१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । 

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

निकुञ्ज कार्यालयले फागुन ५ देखि २२ गतेसम्म क्यामेरा ट्रयापिंङ बिधिबाट गरिएको गणना अनुसार २४ भाले र १७ पोथी तथा विश्लेषणका आधार थप ३ गरेर बाघको संख्या ४४ पुगेको जनाएको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ थियो ।

३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा रहेको निकुञ्जलाई २/२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको थियो । १५ दिनसम्म राखिएका क्यामेरामा संकलन भएको तस्विरहरु विश्लेषण गरेर बाघको गणना गरिएको हो ।

‘संख्या कम भएको र चोरी शिकार हुन सक्ने जोखिम भएको क्षेत्रमा नियमित रुपमा अनुगमन गर्नुपर्ने हुन्छ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, ‘राष्ट्रिय गणनासंगै हामीले नियमित रुपमा पनि गणना र अनुगमन गर्दै आएका छौं ।’ यस पटकको गणनामा निकुञ्जको सबै क्षेत्रमा बाघको विचरण देखिएको छ ।

दुई वर्षअघिको राष्ट्रिय गणनामा निकुञ्जको विस्तारित क्षेत्रमा बाघको विचरण देखिएको थिएन । तर यस पटक विस्तारित क्षेत्रमा पनि बाघको विचरण देखिएको छ । तत्कालिन वन्यजन्तु आरक्षको १ सय ५५ वर्गकिलोमितर क्षेत्र बिस्तार गरिएको हो । वन्यजन्तु आरक्षललाई २०७१ म निकुञ्जमा स्तरोन्नति गरिएको हो ।

‘यस पटकको गणनामा बाघको संख्या मात्रै होइन उसले गर्ने विचरण वा शरीरमा भएका चिन्हका आधारमा नामाकरण पनि गरिएको छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘कुन बाघ कता जान्छ, कति बिचरण गर्छ, शरीरमा कस्तो चिन्हृ छ, सबै पहिचान गरिएको छ ।’ उनले आगामी दिनमा पनि बाघको अनुगमन वा गणना गर्दा होस् वा कुनै घटना हुदा नामले सजिलो हुने बताए ।

बाघको संख्या बृद्धिसंगै वासस्थान र आहारा प्रजातीको व्यवस्थापनमा पनि त्यतिकै ध्यान दिनुपर्ने वरिष्ठ संरक्षण अधिकृत भट्टराई बताउँछन् । उनले आहारा प्रजाती र वासस्थान राम्रो भएकै कराण निरन्तर संख्या बृद्धि भइरहेको बताए । निकुञ्जभित्र रहेका बाघहरु अहिले चुरेदेखि नेपाल–सीमा सम्मै विचरण गरिरहेको बताए ।

गैंडा २३ पुगे

निकुञ्जमा गैंडाको संख्या पनि २३ पुगेको छ । गत वर्ष गरिएको गणनामा २० वटा गैंडा भेटिएका थिए । निकुञ्ज कार्यालयका अनुसार ६ भाले १० पोथी तथा ७ पहिचान नभएका गरि गैंडाको संख्या २३ पुगेको हो ।

शुक्लाफाँटामा १०९५ मा रानीताल क्षेत्रका एक रैथाने गैंडा देखिएपछि यहाँ सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसपछि २००० मा चितवनबा ४ गैंडा स्थानान्तरण गरियो । त्यसपछि फेरी २०१७ मा चितवनबाटै थप ५ गैंडा स्थानान्तरण गरिएको हो । हाल त्यहि संख्या बढेर २३ पुगेको हो ।

बाघको जस्तै गैंडाको पनि वासस्थान र शरीरमा भएको चिन्हृको आधारमा नामाकरण गरिएको छ । यसका आधारमा आगामी दिनमा गणनादेखि अन्य अनुसन्धानमा सहज हुने जोश बताउँछन् । नदी नाला र तालदेखि चरन क्षेत्र राम्रो भएका कारण गैंडाको बासस्थान उपयुक्त मानिएको छ । त्यही अनुसार निरन्तर रुपमा संख्या पनि बढिरेहको छ ।

प्रकाशित : वैशाख ७, २०८१ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?