सहाना स्मृति यू–१९ भलिबल असारमा
काठमाडौँ — नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगिता असारमा हुने भएको छ ।
असार ९ देखि हुने प्रतियोगिताका लागि बुधबार प्रतिष्ठान रसंघबीच सम्झौता भएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्री र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रतियोगितामा सात प्रदेशबाट पुरुष/महिला दुवैमा ७–७ टिम सहभागी हुनेछन् । त्यसका लागि सातै प्रदेश भलिबल संघलाई टिम निर्माण गरी सहभागी गराउन अनुरोध गरिएको अध्यक्ष चन्दले बताए । पुरुष/महिला दुवैमा सहभागीलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधार खेलाइने छ ।
पुरुष/महिला दुवैमा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५–२५ हजार पुरस्कार प्रदान गरिनेछ । विधागत उत्कृष्टले १०–१० हजार पुरस्कार पाउनेछन् ।
अध्यक्ष चन्दले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गरेर निरन्तरता दिइने बताउँदै प्रतिष्ठानको सहयोगप्रति आभार प्रकट गरे । प्रतिष्ठानकी अध्यक्ष झाँक्रीले उमेर समूहको यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेकामा संघलाई धन्यवाद दिइन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । साताव्यापी प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा खेलाइने छ ।
प्रकाशित : वैशाख २६, २०८१ २१:१३