१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गण्डकीविरुद्ध कर्णाली प्रदेश विजयी

काठमाडौँ — कर्णाली र वाग्मती प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० पुरुष क्रिकेटमा लगातार तेस्रो जित पाएका छन् । चौथो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनले हरायो ।

गण्डकीविरुद्ध कर्णाली प्रदेश विजयी

माथिल्लो मूलपानी मैदानमा टस जितेको कर्णालीले २० ओभरमा ४ विकेट गुमाई १ सय ६८ रन बनाएको थियो । कर्णालीको इनिङमा खेलको प्लेयर अफ द म्याच ओपनर विपिन रावलले सर्वाधिक ६८ रन बनाए । रवीन्द्रजंग शाहीले ३३ र दिनेश अधिकारीले अविजित २९ रन जोडे । गण्डकीका चारै विकेट अमृत गुरुङले लिए ।

जवाफमा गण्डकीले २० ओभरमा ४ विकेट क्षतिमा १ सय ६३ रनमात्र बनायो । गण्डकीका ओपनर अर्जुन कुमालले ७० रन प्रहार गरे । सन्दीप खत्रीले इनिङ्सको अन्त्यतिर ११ बलमा अविजित १९ रन बनाए पनि जित पर्याप्त भएन । कर्णालीका दिवन पुन, प्रकाश जैसी र युनिस ठकुरीले १–१ विकेट हात पारे ।

वाग्मतीले लुम्बिनी प्रदेशलाई २५ रनले हराएर अंकतालिकाको शीर्षस्थान ओगटेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको वाग्मतीले २० ओभरमा ९ विकेट गुमाई १६२ रनको योगफल खडा गर्‍यो । वाग्मतीका कप्तान रित गौतमले ५६ रन बनाए । रामनरेश गिरिले अविजित २८ र शुभ कंसाकारले १९ रन बटुले । लुम्बिनीका नरबहादुर सार्कीले ४ र कप्तान देव खनालले २ विकेट लिए ।

लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाई १ सय ३७ रनमा अलआउट भयो । लुम्बिनीका कृष्ण कार्कीले अविजित ३८ र सुनिल भण्डारीले ३४ रन बनाए । रिजन ढकालले सर्वाधिक ३, रामनरेश गिरी र इशान पाण्डेको १–१ विकेट लिए । प्लेयर अफ द म्याच वाग्मतीका रित गौतम चुनिए पनि रितले सो अवार्ड रिजन ढकालसँग बाँडेका थिए ।

प्रकाशित : वैशाख १०, २०८१ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?