१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गोलबजारलाई हराउँदै कोशी प्रदेश प्रहरी सेमिफाइनलमा

विनोद भण्डारी

विराटनगर — डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै कोशी प्रदेश प्रहरी रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

गोलबजारलाई हराउँदै कोशी प्रदेश प्रहरी सेमिफाइनलमा

विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको थियो । प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग प्रतिष्पर्धा गर्ने छ ।

टाईब्रेकरमा प्रहरीको तर्फबाट उज्जल राई, सन्देश विक, बिवेक राई र सुमित प्रधानको प्रहार गोलमा परिणत हुँदा गोलबजारको तर्फबाट बिनोद राई र निरजल मुक्तङको प्रहार मात्र गोलमा परिणत भयो । उसका गौरव श्रेष्ठ र मिन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले रोक्दै टिमलाई अन्तिम चारको यात्रा गराए । पुरन खेलको प्लेयरअफ म्याच घोषित भए ।

निर्धारित समयको खेलमा १२ औं मिनेटमा निशान्त लिम्बुको गोल मार्फत गोलबजारले अग्रता लिएको थियो । डिबक्स भित्र सन्दिप लिम्बुको क्रसमा निशान्तले आकर्षक गोल गरेका थिए । दोस्रो हाफदेखि प्रहरीले आक्रमक खेल खेल्दै ४४ औं मिनेटमा रमेश राजवंशीले गोल गरि खेल १–१ गोलको बराबरीमा ल्याए ।

अभिषेक आलेमगरले निकालेको पासलाई रमेशले गोल गरे । खेल सकिन दुई मिनेट बाँकी रहदा गोलबजारका सिनोद राईले गोल गरी टिमलाई पुन अग्रता दिलाए । खेल सकिन आधा मिनेट मात्र बाँकी रहदा प्रहरीका बिवेक राईले गोल गरी खेल २–२ गोलको बराबरीमा ल्याएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

बुधबार सशस्त्र प्रहरी बल (एपीएफ ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच पहिलो सेमिफाइनल खेल हुने छ ।

प्रकाशित : वैशाख १०, २०८१ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?