कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

‘सभ्यतामा नेपाल १ हजार ५ सय वर्ष अगाडि छ’

सभ्यताको कुरा गर्दा नेपाल एक हजार पाँच सय वर्ष अगाडि छ । मिथिला साहित्य, थान्का पेन्टिङलगायतले त्यो पुष्टि गर्छन् । तर नेपालीले यो कुरा खासै महसुस गरेका छैनन् । 

काठमाडौँ — नेपाल र युरोपियन युनियन (ईयू) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशक भइसकेको छ । ईयूसँग नेपालले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । दुई पक्षबीचको सम्बन्ध थप बलियो र प्रगाढ बनाउन नेपालका लागि ईयूकी राजदूत भेरोनिका लोरेन्जो सक्रिय छिन् । अर्थशास्त्रमा राम्रो दख्खल भएकी राजदूत लोरेन्जो विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेकी छन् ।

‘सभ्यतामा नेपाल १ हजार ५ सय वर्ष अगाडि छ’

उनको विकास साझेदारीमा काम गर्नुको साथै द्वन्द्वग्रस्त मुलुकहरूमा पनि काम गरिसकेकी छन् । राजदूत लोरेन्जोसँग मोजाम्बिक, अफगानिस्तान, युगान्डा, म्यानमार र सोमालियामा काम गरेको अनुभव छ । नेपाल बसाइ, यहाँको संस्कृति, खाना, हावापानीलगायत विभिन्न विषयमा राजदूत लोरेन्जोसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

पहिलो पटक नेपाल कहिले आउनुभयो ? नेपाल कस्तो छ ?

म २३ वर्षअघि (सन् २००१ मा) पहिलो पटक नेपाल आएकी थिएँ । त्यो लामो समय भइसक्यो । त्यसबेला मैले नेपालको भूगोलबारे जान्ने अवसर पाइनँ । किनकि त्यतिबेला नेपालमा द्वन्द्व चलिरहेको थियो । त्यसकारण पनि हामी काठमाडौंबाट बाहिर गएनौं । तत्कालीन राजनीतिक अवस्थाले गर्दा मैले चाहेर पनि काठमाडौं उपत्यका बाहिर घुम्न जान सकिनँ । २३ वर्षपछि अवस्था परिवर्तन भइसकेको छ ।

लामो समयपछि पुन: नेपाल आउँदा कस्तो अनुभव भयो ?

बाहिरबाट हेर्दा नेपाललाई हिमालहरूको मुलुकका रूपमा लिइन्छ । नेपालको चिनारीमा हिमाल एउटा प्रतीक भएको छ । तर जब म नेपाल आएँ, एकदमै अचम्ममा परें । यहाँको तीन तहको भूगोल देखेर म खुसी भएँ । दोस्रो पटक नेपाल आएपछि म तराई भ्रमणमा गएँ । मैले त्यस्तो अवस्थाको कल्पना गरेकी थिइनँ । चुरे भाग, जनकपुरलगातका समथर भूभाग गएँ । नेपालमा छोटो भूभागमा विविधताले भरिएको भू–अवस्थिति छ । समथर तराईबाट पहाड र हिमालयसम्म देखें । म पहिले त अचम्मित भएँ । मैले हिमाल सोचेको त पहाड पो रहेछ, हिमाल त अझै माथिल्ला भागमा रहेछन् र अझै अग्ला रहेछन् ।


कामको दौरान धेरै नेपालीसँग भेटवार्ता गर्नुभयो । नेपालीहरू कस्तो पाउनुभयो ?

नेपालीहरू यहाँको भूगोल जस्तै रहेको पाएँ । नेपालीहरूमा विविधता पाएँ । जब तपाईं नेपालको विमानस्थलमा आएर लाइनमा बसेर नेपाली कस्तो हो भन्दै उभिनुहुन्छ र हेर्नुहुन्छ, तपाईंले नेपालीमा विविधता पाउनुहुन्छ । सुन्दा सामान्य लाग्न सक्छ, तर नेपालीहरू साँच्चै सुन्दर र असल छन् । हरेक मुलुकमा तपाईंले मिलनसार र मिजासिलो व्यक्ति पाउनुहुन्न, जुन नेपालमा पाइन्छ । नेपाली जनता नै देशका सबैभन्दा ठूला सम्पत्ति हुन् ।

तपाईंले नेपालको मौसम कस्तो पाउनुभयो ?

मैले काठमाडौंको सबै सिजनको अनुभव त गरेकी छैन । तर काठमाडौं मैले सोचेको जस्तो धेरै चिसो रहेनछ । जाडोयाम छोटो समयको हुनेरहेछ । तराईमा गर्मीयामले धेरै गर्मी हुन्छ र जाडोयाममा बढी जाडो हुन्छ । तर काठमाडौं उपत्यकाको मौसम भने मलाई मन पर्छ । मलाई काठमाडौं उपत्यकाको मन नपर्ने पक्ष भनेको वायु प्रदूषण हो । यो प्रदूषण रोक्नुपर्छ । जनताको स्वास्थ्यमा वायु प्रदूषणले असर पुर्‍याउँछ ।

नेपाली खानाको स्वाद लिनुभएको छ ?

मलाई सबैभन्दा मन पर्ने दाल–भात हो । म थाली खाना खान्छु । थाली खाना पनि विभिन्न समुदायमा फरक–फरक स्वादका हुन्छन् । स्थानअनुसार थालीका परिकारमा परिवर्तन भेटिन्छन् । मधेशमा मिथिला थाली हुन्छ । एउटै खानाहरू हुन्छन्, तर त्यसमा परिकार केही परिवर्तन भएको पाइन्छ । मलाई शाकाहारी खाना मन पर्छ । त्यसमा धेरै सागसब्जीहरू हुन्छन् । मलाई म:म पनि मन पर्छ । विश्वभरि नै नेपालीको म:म चर्चित छ । र, मलाई अर्को सबैभन्दा मन परेको खाना भक्तपुरको जुजु धौ हो ।

तपाईंले नेपाली भेषभूषालाई कसरी हेर्नुभएको छ ?

नेपालको भेषभूषालाई यहाँको जातजातिमा भर परेको देखिन्छ । सामान्य रूपमा भन्दा जसरी नमस्ते भन्दै अभिभादन गरिन्छ, यो निकै राम्रो छ । यसले शान्तिलाई स्थानान्तरण गर्छ ।


नेपालको कुनै चाडपर्व मनाउनुभएको छ ? मन पर्ने नेपाली चाड कुन हो ?

मलाई लाग्छ, नेपालमा धेरै चाडपर्वहरू छन् । तर सबै चाडपर्वबारे मलाई थाहा छैन । नेपाल चाडपर्वमा निकै धनी छ । म जब नेपाल आएँ, त्यसबेला इन्द्रजात्रा हेर्न गएँ । त्यो एकदमै गज्जबको लाग्यो । इन्द्रजात्रामा गरिने कार्यक्रमले मेरो मन छोयो । मैले ‘द लिभिङ गडेस’ पुस्तक पढेकी थिएँ । पुस्तकमा जात्राका सबै पृष्ठभूमि व्याख्या गरिएको छ । पुस्तकमा हिन्दु संस्कृति र इतिहास, एकदमै आकर्षित छ । त्यसैले म इन्द्रजात्राको दृश्य देखेर अचम्मित भएँ । र, अर्को विदेशीका रूपमा रमाइलोसँग मनाउन सकिने होली पर्व हो । होलीको दिन म आफ्ना श्रीमान्सँग बाहिर निस्केकी थिएँ । तर सडकमा त्यति धेरै मानिसहरू निस्केर होली मनाउँछन् भन्ने मैले सोचेकी थिइनँ । सुरुआतमा त मैले अरूलाई रङ लगाउनका लागि नछोऊ भनें तर बिस्तारै धेरैले रङ लगाइदिए । घर फर्कंदा मेरो मुहार रंगिएको थियो । त्यो समय निकै आनन्द र रमाइलो भयो ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ?

अलि अलि (नेपालीमै जवाफ) । मलाई केही शब्द बोल्न आउँछ । पढ्नका लागि प्रयास गरिरहेको छु । यो पढ्नका लागि निकै कठिन भाषा हो । जब म स्थलगत रूपमा जान्छु, त्यसबेला म केही शब्दहरू सिक्ने प्रयास गर्छु । मानिसहरूका कुरा ध्यान दिएर सुन्छु र आफूले जानेको शब्द पनि पनि ध्यान दिएर बुझ्ने कोसिस गर्छु । तर समयको सीमितताले धेरै कम जानेको छु । अर्को वर्ष फेरि कुरा गर्‍यौं भने म केही वाक्यहरूसहित अन्तर्वार्ताका लागि तयार हुन्छु ।


नेपाल संगीत सुन्नुहुन्छ ?

म केही समयअघि एक शनिबार कन्सर्टमा गएकी थिएँ । जहाँ नेपालका र कालिम्पोङका कलाकार थिए । संगीतको मिश्रण थियो । ज्याजसहित फ्युजन गरिएको संगीत थियो । त्यो निकै रमाइलो थियो । परम्परागत नेपाली गीतहरू जस्तै, ‘रेशम फिरिरी...’ हरेक विदेशीलाई मन पर्छ । त्यो एक पटक सुनेपछि सबैको मुखमा झुन्डिइहाल्छ । नेपालका युवा पिँढीले संगीतको क्षेत्रमा धेरै गर्नुपर्छ । उहाँहरूले नेपालका यी परम्परागत गीतलाई पनि विश्वभर फैलाउन अरूसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । जुन निकै आकर्षक हुनेछ । मैले अर्को कुराचाहिँ यी संगीत क्षेत्रमा लागेकाहरूको निकै आकर्षण र चाहना देखें ।

नेपाली साहित्यबारे के थाहा छ ?

नेपाली साहित्य त्यति धेरै अंग्रेजीमा अनुवाद भएको पाइनँ । म नेपाल आएपछि ‘सिंहदरबार’ पुस्तक पढेँ । सागरशमशेर राणाले लेखेको पुस्तकले मलाई राणा शासनबारे जानकारी दियो । देशलाई बुझ्नका लागि इतिहास पढ्नु निकै महत्त्वपूर्ण हुन्छ । नेपाल युरोपभन्दा सांस्कृतिक रूपमा निकै फरक देश हो । र, सबैभन्दा महत्त्वपूर्ण कुरा जनतालाई बुझ्नु हो । किन मानिसहरू यसरी व्यवहार गर्छन्, त्यो गर्नुको कारण के हो ? भन्ने बुझ्नु हो । मान्छेको अहिलेको व्यवहार इतिहास र त्यसको रुटसँग जोडिएको हुन्छ । त्यो इतिहासको पाटो भयो । साहित्यतर्फ मैले भर्खरै बुद्धिसागरको ‘कर्णाली ब्लुज’ पढेर सकें । यो उत्कृष्ट पुस्तक छ । यो पुस्तकले तपार्इंलाई एक युवा जो हुर्कंदै जाँदाको बेलाको स्वाद लिन्छ । उसको बुबासँगको सम्बन्धका पक्षबारे पनि उल्लेख छ । साथै, उसले गरेका अनावश्यक कामहरू पनि छन् । मलाई मन पर्ने त्यस्तो पुस्तक हो, जुन तपाईंले पढ्नमात्र होइन, तपाईंले शारीरिक रूपमा महसुस पनि गर्न सक्नुहुन्छ । लेखकले जस्तै अनुभव गर्न सक्दा पुस्तक पढ्दा मज्जा हुन्छ । लेखक (बुद्धिसागर) ले तराईबाट उपन्यासको कथा सुरु गरेका र पहाडमा उक्लिएका छन् । त्यहाँ पनि तपाईं विविधता देख्न सक्नुहुन्छ, जहाँ मानिसहरू फरक–फरक तरिकाबाट बसिरहेका छन् ।

तपाईंले नेपाली फिल्म हेर्नुभएको छ ?

जब म नेपाल आएकी थिएँ, हामीले फिल्म फेस्टिभल गरेका थियौं, जसमा केही नेपाली डकुमेन्ट्रीहरू थिए । त्यस क्रममा हेरेकामध्ये मलाई मोहन राईले निर्माण गरेको ‘अ नाइट इन काठमान्डू’ ले आकर्षित गर्‍यो । मलाई युवाहरूको चाहनाको कथाले आकर्षित गर्‍यो । युवाहरूको संघर्ष र कामको कथालाई भावनासँगै यात्रामा लान सक्ने खालको डकुमेन्ट्री हो त्यो । मैले त्यो निकै मन पराएँ । मलाई हेर्न मन लागेको र अहिलेसम्म नभ्याएकोचाहिँ ‘नो विन्टर होलिडे’ हो ।


नेपालका कुन–कुन स्थान घुम्नुभयो र कुन स्थान मन पर्‍यो ?

हरेक आइतबार म काठमाडौं उपत्यकाको वरिपरि घुम्छु र फ्रेस हावा लिन्छु । म नगरकोट, धुलिखेल, नुवाकोट, शिवपुरी, दक्षिणकालीलगायत क्षेत्रमा गएकी छु । म सकेसम्म वरिपरि घुम्छु । मेरो पहिलो भ्रमण मधेश हो । जनकपुर गएँ । म बर्दिया र चितवन गएकी छु । म जंगल क्षेत्रमा बढी घुम्छु किनकि मलाई रूख मन पर्छ । मलाई तराईका सालका रूख र हिमाली क्षेत्रको लालीगुराँस हेर्न मन पर्छ । कर्णाली मन पर्छ । कर्णालीका उचाइ भएका क्षेत्रहरू निकै मन पर्‍यो । तर मलाई अग्लो स्थानदेखि डर लाग्छ । कर्णालीमा पर्यटनका लागि रुट रहेनछ । त्यो भएको भए, पर्यटनका लागि राम्रो हुन्थ्यो । ईयूका कार्यक्रमहरू सुदूरपश्चिम, कर्णाली र मधेशमा छन्, त्यसैले पनि यी क्षेत्रहरू बढी घुमेकी छु ।

नेपाल कला–संस्कृतिमा धनी मानिन्छ, तपाईंलाई के लाग्यो ?

मलाई लाग्छ नेपालीहरूले नेपाल कलामा कति धनी र पुरातात्त्विक छ भन्नेबारे खासै महसुस गरेका छैनन् । यहाँ सभ्यताका विविध तहहरू छन् । पाँचौं शताब्दी बीसीदेखि लिच्छविकालसम्मका विभिन्न कला लेख्न सकिन्छ । नेपाल जब धनी कलात्मक जीवन जिइरहेको थियो, हामी (युरोप) ‘आइरन एज’ मा थियौं । त्यो कुरा मानिसहरूले नेपालमा महसुस गरेका छैनन् । तपाईंहरूमा यो विविधता छ । नेवार समुदायलगायत अन्य समुदायहरू कला संस्कृतिमा निकै धनी छन् । फेरि सभ्यताको कुरा गर्दा एक हजार पाँच सय वर्षअघि छ । मिथिला साहित्य, थान्का पेन्टिङलगायतले त्यो पुष्टि गर्छ ।


तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : वैशाख २२, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?