२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जीविकोपार्जनका लागि बालुवाको भर

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका-१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वसन्त पार गरिसकेका छन् । उनको शारीरिक अवस्था कमजोर छ । तर पनि उनी बिहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्छन् ।

जीविकोपार्जनका लागि बालुवाको भर

चिसोले हातखुट्टा कठयांग्रिने र गर्मीमा हात पोल्ने गरेपनि बालुवा तथा गिटी संकलन गर्नु उनको दिनचर्या नै बनेको छ । अशिक्षा र बेरोजगारको समस्याले विगतदेखि नै थलिँदै आएका उनी बालुवा संकलन गर्न बाध्य छन् । संकलन गरेको बालुवा बिक्री गरेर जेनतेन उनले परिवारको गर्जो टार्दै आएका छन् ।

घरको आर्थिक अवस्था कमजोर तथा अन्य कुनै व्यवसाय नभएपछि शारदा नगरपालिका-१ शान्तिनगरकै ३३ वर्षीया निर्मला नेपालीको दिनचर्या दिर्घको भन्दा फरक छैन । बिहानैदेखि बेलुकीसम्म शारदा नदीको किनारमा खोलाजन्य बस्तु बालुवा र गिटी संकलन गर्न उनी ब्यस्त हुन्छिन् । कठयांग्रिने चिसोमा नदीको बगरबाट बालुवा निकाल्दा उनका औलाका छाला मात्र उप्किएका छैनन्, औंला समेत नङविहीन भएका छन् । हातमा ठेला उठेका छन् । तर उनले काम छाड्न सकेकी छैनन् । बालुवा नचाले तथा गिटी संकलन नगरे दुई छाक जोहो गर्नै हम्मे पर्ने भएपनि उनलाई बालुवा चाल्नुपर्ने बाध्यता छ ।

यी दुई मात्र नभई अशिक्षा तथा बेरोजगारीको समस्याले पीडित हुँदै आएका शान्तिनगर र आसपासका वादी समुदाय जीविकोपार्जनका लागि शारदा नदी तथा आसपासका खहरेखोलाबाट बालुवा, गिटी संकलनको भर पर्दै आएका छन् । संकलन गरेको गिटी बालुवा बिक्री गरेर नै उनीहरुले जेनतेन गुजारा चलाउँदै आएका छन् ।

सरकारले आर्थिक अवस्था कमजोर भएकालाई प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गरी रोजगारको व्यवस्था गरेपनि टाठाबाठामा मात्र सीमित रहेकाले अहिलेसम्म रोजगारीको अवसर पाउन नसकेका वादी समुदाय गुजारा चलाउनका लागि सधैँ बालुवाको भर पर्न बाध्य भएका हुन् ।

बास बस्नेबाहेक खेतीपातीको लागि जग्गा नभएको, सरकारले कुनै रोजगारीको व्यवस्था नगरेकाले बस्ती नजिकै रहेको शारदा नदी र आसपासका खहरेको बालुवा चाल्नु परेको संगिता नेपालीले बताइन् । सम्बन्धित निकायले आयआर्जनको लागि केही व्यवस्था गरेको भए बालुवा चाल्न नपर्ने उनले जानकारी गराइन् ।

‘मादल बनाउने र माछा मार्ने पेसा पूर्ण रुपमा संकटमा परेको छ । दैनिक मजदुरी पनि सजिलै पाइदैन । परिवार पाल्नका लागि अन्य केही काम छैन । बालुवा नचाली अरु के गर्नु,' उनले भनिन्, ‘दैनिक नदीको किनारमा झन्डै आठ घन्टा समय खर्च गरेर संकलन गरेको बालुवा तथा गिटीबाट ५/६ सय कमाइ हुन्छ । त्यसबाटै जेनतेन गुजारा चलेको छ । नजिकै शारदा नदी नभएको भए भोकै मर्नु पर्ने अवस्था आउँथ्यो ।'

संकलन गरेको बालुवा गिटी समेत समयमा बिक्री नहुँदा समस्या हुने गरेको उनले बताइन् ।एक ट्र्याक्टर बालुवा संकलन गर्न तीन/चार जनालाई पाँच दिन भन्दा बढी लाग्ने गरेको र अहिले एक ट्र्याक्टर बालुवा ३ हजारमा मात्र बिक्री हुने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘वादी समुदायका पुरुष श्रीनगरबजार आसपासमा गएर मजदुरी गर्छन् । उनीहरुले कमाई गरेको रकम बेलुकी आफैँले मदिरा सेवनमा सक्छन् । आयआर्जनको केही माध्यम नभएपछि बच्चाबच्चीको लालनपालन , विहान बेलुकी दुई छाक खानाको लागि बिकल्पमा बालुवा तथा गिटी रोज्नु परेको हो । शारिरीक कष्टका साथ खोलाको बालुवा निकालेर बिक्री गर्नु हाम्रो रहर होइन ।’

शारदा नदी तथा आसपासका खोलाबाट शारिरीक कष्टको प्रवाह नगरी संकलन गरेको बालुवा तथा गिटी बिक्री गरेको सीमित रकमले परिवारको दुई छाक टार्न मुस्किल भएको स्थानीय भुवन वादीले बताए । दैनिक उपभोग्य बस्तुको मुल्य बढदै गएको तर एक ट्र्याक्टर बालुवा तथा गिटीको मुल्य जस्ताको तस्तै रहेको र त्यसमा पनि ठेकेदारलाई कर तिर्नु पर्दा सधैँ आँधा पेट खाएर बस्नुपर्ने अवस्था रहेको उनले जानकारी गराए ।

‘आर्थिक अवस्था कमजोर भएकाले कुनै आयमुलक पेसामा संलग्न हुन सकिएको छै । न त कतै रोजगारी पाइन्छ , न कसैले काममा लगाउँछन् । जहाँ पनि आफ्नै मान्छे मात्र भन्छन्,’ उनले भने । वादी समुदायको जीवनस्तर उकास्न सम्बन्धित निकायले सीपमुलक तथा आयमुलक कार्यक्रम अगाडि बढाएर पेसामा संलग्न गराउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १९, २०८१ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?