२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सन् १९९४ मा आजकै दिन : मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति 

काठमाडौँ — सन् १९९४ मा आजकै दिन (मे १०) नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यकाल सुरु गरेका थिए । उनी दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति हुन् । 

सन् १९९४ मा आजकै दिन : मण्डेला दक्षिण अफ्रिकाको राष्ट्रपति 

१९९४ अप्रिल २७ मा भएको चुनावमा ६३ प्रतिशत मत प्राप्त गरेपछि अफ्रिकन नेसनल कंग्रेसले मण्डेलालाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो । उनले नेतृत्व गरेको राष्ट्रिय एकताको सरकारमा नेसनल पार्टीका एफडब्लू क्लेर्क प्रथम उपराष्ट्रपति र थाबो एम्बेकी द्वितीय उपराष्ट्रपति बनेका थिए । दक्षिण अफ्रिकामा देशमा रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका मण्डेलालाई १९९३ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

१९१८ को जुलाई १८ मा दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र मभेजोस्थित थेम्बु समुदायमा जन्मिएका मण्डेला कानुन अध्ययनका क्रममा अफ्रिकी नेसनल कंग्रेस (एएनसी) सँग आबद्ध भएका थिए । त्यसको केही समयमा उनले साथीसँग मिलेर एएनसी युथ लिग स्थापना गरेका थिए । १९६० मा एएनसीलाई बन्देज लगाइएपछि मण्डेला भूमिगत भए । मण्डेला रंगभेदी शासकविरुद्धको संघर्षका क्रममा पक्राउ परेका थिए । सरकार ढाल्न हिंसा र ध्वंसको सहारा लिएको अभियोगमा उनलाई १९६४ मा आजीवन कारावास पठाइएको थियो । १९८० मा एएनसीले रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय अभियान सुरु गर्दै मण्डेलाको रिहाइलाई मुख्य मुद्दा बनाएको थियो । त्यससँगै अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि १९९० मा एएनसीविरुद्धको प्रतिबन्ध हटाउँदै मण्डेलालाई रिहा गरिएको थियो । त्यसपछिको चुनावमा दक्षिण अफ्रिकाको इतिहासमै पहिलोपल्ट सबै जातिहरूले मतदान गर्न पाएका थिए । मण्डेलाको २०१३ डिसेम्बर ५ मा निधन भएको थियो ।


प्रकाशित : वैशाख २८, २०८१ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?