२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फुटबलले जोडेको सम्बन्ध

नेपाली राष्ट्रिय टोली र इंग्ल्यान्ड ‘सी’ बीचको खेलले फुटबलमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विश्वास
नवीन पोखरेल

लन्डन — इंग्ल्यान्ड ‘सी’ र नेपाली राष्ट्रिय फुटबल टिमबीच मे ६ मा पहिलो पटक ऐतिहासिक मैत्रीपूर्ण फुटबल खेल भयो । नेपालीको उल्लेख्य उपस्थिति रह्यो अल्डरसट सहरमा । 

फुटबलले जोडेको सम्बन्ध

‘होम अफ फुटबल’ मानिने बेलायती भूमिमा पहिलो पटक टेकेको थियो नेपाली टिमले । निरन्तर वर्षाबीच इंग्ल्यान्डसँग २ गोलले पराजय भोगे पनि नेपालले हजारौं नेपाली समर्थकको मन जित्यो । झरीको ख्याल नगरी खेल हेर्न घण्टौं ड्राइभ गरी स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायत सहरबाट नेपाली अल्डरसट आइपुगेका थिए ।

‘गोल कति गर्‍यो भन्दा पनि बेलायती माटोमा नेपालले पहिलो पटक खेल्ने अवसर पाउनु बढी महत्त्वपूर्ण हो भन्ने लाग्छ,’ खेल सफल बनाउन खटिएका एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङले सुनाए ।

बिरलै भीड देखिने ८ हजार क्षमताको भरिभराउ ईबीबी रंगशालामा झन्डै ९० प्रतिशत नेपाली दर्शकले हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरिरहे । खेल हारेको होइन नेपाली मन जितेको भन्दै उनीहरूले खेलाडीको प्रशंसा पनि गरे । नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन र अनुभव हासिल गर्न एउटा गतिलो अवसर जुरेको कतिपयको धारणा छ ।

गोर्खाहरूले ब्रिटिस आर्मीमा २ सय ८ वर्षयता सेवा गरिरहेका छन् । नेपाल–बेलायतको मैत्रीपूर्ण सन्धि भएको पनि एक सय वर्ष पुगिसकेको छ । यो गौरवशाली इतिहासबीच नेपाली फुटबल टिमले यसअघि कहिल्यै अवसर पाएको थिएन । ‘इंग्ल्यान्ड सी’ यहाँको राष्ट्रिय मान्यताप्राप्त टिम हो, जसले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग सद्भावना खेल खेल्ने गर्छ ।

दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्ध केही दशकयता जनस्तरमा अझ विस्तृत र व्यापक हुँदै गइरहेको स्मरण गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य जनस्तरमा आपसी सद्भाव बढाउन र फुटबलमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्छन् । यसले बेलायतमा नेपालप्रति सद्भाव र नेपालीको पहिचान प्रवर्धन गर्न मद्दत पुर्‍याएको उनको बुझाइ छ ।

टिम म्यानेजर उत्तमराज भण्डारी नेपाली फुटबल इतिहासमा यस टिमले अर्को इतिहास रचेको टिप्पणी गर्छन् । ‘यो खेलाडीका लागि मात्र होइन, समस्त नेपाल र नेपालीलाई गौरवपूर्ण क्षण हो,’ उनले भने, ‘हामीले जित्न नसके पनि सकारात्मक रूपमा लिनुपर्छ किनकि यस्तो अवसर हाम्रा खेलाडीले पहिलो पटक पाएका छन् ।’

नेपाली खेलाडीको प्रदर्शनबाट फुटबल एसोसिएसन (एफए) पदाधिकारी पनि प्रभावित भएको भण्डारीले सुनाए । ‘खेलका क्रममा एफएका पदाधिकारीसँग कुराकानी हुँदा इंग्ल्यान्ड टिमलाई नेपाल लैजान उहाँहरू सकारात्मक रहेकाले यसबाट नेपाललाई हेर्ने दृष्टिकोण नै फरक हुन सक्छ,’ उनले बताए ।

अल्डरसट टाउन फुटबल क्लबले नेपाली संघसंस्थाको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो । क्लबका अध्यक्ष साहिद अजिम नेपाली समुदायप्रति निकै आभारी छन् । ‘अल्डरसट सहरलाई ब्रिटिस सेनाको घर भनेर चिनिन्छ, जहाँ १०० वर्षभन्दा बढी समयदेखि गोर्खा रेजिमेन्ट तैनाथ छ । स्थानीय समुदायलाई एकीकृत गर्ने र अल्डरसट टाउन फुटबल क्लबलाई पूर्ण समावेशी क्लब बनाउन यो ठूलो अवसर रहयो,’ उनले भने ।

खेल सफल बनाउन यहाँका नेपाली समुदायहरू जुटेका थिए । व्यवसायी रवीन्द्रजंग लामिछानेले नेपाल राष्ट्र र राष्ट्रियताका सवालमा बेलायतमा रहेका नेपाली सधैं एकजुट हुने गरेको स्मरण गराए । ‘यस मैत्रीपूर्ण खेलले अब भविष्यका लागि पनि नेपाली खेलाडीलाई यहाँ फेरि आउने ढोका खोलेको छ,’ लामिछानेले भने ।

प्रकाशित : वैशाख २७, २०८१ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?