महिला खुला तौलमा अनिशालाई स्वर्ण
काठमाडौँ — एपीएफकी अनिशा तामाङले १८ औं राष्ट्रिय पुरुष तौल समूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट करातेको महिला खुला तौलमा स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई हराइन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा आयोजक वज्रका विज्ञान तोलाङ्गीले स्वर्ण जिते । उनले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराए । पुरुष ६० केजीमुनि फाइनलमा आर्मीका प्रवीण माझीले केशरबहादुर नेपालीलाई हराएर स्वर्ण जितेका थिए ।
पुरुष ७० केजीमुनि आर्मीका सनीसिंह सुनार स्वर्ण जित्न सफल भए । उनले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई हराए । पुरुष ७० केजीमाथि आईकेओका अमित महर्जनले फाइनलमा एपीएफका पेम्बाछिरी तामाङलाई हराएर स्वर्ण जिते ।
सबै तौलका शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेतालाई आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कृत गरे ।
प्रकाशित : वैशाख २५, २०८१ २०:३७