका विभिन्न सुरुङ पनि गाउँ वरिपरि भेटिन्छन् । तामा निकाल्ने बेला परम्परागत तरिकाले नै ती सुरुङ बनाइएको विकको भनाइ छ । यिनै कुरालाई आधार बनाएर गाउँपालिकाले यहाँ तामाखानीको सम्भावनाबारे खानी तथा गर्भ विभागलाई अध्ययनका लागि अनुरोध गरेको थियो । तामा खानीका लागि भनेर आएको टोलीले तामाभन्दा पनि यहाँ फलाम भएको बताएपछि अध्ययन–अनुसन्धान फलामतर्फ सोझिएको थियो । तर यहाँ फलामसँगै तामाको पनि सम्भावना रहेको जियोलजिस्ट भण्डारी बताउँछन् । ‘फलामको सम्भावना तामाभन्दा धेरै भएको पाएपछि हामी यता केन्द्रित भएका हौं,’ उनले भने, ‘तर यहाँ तामा पनि छ । के–कति परिणाममा छ र यसको गुणस्तर के–कस्तो छ भन्ने विषयमा भने छुट्टै अध्ययन गर्नुपर्छ । यसका लागि पनि हामी आवश्यक तयारी गरिरहेका छौं ।’

स्थानीय सरकार उत्साहित, सर्वसाधारणमा अलमल

भुमे–३ झम्लाबाङको करिब ५ किमि स्क्वायर क्षेत्रफलमा रहेको भनिएको फलाम खानीलाई उत्खनन गरेर व्यावसायिक प्रयोगमा ल्याउने विषयमा स्थानीय सरकार उत्साहित छ । तर स्थानीय बासिन्दा भने आफूहरूको बासस्थानै नरहने हो कि भन्ने पीरले अलमलमा रहेको पाइएको छ । आफ्नो ठाउँमा फलाम खानी भएको भन्ने कुराले खुसी बनाए पनि खानीबाट फलाम निकाल्दा बसाइँ नै उठ्ने हो कि भन्ने पीर परेको स्थानीय रूपलाल सुनारले जनाए ।

‘पुर्खाले तामा निकाल्दा गाउँघरलाई असर नपुर्‍याई काम गरे । त्यो पहिलेको कुरा थियो । अहिले त यहाँ पूरै पहाडभरि फलाम छ भन्छन् । त्यसो भए त हामी कहाँ गएर बस्ने ?’ उनले थपे, ‘बाटोघाटो, बिजुली, खानेपानीको सुविधायुक्त पखौंली ठाउँ छोडेर जान सकिने अवस्था छैन । यसकारण हामीलाई खानी भएको कुराले खासै खुसी बनाएको छैन ।’ स्थानीय युवा अजय मगरले पनि मन र भावनाले जोडिएको पुर्ख्यौली ठाउँ छोडेर जान मुस्किल पर्ने जनाए । ‘खानीबाट खनिज निकाल्ने कुरामा हाम्रो सहयोग त हुन्छ । तर स्थानीयको बसीबसाइँका विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्छ,’ उनले भने ।

आफ्नो पालिकाभित्र देशकै ठूलो फलाम खानी उत्खनन गरेर मुलुककै विकासमा टेवा पुग्ने विषयले स्थानीय सरकारमा भने उत्साह थपेको गाउँपालिका अध्यक्ष होमप्रसाद श्रेष्ठ बताउँछन् । ‘खानी छ र यसबाट निकाल्न सकिने खनिजले देशलाई अर्थिक टेवा पुग्छ भने यसमा आवश्यक सबै सहयोग गर्न हामी सम्पूर्ण हिसाबले तयार छौं,’ उनले भने, ‘खानीसँग सम्बन्धित विषय संघीय सरकार मातहत भएकाले यसमा हामी आवश्यक पहल गर्न र वातावरण मिलाउने कुरामा कुनै पनि असहयोग गर्दैनौं ।’

खानी भएको ठाउँमा करिब एक सय घरधुरी छन् । खानी उत्खननको प्रक्रिया सुरु भएपछि यहाँको मानव बस्ती स्थानान्तरण गर्नुपर्ने लगभग निश्चित छ । तर यस विषयमा तीनै तहका सरकारले स्पष्ट केही बताएका छैनन् । सबैको ध्यान खानीबाट खनिज निकाल्ने विषयमै केन्द्रित भएकाले आफूहरूको विषयमा सरोकारवालालाई चासो नभएको स्थानीय गोकर्ण श्रेष्ठको भनाइ छ । ‘खानीबाट फलाम त निस्केला तर हाम्रो भविष्य के हुन्छ ? यस विषयमा सरकारले समयमै प्रस्ट भन्न सक्नुपर्छ,’ उनले भने ।

प्रकाशित : वैशाख १६, २०८१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?