२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

प्रकाश स्मृति भलिबल ललितपुरको महांकालमा हुने

काठमाडौँ — प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति वाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता गर्ने भएको छ । ललितपुरको महांकाल गाउँपालिकास्थित महांकाल माविमा हुने वैशाख २२ देखि २५ सम्म हुने प्रतियोगिताको तयारी भइरहेको आयोजकले जनाएको छ ।  

प्रकाश स्मृति भलिबल ललितपुरको महांकालमा हुने

प्रतियोगितामा प्रदेशका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने जनाइएको छ । कुल १२ लाख रुपैयाँ राशि रहेको प्रतियोगिता विजेताले ३ लाख, उपविजेताले २ लाख र सेमिफाइलिस्ट दुई टिमले १–१ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षक तथा विधागत उत्कृष्ट ५ खेलाडीले जनही ५० हजार पाउनेछन् ।

ललितपुरमा भएको यो सर्वाधिक राशिको भलिबल प्रतियोगिता हो । प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।

सहआयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिमा मंगलबार भएको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक डोल्मामाया गोलेले प्रतियोगिता सम्पन्न गर्न जिल्ला, पालिका र वडा तहमा विभिन्न समिति गठन गरिएको बताइन् ।

राष्ट्रिय खेलकुद परिषद् र वाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग हुने स्पर्धालाई नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ ।

प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य शान्तकुमार दराईले युवामा जनचेतना जगाउन प्रतिष्ठानले खेलकुदलगायतका कार्यक्रम गर्दै आएको जनाए । प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले स्थापनाकालदेखि नै खेलकुदलगायत कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित : वैशाख ११, २०८१ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?