२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रजबहादुर मल्ल हत्या प्रकरण : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय

सुर्खेत — कालीकोटका रजबहादुर मल्लको हत्या प्रकरणमा मुछिएकी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयले निर्णय गरेको छ । जिल्ला प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा उनलाई मुद्दा नचलाउने निर्णय भएको हो ।  

रजबहादुर मल्ल हत्या प्रकरण : अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय

२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरस्थित जननमुना माध्यमिक विद्यालयमा अध्ययनरत कालीकोटस्थित पाखाका १७ वर्षीय रजबहादुर मल्लको विवादका क्रममा मृत्यु भएको थियो ।

जसमा कालीकोटको महावै गाउँपालिकाकी सिंहसहित बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका वीरबहादुर मल्ल र अली कार्कीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको हत्या आरोपमा ६ जनाविरुद्ध किटानी जाहेरी परेको थियो ।

यो घटनामा संलग्न भएको आरोपमा कालीकोटको महावै गाउँपालिकाका पदमबहादुर रावत पक्राउ परेका थिए । उनीसँग अनुसन्धान गर्ने क्रममा सोही ठाउँका मेहरमान सिंह पनि घटनामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २ जनाविरुद्ध मात्र मुद्दा चलाउने निर्णय गरेको भण्डारीले जानकारी दिए ।

उनका अनुसार जिल्ला अदालतको आदेशअनुसार पदमबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने मेहरमानलाई १ लाख ७५ हजार रुपैयाँ धरौटीमा छाडिएको छ । उनी अपांगता भएका व्यक्ति भएकाले धरौटीमा छाडिएको उनले जानकारी दिए ।

उनीहरू २ जनालाई प्रतिवादी बनाएर दर्ता भएको मुद्दामा गत शुक्रबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले एकलाई कारागार चलान गर्ने र एकलाई धरौटीम छोड्ने निर्णय गरेको हो ।

उनका अनुसार घटनामा संलग्न नभएपछि सिंहसहित ५ जनाविरुद्ध भने मुद्दा नचलाइएको हो । २०६५ सालमा वीरेन्द्रनगरको जननमुना माविमा अध्ययनरत मल्लको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको क्रममा विवाद भएपछि हत्या भएको थियो ।

उनीलाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैठौं डिभिजनमा कार्यरत लडाकु र अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले हत्या गरेको भन्दै पीडित परिवारले जाहेरी दिएका थिए । त्यसबेला क्रान्तिकारीका सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरूले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा अध्ययनका लागि भर्ना भएको आरोप लागेको थियो । त्यो विषयमा मल्लले आवाज उठाएका थिए ।

विरोधपछि उनीहरूको भर्ना रद्द गरिएको थियो । घटनाको केही दिनपछि २०६५ फागुन २६ गते बेलुका झन्डै ८ बजे सुर्खेत बसपार्कमा खाना खाएर आफ्नो कोठातिर जाँदै गरेको बेला खुकुरी प्रहार भएर गम्भीर घाइते भएका रजबहादुरको उपचारका क्रममा वीरेन्द्रनगरस्थित देउती अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख २५, २०८१ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?