१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

सन् १९९४ आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति निक्सनको निधन 

काठमाडौँ — सन् १९९४ मा आजकै दिन (अप्रिल २२) मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनको निधन भएको थियो । १९१३ जनवरी ९ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका निक्सनको न्युयोर्क सिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको थियो । 

सन् १९९४ आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति निक्सनको निधन 

१९६९ मा राष्ट्रपति भएका निक्सन १९७२ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उनले दोस्रो कार्यकाल पूरा नहुँदै १९७४ अगस्ट ८ मा राजीनामा दिन बाध्य भएका थिए ।

‘वाटरगेट काण्ड’ का कारण झन्डै महाभियोग सामना गर्नुपर्ने भएपछि उनी राजीनामा गर्न बाध्य भएका थिए । पहिलो कार्यकालमा सोभियत संघ, चीन तथा अरब देशहरूसँग अमेरिकाको सम्बन्ध सुधारेका निक्सन जसरी पनि दोस्रो कार्यकाल राष्ट्रपति हुन चाहन्थे । त्यसका लागि उनले १९७२ जुन १७ मा वासिङ्टन डीसीको वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक पार्टीको राष्ट्रिय समितिमा आफ्ना सुरक्षा संयोजकसहित पाँच जनालाई सुराकीका लागि खटाएका थिए ।

डेमोक्रेटिक दलसँग सम्बन्धित थुप्रै कागजात चोरेको टोलीका सदस्यहरू पक्राउ परेपछि घटना ढाकछोप गर्न निक्सनले राज्य संयन्त्रको अधिकतम दुरुपयोग गरेका थिए । त्यसबारे वासिङ्टन पोस्टले समाचार प्रकाशन गरेको थियो । त्यस्तै, सर्वोच्च अदालतले आदेश दिएपछि निक्सन सुराकी गरेर खिचिएका टेप र कागजात बुझाउन बाध्य भएका थिए ।

त्यसका साथै, सिनेटको न्यायिक समिति र हाउस अफ रेप्रिजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोगको प्रस्ताव अघि बढाएको खण्डमा आफू बर्खास्तमा पर्ने निश्चित भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै निक्सनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै तत्कालीन उपराष्ट्रपति जेराल्ड फोर्ड अमेरिकाको राष्ट्रपति बने । पछि फोर्डले आफ्नो संवैधानिक शक्ति प्रयोग गर्दै निक्सन सजाय हुनबाट बचाएका थिए ।

प्रकाशित : वैशाख १०, २०८१ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?