२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

नवितासामु ‘स्वप्निल’ अवसर

आज बुधबार आमाको मुख हेर्ने दिन । नविता आफैं पनि आमा हुन् । उनका तीन वर्षका छोरा छन्, रायन । बच्चा आएदेखि भाग्य पनि पछि–पछि लागेको मान्छिन् उनी । यसपल्ट छोराले मुख हेर्दा ‘आमाको सबैभन्दा ठूलो सपना पूरा होस्’ भनी कामना गरोस् भन्ने नविताको इच्छा छ ।
हिमेश

काठमाडौँ — एउटा जुगमा यस्तो अवसर एकैपल्ट मात्र आउँछ । नेपालमा पहिलो पटक टेबलटेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट हुन लागेको छ । यसबाट एक–एक पुरुष र महिला खेलाडीले सिधै पेरिस ओलम्पिक २०२४ मा प्रवेश पाउनेछ । यस्तोमा टेबलटेनिसको निर्णायक ओलम्पिक छनोट प्रतिस्पर्धा हुन लागेकै यो नेपालमा पहिलो पटक हो । अझ रमाइलो त के भने नेपाली टेबलटेनिस खेलाडीले ओलम्पिक छनोटमा खेल्न लागेको पनि पहिलो पटक नै हो । 

नवितासामु ‘स्वप्निल’ अवसर

त्यतिमात्र होइन, पूरापूर सम्भावना छ नेपाली खेलाडी पेरिसलाई छनोट हुने । एउटा जुगमा यस्तो अवसर एकैपल्ट मात्र आउँछ भनेको यही त हो । यो सबै अवसरमा कहींकतैबाट धेरै अघिदेखि निकै उत्साहित भइरहेकी खेलाडी हुन्, नविता श्रेष्ठ । यिनी परिन् नेपाली टेबलटेनिसले पाएको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी । टेबलटेनिस मात्र होइन, पूरा नेपाली खेलकुदमै उनी जत्तिको खेलाडी बिरलै पाइन्छ । आखिरमा कोही लगातार नवौंपल्ट राष्ट्रिय च्याम्पियन त्यसै भएको छैन ।

नविताले टेबलटेनिस खेलेर आफूले सक्दो सबै पाइसकिन् । अनि ओलम्पियन हुने मौका ? अब त्यो पनि उनीसामु छ । के तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टपछि नविता ओलम्पिकमा छनोट हुने नेपालको तेस्रो खेलाडी हुने छिन् त ? ‘यो एउटा यस्तो अवसर हो, जसका लागि मैले आफ्नो पूरा जीवन प्रतीक्षा गरिरहें । यो त मैले देखेको सबैभन्दा ठूलो सपना हो । म निकै उत्साहित छु र मलाई आफ्नो प्रदर्शनमा पूरा आत्मविश्वास छ,’ नविता भन्छिन् ।

‘एटिच्युड’, त्यो पनि ‘पोजेटिभ’ । उनी यसमा असाध्यै धनी छिन् । यसैले उनमा च्याम्पियन हुने गुण पनि तयार पारेको हो । यसैकै प्रमाण त हो, नेपालमा ओलम्पिक छनोट हुने भनेपछि दिनरात मिहिनेत गर्न लागेको । कम्तीमा चार महिना जति भयो, उनले एकोहोरो तयारी गरेको । त्यसैले त उनी यति बेला अलि बढी नै फिट देखिएकी छिन् । अलि धेरै नै दुब्लाएकी पनि छिन् । उनी कतिसम्म उत्साहित छिन् भने ओलम्पिकमा छनोट भएर पेरिस मात्रै पुग्नुपर्छ, मनमा कहींकतै संन्यासको सोचसमेत बनाइसकेकी छन् ।

उनकै भाषामा एउटा खेलाडीका लागि यो ‘पूर्णता’ हो । बायाँ हातमा ट्याटु खोपेकी छन् । त्यसमा टेबलटेनिस ब्याट छ । आगोको ज्वालाको रूप लिएको बल छ । अनि ती सबै मुटुसँग जोडिएका छन् । यो ट्याटुले उनी साँच्चै कस्ती छन्, त्यो बखान गर्छ । उनको मन ‘पोजिटिभ भाइब्स’ ले भरिभराउ छ । र, उनलाई के पनि थाहा छ भने आफूले सामना गर्ने चुनौती कम्तीको हुने छैन । ‘दक्षिण एसियाली टेबलटेनिसमा सबै उस्तै हो, उन्नाइस–बीस,’ उनी भन्छिन् ।

यो समीकरणबाट भारतलाई भने हटाउनुपर्छ, किनभने भारतको टेबलटेनिस स्तर विश्वस्तरीय छ । भारतको स्तर त टेबलटेनिसमा चीनलाई राम्रै टक्कर दिने खालको छ । त्यसैले भारत यस अगाडि नै पेरिस ओलम्पिकका लागि छनोट भइसकेको छ । अनि यो दक्षिण एसियाका अरू देशका लागि अवसर बनेको छ । अब हुने दक्षिण एसियाली छनोटमा ५ देशका १० खेलाडीको सहभागिता रहनेछ । अन्त्यमा जो विजेता बन्छ, उसले खेल्ने हो पेरिस ओलम्पिक ।

आज बुधबार आमाको मुख हेर्ने दिन । नविता आफैं पनि आमा हुन् । उनका तीन वर्षका छोरा छन्, रायन महर्जन । रायनको अर्थ हो, राजा । आफ्नो जीवनमा छोरा आएदेखि भाग्य पनि पछि–पछि लागेको मान्छिन् उनी । यसअघि जति पनि काम ठीकसँग टुंगो लागिरहेको थिएन, ती सबै पूरा भएका छन् । यसपल्ट छोराले मुख हेर्दा आफ्नी आमाको सबैभन्दा ठूलो सपना पूरा होस् भनी कामना गरोस् भन्ने नविताको इच्छा छ ।

प्रशिक्षक मोहनदास वासुकला पनि नविताको प्रदर्शनप्रति खुबै आशावादी छन् । ‘उनी उभिनु मात्र पुग्छ, दक्षिण एसियालीका अरू प्रतिद्वन्द्वी एकपल्ट झस्कन्छन् नै । यत्तिको सम्मान उनले कमाएकै छिन्,’ वासुकलाले भने, ‘हामीले यसअघि भारतलाई छाडेर दक्षिण एसियाका अरू खेलाडीलाई हराउँदै आएका छौं नै । त्यसैले यसपल्ट पनि यो प्रवृत्ति दोहोरिने विश्वास छ । नविता निकै राम्रा खेलाडी हुन् । उनको सबैभन्दा ठूलो सम्पत्ति भन्नु नै दह्रो आत्मविश्वास हो ।’

छनोट अर्को सोमबारदेखि बुधबारसम्म लैनचौरस्थित राष्ट्रि टेबलटेनिस प्रशिक्षण केन्द्रमा चल्नेछ । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुपर्छ, हामीलाई समर्थकको कमी हुन्न । यसपल्ट हामीसामु ठूलो अवसर आएको छ । हामीलाई हाम्रा प्रशंसकको अझ धेरै समर्थन पनि चाहिन्छ । हाम्रा खेलाडीले आफ्नो घरमा खेलेको फाइदा लिर्नैपर्छ,’ प्रशिक्षक बासुकला थप्छन् । साँच्चै पनि नविताको खेलजीवनमा अहिलेसम्म कहिल्यै नआएको मोड आउन लागेको छ । कामना गरौं, त्यो सकारात्मक रहनेछ ।

प्रकाशित : वैशाख २६, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?