कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'विपक्षीविहीन चुनाव'मा पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित

रासस

काठमाडौँ — रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको ६ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।  प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले आरोप  लगाएका छन् ।

'विपक्षीविहीन चुनाव'मा पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित

रूसी निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाएका छ भने उनका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गरेका छन्। निर्वाचन अधिकारीले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन् ।

आलोचकहरूले यो निर्वाचनमा खासमा कुनै भरपर्दा विपक्षी नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाइएको यो निवाचनमा राष्ट्रपति पुटिनले सन् २०१८ को निर्वाचनमा ल्याएकोभन्दा झन्डै १२ प्रतिशत मत बढी ल्याएको देखिन्छ ।

रूसको राजनीतिमा सशक्त विपक्षीको भूमिका खेल्दै आएका एलेक्सी नभाल्नीको निर्बाचनभन्दा करिब एक महिना जेलमा मृत्यु भएको थियो । मृत्युलाई पुटिनका आलोचक तथा विपक्षी नेताहरूले ‘रहस्य’का रूपमा हेर्दै आएका छन् । यो समय पुटिनको आलोचक मानिने प्राय नेता कित विदेशमा निर्वासित जीवन बिताइरहेका छन् कि रूसी जेलमा छन् ।

निगरानी समूह ओभीडी–इन्फोका अनुसार निर्वाचनका समय विपक्षी नेताहको अभियानलाई सघाएका कम्तीमा ८० जना रूसी नेता पक्राउ परेका छन् । यसैबीच, रूसका पूर्वव्यवसायी तथा क्रेमलिनका आलोचक मिखाइल खोदोर्कोभ्स्कीले रूसी शासकविरुद्ध विपक्षी एकजुट रहेको पुष्टि गर्दै सोमबार पश्चिमा सरकारलाई भ्लादिमिर पुटिनको विजयलाई मान्यता नदिन आग्रह गरेका छन् । सेन्टर फर लिबरल मोडर्निटी थिङ्कट्याङ्कमा आयोजित एक कार्यक्रममा उनले भने, 'हामीले पश्चिमा समाजप्रति ठूलो अपेक्षा राखेका छौँ र हामी पुटिनलाई वैध नमान्न आग्रह गर्छौं ।'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनबाट चुनिएकोमा रूसी राष्ट्रपति पुटिनलाई बधाई ज्ञापन गर्दै उनीसँग आगामी दिनमा थप सहकार्य गर्ने बताएका छन् । कैयौँ पश्चिमा देशहरूले पनि रूसको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् । वासिंटनले ‘स्वाभाविक रूपमा चुनाव स्वतन्त्र र निष्पक्ष नरहेको’ जनाएको छ । अमेरिकाले जस क्रममा पुटिनले राजनीतिक विपक्षीहरूलाई जेल हालेको र अन्यलाई उनीविरुद्ध चुनाव लड्न रोक लगाएको कुरा उल्लेख गरेको छ ।

जर्मनीले त्यसलाई नियन्त्रण, दमन र हिंसाका भरमा एक अधिनायकवादी शासकले गराएको ‘छद्म निर्वाचन’ को संज्ञा दिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका बेलायतका वर्तमान विदेशमन्त्री डेभिड क्यामरूनले ‘युक्रेनी भूभागमा गराइएका गैर कानुनी निर्वाचन’ को निन्दा गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसी शासकले थप एक चुनावको नाटक गरेको’ टिप्पणी गरेका छन् । उनले जीवनभर शासन गर्नका लागि पुटिनले जे पनि गर्ने जिकिर गरे । पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ ।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि नेता पुटिनले रूसी सामाजिक सञ्जाल टेलीग्राममार्फत सन्देश जारी गर्दै आगामी दिनमा देशको सेनालाई थप बलियो बनाउने र ‘युक्रेनमा रूसको विशेष सैन्य कारबाही’लाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले प्राप्त नतिजाले रूसको हालको कदमप्रति जनताले विश्वास प्रस्तुत गरेको बताएका छन् । रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन उनको भनाइ छ ।

प्रकाशित : चैत्र ६, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?