२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

पौडीका भीमले पारा ओलिम्पक छनोट खेल्ने

काठमाडौँ — पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिकका लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

पौडीका भीमले पारा ओलिम्पक छनोट खेल्ने

पेरिस पारा ओलम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्ने भएका हुन् । सिंगापुरमा मे १७ देखि १९ सम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायल इभेन्टमा भाग लिनेछन् ।

दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान छ । ५० मिटरमा ३३.३४ सेकेन्ड र १०० मिटरमा १ मिनेट २१ सेकेन्डको उत्कृष्ट टाइमिङ नै भीमको राष्ट्रिय कीर्तिमान हो ।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले दुई महिनादेखि कालोपुलस्थित वेस्ट भेन्युमा प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जनाए । श्रेष्ठ पनि अफिसियलका रूपमा सिंगापुर जाँदै छन् ।

गोरखाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करिअरमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङचाउमा भएको चौथो एसियाली पारा खेलकुद हो । त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा २०१९ मा लन्डनमा भएको विश्व पारा पौडीमा नेपालको प्रतिनिधित्व गरेका थिए । ४१ वर्षीय उनी एम्पुटी फुटबल पनि खेलाडी हुन् ।

भीमले पेरिस पारा ओलम्पिकमा छनोट हुने लक्ष्य रहेको बताए । उनले भने, ‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु हुन्छ । यो एउटा स्वर्णिम अवसर हो । त्यसमा सक्दो प्रयास गर्नेछु ।’

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरे । भीम र अफिसियल श्रेष्ठ मे १५ मा सिंगापुर जानेछन् । प्रशिक्षक विजेनमान श्रेष्ठ आइतबार जाँदै छन् ।

सदस्य–सचिव घिसिङले पेरिस पारा ओलम्पिकमा छनोट हुने दोस्रो खेलाडी बन्न उनलाई शुभकामना दिए । यसअघि पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी खेलाडी पलेशा गोबर्धन छनोट भइसकेकी छन् ।

प्रकाशित : वैशाख २८, २०८१ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?