कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएलकी कान्छी मालिक

आईपीएल टिमकी सबैभन्दा कम उमेरकी मालिक हुन्, सनराइजर्स हैदराबादकी काव्या मारन । क्रिकेटप्रेमीहरूका लागि सामाजिक सञ्जालकी नयाँ ‘क्रस’ पनि । खेलाडीको अक्सनदेखि रणनीति बनाउन र ठीक समयमा उचित निर्णय लिन सक्षम काव्या प्रतियोगिताको ‘पोस्टर गर्ल’ का रूपमा देखिएकी छन् । 
हिमेश

काठमाडौँ — टी–ट्वान्टीको एउटै खेल । दुवै टिमको गरेर रन भने ५ सय २३ । यो त हदै होइन र ? इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा बुधबार राति त्यस्तै खेल भयो, जसको धेरै चर्चा पछिसम्म पनि हुनेछ । अझ भनौं, यस्तो खेल बारम्बार हेर्न पाइन्न । मैदानमा उत्रेका थिए, सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्स । पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटमा २ सय ७७ रन बनायो । यो रह्यो, आईपीएल इतिहासमै अहिलेसम्मको कीर्तिमान सबैभन्दा उच्च स्कोर ।

आईपीएलकी कान्छी मालिक

यससँगै हैदरावादले २०१३ मा रोयल च्यालेन्जर्स बेंग्लोरले पाँच विकेटको क्षतिमा बनाएको २ सय ६३ रनको स्कोरलाई उछिनेको थियो । यस्तो स्कोर सजिलै बन्थ्यो त यो कीर्तिमानलाई भंग गर्न १० वर्षभन्दा बढी समय लाग्ने थिएन । हैदरावादको इनिङ्समा १८ छक्का र १९ चौका लागेको थियो । अस्ट्रेलियाका ट्रेभिस हेडले ६२ रन बनाए । अभिषेक शर्माले ६३ रन जोडे । अनि दक्षिण अफ्रिकी जोडी हेनरिक क्लासनले ८० एडेन मारक्रमले ४२ रन थपे ।

उनीहरूले १ सय १६ रनको नटआउट साझेदारी गरे । मुम्बईले पनि बलियो जवाफ त दियो, तर पाँच विकेटमा २ सय ४६ रन मात्रै बनाउन सक्यो । पूरा खेलमा दुवै टिमको गरेर ३८ छक्का प्रहार भएका थिए । खेल वास्तवमै निकै रोमाञ्चक रह्यो । अत्यधिक सनसनीपूर्ण धन्दा पनि हुन्छ । पूरा खेलको ‘लाइभ’ मा ठ्याक्कै तीनखाले ‘सट’ बारम्बार दोहोरिरह्यो । एक त मैदानकै भयो । त्यो भनेको ब्याटर, बलर र फिल्डर भनौं, जुन एउटा खेलमा जे हुनुपर्थ्यो, त्यही थियो ।

त्यसपछि काव्या मारन । अनि तेस्रो भने नीता अम्बानी । यो शृंखला पूरा खेल अवधिमा चलिरह्यो । खेलले जसरी–जसरी नयाँ–नयाँ मोड लिइरह्यो, उनीहरूको हाउभाउ पनि परिवर्तन भइरहे । नीता अम्बानी त असाध्यै परिचित अनुहार भइहाल्यो । उनी परिन्, मुम्बई इन्डियन्सकी मालिक । अनि यी काव्या ? उनी को हुन्, के हुन्, अहिले त्यसकै चर्चा छ । एक त उनी असाध्यै हिस्सी परेकी छिन् । खेलको सनसनीबीच उनीबारे कौतुहलता हुनु पनि त स्वाभाविक छ ।

उनी हुन्, सनराइज हैदरावादकी मालिक । अझ आईपीएलकै सबैभन्दा कान्छी मालिक । अलिकति व्यापारिक भाषामा भन्दा सनराइज हैदरावादकी सीईओ हुन्, उनी । भर्खर ३२ वर्षकी भइन् । तय छ, आईपीएल २०२४ मा उनी प्रतियोगिताकै ‘पोस्टर गर्ल’ रहने छिन् । यसअघि पनि उनीबारे चर्चा नउठेको भने होइन । पोहोरको आईपीएलकै बेला उनलाई भनिएको थियो, ‘फेस एन्ड फोर्स बिहाइन्ड सनराइजर्स हैदरावाद’ ।

अनि यस्तो पनि भनिएको, क्रिकेट मन पराउनेहरूको सामाजिक सञ्जालकी नयाँ ‘क्रस’ हुन्, उनी । भारतीय मिडियालाई आधार मान्ने हो भने आफूलाई बारम्बार देखाउने काममा उनी असाध्यै खुसी छैनन् । उनलाई लाग्छ, देखाउनुपर्ने त खेलाडी मात्रै हो । तर त्यही भारतमै क्रिकेट खालि क्रिकेट मात्र कहाँ हो र ? यो त व्यवसाय हो । उद्योग हो । हल्ला हो । गफ गर्ने बहाना हो । भारतका असाध्यै हुने खानेले आफूलाई देखाउने माध्यम पनि हो ।

र, अरू धेरै पनि । फेरि, यी काव्यामा जादुयी छवि पनि देखिन्छ, त्यसैले सबै लोभिन्छन् पनि । यसै वर्ष भएको आईपीएल खेलाडीको अक्सनका क्रममा उनलाई पहिलो पटक देखिएको थियो । त्यही बेला उनी सबैलाई आफूतिर आकर्षित गर्न सफल रहिन् । त्यो लिलामी हेर्दा मात्रै खेलाडीको भाउ लगाउने प्रक्रिया देखिन्छ । तर होइन, यो त असाध्यै रणनीतिक हुन्छ । भाग्यको खेल त हुन्छ नै । मुख्य कुरा ठीक समयमा ठीक निर्णय गर्न सक्नुपर्छ, आम व्यवसायमा जस्तै ।

यही काममा निपुण देखापरिन्, यी काव्या । उनी हुन्, अर्बपति मिडियाका व्यापारी कलानिधि मारनकी छोरी । यी बुबा मारनले सन ग्रुप स्थापना मात्र गरेनन्, त्यसलाई सफलतापूर्वक अगाडि पनि बढाए । उनले नै सनराइज हैदरावाद टिम पनि बनाए । अनि आफ्नी छोरीलाई त्यसको सीईओ बनाए । यो मारन परिवार जति धेरै धनी छ, उत्तिकै प्रभावशाली पनि छ । उनकी आमा काभेरी मारन सोलार टीभीकी सीईओ हुन् ।

असाध्यै धेरै पारिश्रमिक बुझ्ने भारतीय महिलामा पर्छिन्, आमा मारन । यो परिवारको राजनीतिक प्रभाव पनि उत्तिकै छ । काव्याका काका दयानिधि मारन डीएमके पार्टीसँग आबद्ध छन् । तामिलनाडु पूर्वमुख्यमन्त्री मुत्तुवेल करुनानिधिसँग पनि उनीहरूको पारिवारिक सम्बन्ध छ । भनिरहनु पर्दैन, काव्यालाई क्रिकेट असाध्यै मन पर्छ । तर उनको शैक्षिक पृष्ठभूमि पनि उत्तिकै बलियो छ । न्युयोर्क युनिभर्सिटीसँग आबद्ध लियानार्ड स्कुल अफ बिजनेसमा उनले पढेकी हुन् ।

एमबीए सकाएपछि आफ्ना बुबाको व्यापारमा संलग्न हुन थालिन् । चेन्नईमा जन्मेकी काव्यालाई पाँच वर्ष अगाडि पहिलो पटक सन टीवी नेटवर्कको डाइरेक्टर प्यानलमा समावेश गरिएको थियो । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । अहिले त सनराइज हैदरावाद टिम भन्नु नै उनी हुन् भन्दा हुन्छ । भएभरका मुख्य–मुख्य निर्णय उनी आफैं गर्छिन् । अहिलेको टिम बनाउनु पछाडि पनि उनकै प्रमुख भूमिका रहेको मानिन्छ ।

ठीक यहींनिर मुम्बई इन्डियन्सको चर्चा छुटाउनु पनि ठीक हुन्न । पोहोरको सिजन पनि मुम्बईका लागि राम्रो चलेको थिएन । यसपल्ट पनि राम्रो हुने छाँट छैन । मुम्बई सुरुआती दुवै खेलमा पराजित रहेको छ । टिमको नयाँ कप्तानमा हार्दिक पान्ड्याको चयनलाई लिएर चर्को विवाद चलिरहेको छ । यसअघिसम्म टिमका कप्तान थिए, रोहित शर्मा । उनी त भारतीय टिमका पनि कप्तान भए । मुम्बईले पाँचपल्ट आईपीएलको उपाधि जितेको छ, ती पाँचै अवसरमा कप्तान रोहित नै थिए ।

तर किन हो मुम्बईले यसपल्टका लागि हार्दिकलाई कप्तानी दिनु ठीक मान्यो, त्यो पनि पोहोर गुजरात टाइटन्सबाट खेलेका खेलाडीलाई झिकाएर । भारतका पुराना–पुराना खेलाडीले हार्दिकको आलोचनामाथि आलोचना गरिरहेका छन् । मुम्बई समर्थकको पनि रोहितप्रति सहानुभूति छ । त्यसैले त अहिले मुम्बईकी मालिक नीता खुसी देखिएकी छैनन् । संयोग कस्तो भने भएभरको खुसी र हाँसो जति काव्यामा सरेको हो कि जस्तो लाग्छ ।

प्रकाशित : चैत्र १६, २०८० ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?